
धादिङमा दर्शनार्थी बोकेको भ्यान दुर्घटना, चालकसहित सात जना घाइते
धादिङ- धादिङको त्रिपुरासुन्दरी गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल नृसिंहधामको दर्शन गरेर फर्किरहेका यात्रु बोकेको भ्यान दुर्घटनामा परेको छ। दुर्घटनामा चालकसहित सात जना घाइते भएका छन्।
जिल्लाको नीलकण्ठ नगरपालिका–१० माथिल्लो टारीबेंसी क्षेत्रमा बागमती प्रदेश ०२–०२२३ नम्बरको मारुती इको भ्यान अनियन्त्रित भई सडकबाट करिब एक सय मिटर तल खसेको हो।
प्रत्यक्षदर्शी सुमन दुवाडीका अनुसार भ्यान सडकबाट तल खसेर दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनालगत्तै स्थानीयवासी तथा सुरक्षाकर्मीको सहयोगमा घाइतेहरूको उद्धार गरिएको थियो।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार घाइतेहरूलाई उपचारका लागि धादिङबेसी तथा सल्यानटारस्थित स्वास्थ्य संस्थामा पठाइएको छ। उनीहरूको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार भ्यानमा सवार यात्रुहरू भक्तपुरबाट नृसिंहधाम दर्शनका लागि आएका थिए। दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



कागजपत्र |
