ओहो ! फलानोले के भन्ला ?


तपाईँले काँहिकतै कसैको मजाक उडाउनु भएको छ ? ल छैन होला तर कसैको केही नौलो बिशेषता वा कर्मलाई नियाल्दै मनमा केही मनोवृत्ति त पक्कै बनाउनु भएको होला । संसार देख्ने आँखा छ त कसैलाई हेरेर केही न केही अन्दाज त लगाउनै पर्यो, हैन त ? नत्र जिवनमा एकपटक मात्र पाएको यो नेत्र ज्योति र अनेकन सोच्न सक्ने दिमागको के अर्थ हैन र ? ल त्यो पनि नभए कसैको दिमागमा फलानो भएर राज त पक्कै गर्नुभएको होला नि । कि छैन ?

अब चैँ छैन भन्न पाउनुहुन्न है । अनि आफु चैँ अरुलाई फलानोको रुपमा लिने अनि तपाईँलाई चैँ फलाने भन्न नपाउने ? कि तपाईँ ‘बाल मतलब’ वालामा पो पर्नु भयो ? ल जे भएपनि थोरै कुरा गरौँ न ल ?

हामी अनेक गरेर आफूलाई खुशी राख्न चाहन्छौँ नि है ? कि तपाईँ पिडै पिडामा पिल्सिएर धुरुधुरु रुँदै बस्न रुचाउनुहुन्छ ? त्यस्तो त पक्कै हैन होला । यदि त्यहि नै हो भन्नुहुन्छ भने त्यो तपाईँ नभएर तपाईँ भित्रको अरुकोही बोलिरहेको छ भन्ने प्रष्ट आंकलन गर्न सकिन्छ ।

सधैँ खुशी रहन खोज्ने तपाईँ भित्रको ‘म’ किन अरुदेखि डराउँछ होला ? कहिल्यै सोध्नुभएको छ त्यो म भित्रको ‘म’ लाई ? जीवन तपाईँको, जोवन तपाईँको, तन तपाईँको, मन तपाईँको अनि विचार र धारणा चाहिँ किन अरुको ? अनि सबै चिज आफ्नो हुँदा हुँदै पनि तपाईँलाई शंका छ ? कि ‘म के चिज हुँ ?’ जसको पहिचान अरु कुनै ‘म’ ले गरिदियोस् ।

तपाईँलाई म एउटा घटना सुनाउँछु ल ? सुन्नुहुन्छ नि है ?

आजभन्दा केही समय अघि म लैनचौर चोकमा केही कामबश बसिरहेको थिएँ । पानी बेस्सरी परिरहेको थियो । चोकका पसलहरुमा ओत लाग्नको लागि मान्छेहरुको भिड ठूलै थियो । यत्तिकैमा चोकको मोडमा एउटा बाईक लड्यो । सायद उनी झण्डै मेरै उमेरका युवा थिए । दुईतीन जना दाईहरु र एकजना ट्राफिक सर त्यो साथिलाई उठाउन भनेर हतारमा त्यता लाग्दै गर्दा उनी सकि नसकि उठे । उनको देब्रेपट्टीको तिघ्रा भुइँमा घसारिएर पाइन्ट फाटेछ जहाँबाट थोरै रगत बगेको जस्तो देखिन्थ्यो तर उठेपछि उनले यस्सो वरपर हेरेर फेरी बाईकलाई जोडले हुइँक्याए ।

उनलाई दुखेन, पिडा भएन भन्न उनी रोबर्ट पक्कै हैनन् तर किन त्यसो गरे होलान् है ? कि उनी निकै हत्तारमा पो हुँदा हुन् कि ? ल खयर हाम्रो विषय वा चासो यताको हैन ।

हामी आफू कस्तो स्थितिमा छौँ भन्दा पनि अरु हाम्रो लागि कस्तो स्थितिमा छन् भन्ने कुरालाई बढी जोड दिन्छौँ । हामी आफ्नो खुशी के भन्दा पनि त्यसमा अरुको मत के भन्ने कुरामा बढी जोड दिन्छौँ । कहिल्यै आफ्ना खुशीका लागि म भित्रको ‘म’ लाई मात्र सुनेर निर्णय लिनुभएको छ ? छ भने एकदमै राम्रो हैन भने कोसिस गरिहाल्नुस् है नत्र पछुताउने बाहेक पछि अरु बिकल्प रहने छैन नि ।

मैले बुझेको म भित्रको ‘म‘

एकदिन बेलुकी एउटा साथी र म भेट्ने कुरा भयो । उ चोकसम्म आउँदा म पनि पुगिसकेको थिएँ । जब मैले उसलाई देखेँ मलाई त्यसै हाँसो लागेर आयो । कारण उसको नौलो लवाई थियो । उसले सुरुवाल र चप्पलमा धर्केवाला कलेजको कोट टिमिक्क पारेर भिरेको थियो । म हाँसेको देखेर उ पनि मुसुक्क हाँस्यो । हामी गफिँदै हिँडिरहँदा हामीलाई देख्नेहरु हाँसिरहेका थिए । साथीको कारणले मलाई निकै लाज लाग्यो र अलिक पर एकान्तमा पुगेपछि मैले उसलाई भनेँ ‘मैले सोचेकै थिइँन यर कि तँ यतिसम्म मजाक गर्छस् भनेर, के हो यस्तो ?’ उसले मेरै जोशमा हाँस्दै प्रतिप्रश्न गर्यो ‘के भयो र ?’ म अवाक भएँ । भनौँ उसको बुझ पचाईले म पुरै खस्किएँ । ङिच्च पर्दै उसको कोटको कठालोतिर हातले यस्सो उचाल्दै मैले आफ्नो हाँसोको कारण दर्साउने दुस्प्रयास गरेँ । उसले त उल्टै हाँस्दै दुवै हात फिँजारेर बोल्यो ‘सो ह्वाट ब्रो ?’ ह्या कोट चाँहि खोल् न बरु म बोक्छु, सबै हाँसेका देखेनस् अघि ? उ फेरी हाँस्दै बोल्यो ‘मैले आफ्नो खुशी खोज्दा अरु हाँस्छन् त यसमा मेरो के दोष साथी ?’ कौवा र कानको उखान त सुनेकै होलास् । हाँस्नेको पछि लागेर सकिन्छ ? म अरुलाई देखेर हाँस्छु तर त्यो हाँसोले मैले कस्को समय बर्वाद गरिरेको हुन्छु त्यो कहिल्यै याद गर्दिन । मैले कसैप्रति हाँस्ने त्यो हाँसोले आँखिर गिज्याउने त मलाई नै हो ।

साँच्चै मैले मलाई मसँग नै दाँजेर हेर्ने हो नि है ?, न कि अरुको नजरबाट । मैले पहिले म भित्रको ‘म’लाई जगाउन सिक्नुपर्छ त्यसपछि बुझ्न सिक्नुपर्छ । फलानोले के सोच्ला भन्दापनि मैले आफूलाई के सोच्छु महत्वपूर्ण हुन्छ नि हैन ? आज फलानो हाँस्दा मैले मै माथि शंका गरेँ भने मेरो आफ्नो अस्तित्व के त ? मैले मलाई नै बुझ्न सकिन त दुनियाँले मलाई कसरी बुझ्ला ? मैले मेरो बारेमा अरुको अनुसार परिवर्तन गर्दाको ‘म’ले मलाई साँच्चै खुशीले स्विकार्ला त ? त्यो तबेलामा बसेको घोडा जस्तो अरुको नजरमा मैले आफूलाई नियन्त्रित हुन दिएँ भने मलाई नचाउनेहरु त खुशी होलान् तर मेरो खुशी के त ? भित्र–भित्र अरुको इशारामा नाच्दै बाहिर स्वतन्त्रताको खोक्रो खोलले ढाकिएको ‘के छ भन्दा ठिकै छ’ भने जस्तै हो त मेरो व्यक्तिगत जीवनको सामाजिक यथार्थ ?

म भित्रको ‘म’लाई बुझ्नुपर्छ साथी । समाजले बुझेको मेरो पछि समाज लाग्छ र लाग्न दिनु पनि पर्छ तर मैले आफूले बुझेको म भित्रको ‘म’ को पछि लाग्नुपर्छ । ‘म’लाई बुझ्नुपर्छ । ‘म’ लाई बिश्वास गर्नुपर्छ । अनिमात्र म मेरो लागि खुशी रहन सक्छु । यो दुनियाँको त रित नै यस्तै छ साथी ।

फलानोको लागि भनेर आजसम्म कतै आफ्ना इच्छा गुमाउनुभएको त छैन ? कतै गाँसीन लागेको सम्बन्धको माला चुढाउनु भएको त छैन ? कतै जित्नै लाग्दा हार्नुभएको त छैन ? कतै आफ्नै अस्तित्व आफैँ गुमाउनु भएको त छैन ?

फलानो सम्झेर कतिले उठाउनै लागेका गासहरु छाडे होलान् । कतिले चाल्नै लागेका पाईलाहरु रोके होलान् । कतिले पहिरिइसकेका कपडाहरु फेरे होलान् । कतिले बोल्नै लागेका बोलीहरु फेरे होलान् । कतिले मनका कुराहरु मनमै दबाए होलान् । कतिले बन्दै गएका सम्बन्धहरु भत्काए होलान् । साँच्चै ! साँच्चै कतिले आफ्ना इच्छाहरु आफैँभित्र मारेर आफ्नै अस्तित्व गुमाएहोला नि है ?

मैले मलाई मेरो दृष्टिकोणबाट नजरअन्दाज गर्ने हो साथी, यो समाजको बुझाइबाट हैन । मेरो लागि अरुको दृष्टिकोण भन्दा पहिला मेरो खुशी ठूलो हो । यसो भन्दैमा मनमा जे लाग्छ गर भन्न खोजेको हैन तर आफ्ना हरेक कदमलाई आफ्नै नजरबाट नियाल्दा आफूलाई एक सामाजिक प्राणीको हैसियतबाट खुशी पाउँछौ भने त्यसलाई कदाचित्त गर पक्कै भन्न खोजेको हुँ ।

मैले म भित्रको म माथि गर्ने त्यो शंका समाधानको एउटै बिकल्प “फलानो कुरीकुरी”

न त सारेर न त मारेर अब जिउँनु छ यहाँ हर इच्छा सफल पारेर । हैन त साथी ?

तर, ओहो ! फलानोले के भन्ला ?

प्रतिक्रिया