

घाइते क्रिकेटर सिद्धान्त लोहनीलाई क्यानद्वारा ५ लाख उपचार सहायता

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका खेलाडी सिद्धान्त लोहनीको उपचारका लागि ५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
क्यानले बिहीबार जारी गरेको विज्ञप्तिमा जनकपुरमा सन् २०२३ मा सम्पन्न महेन्द्र नारायण निधि राष्ट्रिय क्रिकेट प्रतियोगिताका दौरान घाइते भएका लोहनीको उपचारमा सहयोग पुर्याउने उद्देश्यले सो सहायता प्रदान गर्न लागिएको उल्लेख छ।
प्रतियोगिता खेल्ने क्रममा कोसी प्रदेशबाट प्रतिनिधित्व गरिरहेका लोहनीको खुट्टाको लिगामेन्टमा चोट लागेको थियो। त्यसयता उनी भारतमा उपचाररत छन्।
क्यानले लोहनीले नेपाली क्रिकेटमा पुर्याएको योगदानको कदर गर्दै भविष्यमा पनि घाइते खेलाडीको उपचार र पुनर्स्थापनाका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

