

ओली अर्थात् परम्परावादीका नेता

दुई दिनका परिदृश्यलाई केलाऔं, सुरुमा।
सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ऋषिराम कट्टेललाई दिँदै तत्कालिन एमाले र माओवादी ब्युँताउँदै निर्वाचन आयोगलाई परमादेश जारी गरेको थियो।
त्यसपछिका परिदृश्यले प्रधानमन्त्री केपी शर्मा ओली र उनी पक्षधरता को हुन् भन्नेको परिचय विस्तारै खुल्छ। आचरणका विषयमा चर्चा हुने नै छ।
सर्वोच्चको परमादेश दिउँसो ४ बजेतिर आयो। त्यससाँझ ओली पक्षधरताका कार्यकर्ताले दिपावली गरे। त्यसको भोलीपल्ट देखि ठाउँ ठाउँका पार्टी कार्यालयमा नाम फेरिन थाले। अझ कुनै कुनै ठाउँमा त ओलीसँग विद्रोह गरिरहेका माधवकुमार नेपाल पक्षधरहरूले राखेका बोर्ड नै उखेलिएको समाचार पनि बाहिरिएका थिए।
यो क्रम पार्टी मुख्यालय धुम्बाराहीसम्म चलिनै सक्यो।
अब, १३ दिन अघिको फ्ल्यासब्याकमा जाऔं–
सर्वोच्च अदालतको संवैधानिक इजलाशले प्रतिनिधि सभा पुनःस्थापनाको फैसला सुनायो, बैठक राख्ने मितिसहित। पुष्पकमल दाहाल प्रचण्ड, नेपाल पक्षधरताले दिपावली गरे। लड्डुका कथा सुरु भए।
यति मात्र भएन सारा संविधानका जानकारले सही फैसला भएको भनिदिए, ओली समर्थकबाहेक। ओलीका वकिलबाहेकले। नागरिक समाजले पनि यसलाई सकारात्मक भएको भनी खुसीयाली मनाए।
यो पृष्ठभूमी र यसैका आधारमा भएका घटनाक्रमले छुट्याउँछ दुई खाले प्रवित्ति। खासगरी प्रगतिशील र परम्परावादी चरित्र।
प्रधानमन्त्री केपी शर्मा ओली परम्परावादीका नेता हुन्। यो कुनै संकोचबिना भन्नुपर्छ। तर, परम्परावाद आफैंमा खराब हो भन्ने निचोड होइन।
किनभने ओलीको प्रतिनिधि सभा विघटनका पक्षमा उभिएका राजनीतिक दल र विचारधारा परम्परावादको वकालत गर्ने थिए, छन्। परम्परावाद लोकतन्त्रको एउटा अंग हो तर त्यसको चरित्र कस्तो हुन्छ भन्ने व्याख्या मात्रै यहाँ गरिएको छ।
थोमस जेफरशनले भनेका छन्– एउटा खराब सरकारले धेरैवटा खराब सरकारको उत्पादन गर्छन्। यो परम्परावादको एउटा उदाहरण हो। जहाँ नीति होइन नियती निम्त्याउनेलाई महान् ठानिन्छ। उसको उद्देश्य सही भए पनि नियती निम्त्याउनेलाई महान् ठानिदिनु लोकतन्त्र मात्रैचाहिँ होइन। यसको उदाहरणचाहिँ नेकपा एमाले भनी नाम लेखिएका बोर्ड तुलसँगै प्रधानमन्त्री ओलीका कागजी प्रतिमा पनि सँगै राखिनु हो।
अर्थात्, ओलीको पक्षमा उभिने जनमत बलियो भए पनि त्यो परम्परावादमा नै रमाउने पंक्ति हो भन्नुमा कुनै आश्चर्य हुनेछैन। मानिसका व्यवाहार र प्रवित्तिका कुरा फरक हुन्। अहंकारका चरित्र अलग हुन्। त्यसमा अहिले प्रवेश नगरौं।
यसको व्याख्या अनेकतामा छन्। अमेरिका जस्तो मुलुकमा परम्परावादले लामो समयसम्म नेतृत्व गर्ने, फेर्ने चहाँदै आएको छ। यसैको उपजमा रिपब्लिकन डोनल्ड ट्रम्प पनि बिजयी भए। भोलीका दिनमा फेरि अरु पनि हुनेछन्। यो विचारको मतभेदको तापमानले अर्थ लगाउने चिज भयो।
जनताका अविश्वासका तापमानलाई त्रासका कारण अविश्वास गर्नु नै परम्परावादी हुनु हो। हामीलाई पनि कतिपय चिजमा त्यस्तो बन्न मन लाग्छ। मानिसको भित्री व्यवाहारमा कहिँ न कहिँ हामी घर र परिवारबाट नै यो वादमा प्रशिक्षित छौं। त्यो प्रचण्ड या माधव नेपालमा पनि छ, नागरिक अगुवामा पनि छ। वकिलमा पनि छ।
तर नीति भनेको आम हुन्छ। त्यसैले त्यो आम नीति भनेको विश्वभरीको लोकतान्त्रिक विचारको समष्टि हुन्छ।
राम नेपालमा जन्मिएका हुन्। यो एउटा विशाल विरोधाभाष प्रयोगको भाष्य ओलीले स्थापित गरिदिए। उनका हरेक भाषणमा श्लोक, पारिवारिक पृष्ठभूमी र हिन्दूत्वको प्रशिक्षण व्यापक रुपमा देखियो, यसैले उनी यसका नेता हुन्। जसले यो विचारलाई समर्थन गर्छ, प्रणेता भन्दा पनि फरक पर्दैन
कुनै परम्परावादी रिसाएका छ भने उसलाई ढाँट्ने काम गर्नुहोस्, एउटा प्रगतिशील रिसाएको छ भने त्यसलाई सत्य भन्नुहोस्। यस हिसाबले बुझ्दा ओलीले कति झूठका पुलिन्दा सुनेका होलान्? त्यो उनले गरेका भाषणमा आउने कतिपय मिथ्यांकले नै बताइरहेको थियो। यद्यपि, उनी प्रधानमन्त्री हुन् र मान्नुपर्छ।
अब, ओली कसरी परम्परावादीका नेतृत्वकर्ता हुन्? यसका केही प्रमाण पेस गर्दछु।
ओलीको पहिलो प्रधानमन्त्रीत्व कार्यकालमा उपप्रधान तथा परराष्ट्रमन्त्री रहेका राप्रपा अध्यक्ष कमल थापाले भनेका थिए– यत्तिको प्रधानमन्त्री पाउन मुस्किल छ। थापा परम्परावादको प्रतिनिधित्व गरिरहेका छन्, वैचारिक रुपमा अहिलेसम्म।
पछिल्लो पटक प्रतिनिधि सभा विघटनमा उनको समर्थन थियो किनभने उनी त्यो विचारबाट प्रभावित छन्। तर, प्रक्रियाप्रति उनको टिप्पणी गलत भन्ने नै थियो।
ओलीका तर्फबाट अदालतमा जति पनि वकिलले मुद्दा लडिदिए कोही बाध्यतामा परे होला अलग कुरा भयो। तर बालकृष्ण न्यौपाने, सुरेन्द्र भण्डारीलगायतका वकिलहरू त मुलुकमा परम्परावाद हुनुपर्छ भन्ने नै वकालत गरिरहेका छन्।
अर्को उदाहरण– राजतन्त्र र राजसंस्था नभएको मुलुकमा उनका पक्षधर हुन्छन्। कोरोनाको यत्रो महामारीमा प्रधानमन्त्री ओलीले उनीहरूका जुलुस र सभा रोकेनन्। निषेध गरेनन्। उदार भए। यसको अर्थ उनको वैचारिक मनोभाव नै परम्परावादमा रमाउने गरेको छ।
देशका हकमा कुराकानी गर्ने क्रममा ओलीले धेरै उदाहरणमा आफूलाई परम्परावादी नेताका रुपमा अथ्र्याएका छन्। जसले जीन्दगीभरी राजतन्त्रको वकालत गरेको थियो (जस्तै कमल थापा) उसको आलोचना गर्ने राजसंस्थावादीले ओलीको महिमागान गाउन थाले, यो अर्को उदाहरण हो। यस अर्थमा उनी त्यो वैचारिक प्रवित्तिको नेतृत्व गरिरहेका छन्।
जनताको विचारलाई आफूतिर बलियोगरी आकर्षित गर्नका लागि राष्ट्रियताको धरातलमा ओली उभिए र धार्मिक विषयलाई राम्रो उपयोग गरे। उनको हृदयदेखि नै धार्मिक भावना छ। त्यसमा उनको लगाव हुनु नै परम्परावादको बाटोमा व्यवाहारिक यात्री बन्नु नै हो।
राम नेपालमा जन्मिएका हुन्। यो एउटा विशाल विरोधाभाष प्रयोगको भाष्य ओलीले स्थापित गरिदिए। उनका हरेक भाषणमा श्लोक, पारिवारिक पृष्ठभूमी र हिन्दूत्वको प्रशिक्षण व्यापक रुपमा देखियो, यसैले उनी यसका नेता हुन्। जसले यो विचारलाई समर्थन गर्छ, प्रणेता भन्दा पनि फरक पर्दैन।
संसारमा जुन जति वटा दलमा विभक्त भए पनि तिनका विचारले जम्मा दुई वटा प्रतिनिधित्व मात्र गर्छ। एउटा परम्परावाद र अर्को प्रगतिशीलवाद। व्यवाहारिक हिसाबले अरु के होलान् त्यसको व्याख्या गरिनेछ तर यसअर्थमा हाम्रा प्रधानमन्त्री ओलीचाहिँ परम्परावादीका एक सफल उदाहरण हुन्।

