

ताप्लेजुङमा जिपमा करेन्ट लागेर ४ जनाको मृत्यु भएको घटनाको छानबिन गर्न समिति गठन

काठमाडौं — ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० सेवारो चोकमा सोमबार पाथिभरा मन्दिर जाँदै गरेको जिपमा विद्युतीय तारमा अल्झिएर आगलागी हुँदा चार जनाको ज्यान गएको घटनाको छानबिन गर्न चार सदस्यीय समिति गठन गरिएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गठन गरेको समितिको संयोजकमा नेपाल विद्युत् विकास विभागका सुपरिटेन्डेन्ट इन्जिनियर नुतन प्रकाश शर्मालाई तोकिएको छ। समितिमा मन्त्रालयका दुईजना प्रतिनिधि र पुल्चोक इन्जिनियरिङ क्याम्पसका एकजना प्रतिनिधि सदस्यका रूपमा रहनेछन्।
समितिले घटनासम्बन्धी विस्तृत विवरण संकलन गरी प्रतिवेदन तयार पार्नेछ। साथै, यस्ता दुर्घटनाहरू दोहोरिन नदिन आवश्यक सावधानी र सुधारका उपायहरू पनि सुझावका रूपमा पेश गर्नेछ।
ऊर्जा मन्त्रालयका अनुसार समिति हालसम्म घटनास्थलको निरीक्षण, अध्ययन तथा सम्बन्धित पक्षहरूसँग समन्वय गरी छानबिन कार्य अघि बढाइरहेको छ ।
फुङ्लिङ बजारबाट तीर्थयात्री बोकेर पाथीभरा जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जिपमा बिहान ४ः५० बजेतिर आगलागी भएको थियो । बिजुलीको पोलबाट लत्रिएको तारले जिपमा छोएर आगलागी भएको प्रारम्भिक अनुमानबाट खुलेको छ ।

