


डिभोर्सपछि पनि भइरहन्थ्यो भेट, अन्ततः पूर्वपतिको हातबाट भयाे आमा र दुई छोरीको हत्या

काठमाडाैं- संविधान दिवसमा राष्ट्रपतिबाट माफी पाएर जेलमुक्त भएका एक व्यक्तिले आफ्नै पूर्वपत्नी र दुई सन्तानको सामूहिक हत्या गरेपछि, “माफीको नीति” फेरि एकपटक प्रश्नवाचक बनेको छ।
बुटवल उपमहानगरपालिका–११, मिलीजुली पथस्थित कोइरालाको घरमा बुधबार बिहान ४ बजे घटेको घटनामा ३४ वर्षीया दीपा बस्याल र उनका दुई छोरीहरू ७ वर्षीया स्नेहा र ४ वर्षीया हिमानीको हत्या भएको हो। हत्या गर्ने व्यक्ति उनका पूर्वपति, ३५ वर्षीय सुजन कोइराला हुन्।
प्रहरीका अनुसार, दीपा र सुजनबीच २०६९ मा विवाह भएको थियो। सोही वर्ष सुजन आफ्नै माइला दाजु सुदीप कोइरालाको हत्या अभियोगमा जेल परे। ८/९ वर्ष जेल जीवन बिताएपछि उनी संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट क्षमादान पाई बाहिरिए।
सुजन पछिल्लो समय कारागारमा बनेका सामग्रीहरूको व्यवसाय गर्दै आएका थिए। तर बुधवार बिहान उनले चक्कु र हथौडाले पूर्वपत्नी र उनका दुई सन्तानमाथि जघन्य हमला गरे। हत्या लगत्तै उनले बिहान ६ बजेतिर आफ्नो घर मर्मतका लागि एक कामदारलाई बोलाए। त्यसपछि मात्र हत्या सार्वजनिक भयो।
सम्बन्धविच्छेदपछि पनि भेटघाट ?
दीपाले सुजनसँग २०७२ मा सम्बन्धविच्छेद गरेकी थिइन् र त्यसपछि कावासोती निवासी शंकर ढकालसँग पुनःविवाह गरेकी थिइन्। ढकाल अहिले दुबईमा वैदेशिक रोजगारीमा छन्। हत्या भएका दुबै छोरीहरू शंकर ढकालका सन्तान हुन्।
दीपा हाल तानसेनस्थित एक आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत थिइन् र बुटवलमा आफन्तको विवाहका लागि आएकी थिइन्। त्यही बेला सुजनले उनलाई घरमा बोलाएका थिए।
पछिल्लो एक वर्षदेखि दीपा र सुजनबीच भेटघाट भइरहने गरेको खुलिसकेको छ। प्रहरीका अनुसार, सुजन मानसिक रूपमा सामान्य देखिन्थे।
छिमेकी र आफन्तहरू अहिले पनि विश्वास गर्न सकेका छैनन्। “दीपा बुटवल आएकी थिइन् भन्ने पनि थाहा थिएन, बिहानै यस्तो खबर आयो,” एक आफन्तको भनाइ थियो।
प्रहरीले तीन वटै शव लुम्बिनी प्रादेशिक अस्पतालमा पोस्टमार्टम गरिरहेको छ भने हत्या सम्बन्धी अनुसन्धानलाई थप विस्तृत रूपमा अघि बढाइएको जनाएको छ।

