शिक्षामन्त्री रघुजी पन्तको आग्रह : शिक्षक आन्दोलन वार्ताबाट समाधान गरौं


काठमाडाैं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा सहभागी हुन आग्रह गरेका छन्। शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै उनले संवाद र छलफलमार्फत समस्याको समाधान खोज्न शिक्षक महासंघलाई यथाशीघ्र वार्तामा आउन आह्वान गरेका हुन्।

मन्त्री पन्तले विद्यालय शिक्षा विधेयकको मस्यौदा शिक्षक प्रतिनिधिहरूसँग परामर्श र छलफलकै आधारमा तयार गरिएको बताउँदै त्यसप्रति शिक्षक तथा कर्मचारीको चासो स्वभाविक रहेको उल्लेख गरेका छन्।

उनले आन्दोलनको समाधान संवादबाटै खोज्नुपर्नेमा जोड दिंदै सामूहिक पहल आवश्यक भएको बताए। आन्दोलनरत शिक्षकहरू चैत्र २० गतेदेखि निरन्तर सडक आन्दोलनमा छन्, जुन आजसम्म २४ दिन पुगेको छ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकअघि बोल्दै मन्त्री पन्तले देशको बजेटीय क्षमताभित्र, संविधान र कानुनी सीमाभित्र रहेर समस्या समाधान गर्न आफू तयार रहेको स्पष्ट पारे।

“शिक्षकहरुलाई लचिलो भएर वार्तामा आउन आग्रह गर्छु। संविधान, ऐन, कानुन र बजेटको सीमाभित्र समाधान खोज्न हामी तयार छौं,” उनले भने।

यस्तै, सर्वोच्च अदालतले बिहीबार तीन दिनभित्र शिक्षकलाई विद्यालय फर्किने वातावरण बनाउने आदेश दिएको स्मरण गर्दै मन्त्री पन्तले सो आदेश अध्ययन गरेपछि थप निर्णय लिने बताएका छन्।

प्रतिक्रिया