
साढे ११ वर्ष जेल बसेर छुटेका माइला ७ तोला सुन र पैसासहित यसरी परे पक्राउ
काठमाडौं – करिब साढे ११ वर्ष डाँकाचोरी तथा जबरजस्ती करणी मुद्दाअन्तर्गत नख्खु कारागारमा जेल जीवन बिताएका मकवानपुर गढि गाउँपालिका-१ फूलबारीका धन बहादुर स्याङ्ताङ् भनिने माईला फेरि पक्राउ परेका छन् ।
उनलाई गत १२ गते काठमाडौं स्युचटारबाट प्रहरीले ७ तोला ६४ लाल सुनका गरगहना, ४.७९ तोलाको चाँदीको ब्रासलेट र १३ हजार ४ सय रूपैयाँ नगदसहित पक्राउ गरेको हो ।
माईलासहित ३ जनाले २०६९ सालको जेठ ८ गते ललितपुर खोकनामा उत्तम टमाटाले संचालन गरेको बाल गृहमा खुकुरी, पेस्टोलसमेतको हतियार देखाएर २ लाख ७६ हजार नगद चोरी गरेर पीडितलाई जबरजस्ती करणी गरेको आरोपमा अदालतले ११ वर्ष ६ महिना २४ दिन कारागार सजाय सुनाएको थियो ।
सो सजाय भोगेर कारागारबाट छुटेको केही समयपछि माईला फेरि सो कसुरमा पक्राउ परेका छन् ।
माईलासहित ३ जनाको समूहले २०८० सालको चैत्र २९ गते काठमाडौंको चन्द्रागिरी नगरपालिका-८ चाखेल देउरालीमा टहरा होटल संचालन गरी बस्ने ईन्द्रकुमारी लामाको टहरामा आएर ईन्द्रा र उनको छोरा नववुद्धलाई आक्रमण गरी घाईते बनाएर नगद १ लाख ७ हजार र सुनका गरगहनासमेत चोरी गरेको भन्दै थानकोट प्रहरी वृतमा निवेदन परेको थियो ।
यस्तै, गत वर्ष असार १५ गते बिहान काठमाडौंकै दक्षिणकाली नगरपालिका-५ चम्पादेवि मन्दिर नजिक लाल बहादुर खड्कासमेत ७ जना व्यक्तिहरुलाई अपरिचित ५ जनाको समूहमा आएर ८ थान मोवाईल लुटेर फरार रहेको र अनुसन्धानको क्रममा माईलासँग लुटिएको मोवाईल १ थान १ भेटिएको प्रहरीले जनाएको छ ।
त्यस्तै, सोही महिनाको २८ गते बुढानिलकण्ठ नगरपालिका-३ बाट तारेभिरतर्फ जाने क्रममा ४ जना व्यक्तिहरुले गिरिजा शान्ति पार्कमा गुरास पाख्रिन र रुविन सुनवारलाई राति ९ बजे देखि अर्को दिन बिहान ४ बजेसम्म बन्धक बनाएर यातना दिँदै गुरास पाख्रिनलाई जबरजस्ति करणी गरेर उनीहरूको साथबाट लुटपाट गरिएको निवेदन प्रहरी कार्यालयमा परेको थियो ।
यस्तै, सोही महिनाको २९ गते बुढानिलकण्ठ-३ बाट बागद्वारतर्फ जाने क्रममा अपरिचित ४ जना व्यक्तिहरुले शिवपुरी राष्ट्रिय निकुन्जभित्र दिपक शर्मा पोख्रेलसमेत ६ जना व्यक्तिहरुबाट ६ थान मोबाईल र २ थान घडी लटुपाट गरेको निवेदन प्रहरी कार्यालयमा परेको थियो ।
सोही दिन नै बुढानिलकण्ठ-३ बाट गिरिजा शान्तिपार्कतर्फ जाने क्रममा दिनेश पोख्रेलसमेतको २ मोबाइल लुटेर माईला समूह फरार रहेको थियो ।
सोही दिन नै उनीहरूले बुढानिलकण्ठ-३ बाटै प्रविण लिम्बूको २ थान मोवाईल, सुन जस्तै देखिने औँठी र सिक्री लुटेका थिए ।
यस्तै, यहीँ १२ गते नागार्जुन नगरपालिका-७ कलङ्कीबाट कालुपाण्डे जाने बाटोको दाहिने पट्टी रहेको बिन्दबासेनी जङ्गलमा तीन जनाको समूहमा आएका ब्याक्तिले खुकुरी देखाइ होण्डाईको आईटेन कारमा घुम्न आएका ६ जना ब्यक्तिबाट सुन चाँदी, मोवाईल तथा नगद लुटपाट गरि फरार रहेको भन्ने सूचनाको आधारमा प्रहरी परिसर काठमाण्डौको विशेष टोलीले नागार्जुन नगरपालिकाको स्युचटारस्थित् चेकपोन्ट राखेर खोजतलास गर्ने क्रममा उक्त घटनाको मुख्य अभियुक्त माईलालाई धारिलो हतियारसहित नियन्त्रणमा लिएको हो ।
उनको साथबाट प्रहरीले १.५८ तोलाको बेरुवा औँठी, ६४ लालको बेरुवा औँठी, ४२ लालको सिक्री थान, ३४ लालको मुगा औँठी, ५५ लालको औँठी, ५६ लालको लकेट, ९९ लालको ब्रासलेट, १.८९ तोलाको व्रासलेट, ३९ लालको कानमा लगाउने रिङ, २३ लालको सिक्रिको टुक्रा, ४.७९ तोलाको चाँदीको ब्रासलेट र खुकुरी बरामद गरेको बताएको छ ।



कागजपत्र |
