ईश्वरी भुजेल हत्या प्रकरण : ‘नेपाली ब्रो’सहित चार जनामाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान जारी


काठमाडौं- ‘नेपाली ब्रो’ उपनामले परिचित कुमार थापा मगरद्वारा आफ्नी श्रीमतीको हत्या गरिएको आरोपमा भइरहेको अनुसन्धानका क्रममा प्रहरीले एक युवतीसहित थप तीन जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार जेठ २२ गते राति तारकेश्वर नगरपालिका–६ पैंयुटारमा ३८ वर्षीय कुमार थापा मगरले आफ्नी श्रीमती ईश्वरी भुजेलमाथि चक्कु प्रहार गरेका थिए। गम्भीर घाइते भएकी भुजेललाई उपचारका लागि अस्पताल पुर्‍याइए पनि उपचारकै क्रममा उनको मृत्यु भएको थियो।

घटनापछि प्रहरीले कुमार थापा मगरलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो। सोही घटनामा संलग्न रहेको भन्दै परेको किटानी जाहेरीका आधारमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा ३६ वर्षीय विक्रम थापा मगर, ४० वर्षीय पुजन थापा क्षेत्री तथा जुम्ला घर भई हाल गोकर्णेश्वर बस्दै आएकी २५ वर्षीया प्रतिक्षा आचार्य रहेका छन्।

प्रहरीका अनुसार चारै जनालाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखिएको छ। उनीहरूमाथि कर्तव्य ज्यान सम्बन्धी कसुरमा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रतिक्रिया