

१४ महिनापछि राजीनामा दिन्छु, शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छ : ओली

काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले १४ महिनापछि आफूले प्रधानमन्त्री पदबाट राजीनामा दिने र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नयाँ प्रधानमन्त्री बन्ने बताएका छन् ।
शुक्रबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिँदै उनले यस्तो प्रतिक्रिया दिएका हुन् । यसअघि सरकार परिवर्तनको विषयमा चलिरहेको हल्लाको बीचमा ओलीले अब १४ महिनापछि राजीनामा दिने र देउवा प्रधानमन्त्री बन्ने बताएका हुन् । उनले भने, “अब १४ महिनापछि मैले राजीनामा गर्छु, शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छ। ”
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति देउवा थाइल्यान्ड भ्रमणबाट फर्किएपछि गठबन्धन सरकारको भविष्यमा छलफल गर्नुपर्ने बताएका थिए । तर, देउवा थाइल्यान्डबाट फर्केपछि भने सञ्चारकर्मीहरूसँग बोल्दै वर्तमान गठबन्धन सरकारले आफ्नो कार्यकाल पूरा गर्ने विश्वास व्यक्त गरे ।

