जन्मकैद सजाय पाएका अफताब आलमलाई उच्च अदालतबाट सफाइ


काठमाडौं-  बम विस्फोटपछि घाइते भएका व्यक्तिहरूलाई इँटाभट्टामा हालेर हत्या गरेको आरोपमा जन्मकैदको सजाय पाएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलम उच्च अदालतबाट सफाइ पाएका छन्।

उच्च अदालत वीरगञ्जका न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनको इजलासले रौतहट जिल्ला अदालतको २०८१ वैशाख १३ गतेको फैसला उल्टाउँदै आलमलाई सफाइ दिएको हो। अदालतले घटनामा आलमको संलग्नताको वस्तुनिष्ठ प्रमाण नभेटिएको निष्कर्ष निकाल्दै उनीसहित अन्य अभियुक्तहरूलाई सफाइ दिएको हो।

अफताब आलममाथि संविधानसभा निर्वाचनको अघिल्लो रात, २०६४ साल चैत २७ गते, रौतहटको राजपुरस्थित इँटाभट्टामा बम विस्फोटपछि घाइते भएका पाँच जनालाई जिउँदै इँटाभट्टामा जलाएर हत्या गरेको आरोप थियो। घटनामा त्रिलोक प्रताप सिंह, ओशी अख्तरलगायतको मृत्यु भएको बताइएको थियो।

१२ वर्षपछि, २०७६ असोज १९ गते, आलमलाई प्रहरीले पक्राउ गरेको थियो। अनुसन्धानपछि उनीसहित उनका भाइ मोहताब आलम, सेख सेराज र बद्री सहनीमाथि जिल्ला अदालत रौतहटले दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो। बद्री सहनी सो इँटाभट्टाका मुनसी थिए।

घटनाका पीडित पक्षले २०७६ कात्तिक १८ गते आलमविरुद्ध किटानी जाहेरी दर्ता गराएका थिए। सो मुद्दामा सरकारी वकिल र अधिवक्ता पुष्पराज पौडेलले बहस गरेका थिए भने आलमको पक्षबाट सरोजकृष्ण घिमिरे, सुधीर कर्ण, सञ्जीव मल्लिक, रामेश्वर न्यौपाने र साविर हुसेनले बचाउ गरेका थिए।

अधिवक्ता घिमिरेका अनुसार, अदालतले घटनामा आलमको संलग्नता पुष्टि गर्ने ठोस प्रमाण नभएको ठहर गर्दै सफाइ दिएको हो। अदालतको औपचारिक आदेशपछि आलम आजै जेलमुक्त हुने सम्भावना रहेको पनि उनले जनाएका छन्।

प्रतिक्रिया