कति खतरनाक छ टी–२० विश्वकपमा प्रयोग भएको ‘ड्रप इन पिच’ ? कसरी बनाइन्छ ?[भिडियो]


काठमाडाैं- जारी आइसीसी टी–२० विश्वकपमा हिजो भारतले विजयी शुरुवात गरेको छ । बुधबार राति न्यूयोर्कको नासाउ काउन्ट्री इन्टरनेशनल स्टेडियममा सम्पन्न खेलमा भारतले आयरल्याण्डलाई २ विकेटले पराजित गरेको हो ।

समुह ‘ए’ अन्तर्गतको यस खेलमा आयरल्याण्डले दिएको ९७ रनको लक्ष्य पछाएको भारतले १२.२ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो ।

भारतका लागि कप्तान रोहित शर्माले ५२ रन बनाएका थिए भने ऋषभ पन्तले ३६ रन बनाए भने सूर्यकुमार यादवले २ रन बनाएका थिए । रोहित शर्मा ५२ रन बनाएर रिटायर हर्ट भएका थिए । उनको काँधमा बलले लागेको थियो । त्यस्तै बल ‘जज’ गर्न नसक्दा ऋषभ पन्तको पनि कुम बलले सामान्य चोट लागेको थियो । चोट सामान्य लागेको भएपनि उनी बेलाबेला कुम चलाउँदै बल सम्झदै आश्चर्यचकित परिरहेका थिए ।

आयरल्याण्ड विरुद्धको एकतर्फी जितपछि कप्तान रोहित शर्माले पिचको बारेमा बोलेका थिए । उनले न्यूयोर्कको नासाउ काउन्ट्री इन्टरनेशनल स्टेडियममा रहेको पिचलाई खतरनाक सावित हुनसक्ने बताएका थिए । ‘यो सानो चोट हो । तर, मैले टसको समयमा पनि भनेको थिएँ कि यो पिच कस्तो हुन्छ होला । मलाई लाग्छ पिच अझै स्थिर भएको छैन, जसले बलरहरूलाई धेरै मद्दत गरिरहेको छ’ उनले भनेका थिए, ‘यस्तो मैदानमा धेरै स्पिनरलाई फिल्डमा उतार्न सकिन्न । यहाँ फास्ट बलरको अनुकूल पिच रहेको छ ।’

अष्ट्रेलियाको माटोले बनाएर १० स्थानमा राखिएको पिच
न्यूयोर्कको नासाउ काउन्ट्री अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा ‘ड्रप इन पिच’ प्रयोग गरिएको छ । यो यस्तो पिच हो जुन अर्कै स्थानमा बनाइएको थियो । बनेपछि त्यसलाई ट्रकमा ल्याएर स्टेडियममा जडान गरिको थियो ।

नासाउ काउन्ट्रीमा रहेको पिचका लागि अष्ट्रेलियाको एडिलेडको माटो प्रयोग गरिएको छ । अस्ट्रेलियाको एडिलेटको पिचमा बलरहरुले राम्रो बाउन्स गर्नसक्छन् । त्यसै अनुसार त्यहाँको माटोले बनेको नासाउ काउन्ट्री इन्टरनेशनल क्रिकेट स्टेडियमको पिचमा पनि बाउन्स देखिएको छ । तर, यो उछाल भने असमान थियो, जसले ब्याट्सम्यानलाई निकै समस्यामा पारेको थियो ।

यो पिच अमेरिकाकै फ्लोरिडामा डिसेम्बरमा बनाइएको थियो । त्यसपछि यसलाई मौसम अनुकुल पर्नेगरि १० पटकसम्म विभिन्न स्थानमा राखिसकिएको छ । यो पिचलाई प्रख्यात एडिलेड ओभल हेड क्युरेटर डेमियन हगको नेतृत्वमा एडिलेड ओभल टर्फ सोलुसनले तयार पारेको थियो ।

नासाउमा यसअघि एउटा मात्र आधिकारिक खेल खेलिएको थियो । श्रीलंका र दक्षिण अफ्रिकाबीचको खेलमा श्रीलंकाको टोली ७७ रनमा मात्रै अलआउट भएको थियो । त्यसपछि हिजो भारत र आयरल्याण्डबीच दोस्रो खेल भयो । यसै पिचमा आइतबार भारत र पाकिस्तानबीचको खेल पनि हुनेछ । यही क्रिकेट स्टेडियममा टी–२० विश्वकपका ८ खेल आयोजना हुने तय भइसकेको छ ।

अष्ट्रेलियाबाट ‘ड्रप इन पिच’को सुरुवात
हाल विश्वकपमा प्रयोग भएको ‘ड्रप इन पिच’ पहिले अष्ट्रेलियामा प्रयोगमा आएको पाइन्छ । उदाहरणका लागि अष्ट्रेलियाको मेलबर्न क्रिकेट मैदानको पिच । त्यसको लम्बाइ २४ मिटर, चौडाइ तीन मिटर र गहिराई २० सेन्टिमिटर रहेको छ ।

अष्ट्रेलियामा क्रिकेटको सिजन समाप्त भएपछि ती ‘ड्रप इन पिच’हरू निकालिन्छ । त्यसपछि बालुवा र कृत्रिम घाँसले भरेर उक्त खेलमैदान रग्बी, फुटबल र बेसबलजस्ता अन्य खेलका लागि प्रयोग हुन्छन् ।

‘ड्रप इन पिच’ निर्माण गर्न एउटा स्टीलको फ्रेममा कालो माटोको तहमाथि घाँस उम्राइन्छ । त्यसलाई लामो समयसम्म राखिन्छ । जब क्रिकेट खेल हुन्छ, त्योबेला ३० टन तौल भएका यी पिचहरूलाई ट्रेलरबाट उठाएर २. ७ मिटर गहिरो सिमेन्टको स्ल्याबमा राखिन्छ । स्टिल फ्रेमभित्र बनाइएको हुँदा यो पिच कडा हुने भएकाले फुट्दैन ।

 

प्रतिक्रिया