आर यु म्यारिड ?


अनायास अपरिचित नम्बरबाट ‘ब्ल्यांक म्यासेज’ आयो । नम्बर यस्तो थियो कि, बिर्सन चाहेर पनि नसकिने । ब्ल्यांक म्यासेजको रिप्लाई भने, ‘हु आर यु ? एन्ड ह्वेयर आर यु फ्रम ?’ लेखेर पठाएँ । उत्तर आउला जस्तो लागेको थिएन, तर आयो ‘आइएम सरी, रंग नम्बर ।’ खाली समय थियो, मोबाइलमा ब्यालेन्स पनि दुई/चारवटा म्यासेजलाई पुग्ने रै’छ, गफ गरौँ न त भनेर लेख्न थालियो, रिप्लाई’नि आइरहन थाल्यो ।

पहिलो दुई चारदिनको म्यासेज हेर्दा त बेक्कारमा नभएको ब्यालेन्स सकाउँदैछु भन्ने लाग्यो । खाली ओठे जवाफ अनि नजानिँदो पाराले धम्कीका शब्दहरु आउन थाले । तर, मान्छेको मन हो, त्यही पनि केटी मान्छेको, पग्लन त के नै बेर पो लाग्दोरहेछ र ? हुन त पग्लेकै भनेर भनि हाल्नु पनि हतार हुनसक्थ्यो, कहिले फेरि पुरानै रुपमा धम्कीका शब्दबाणले शान्त मनलाई भाँड्न सक्थ्यो ।

खै कसरी हो, उनको बारेमा थाहा पाउने माध्यम देख्दा मलाई नै अचम्म लाग्थ्यो, कुनै कुनै उसका ‘स्पेशल इभेन्ट’ बारे जसरी पनि थाहा पाउँथे, मैले चाहेर थाहा पाएको हो जस्तो मलाई लाग्दैन, मैले नचाहेरै पनि उनका बारेमा थाहा पाउँदा लाग्थ्यो, कहिँ कतै हामी मित्रताका लागि त योग्य छैनौँ भन्ने लाग्थ्यो, अनि आशा पनि । यति थोरै, त्यही एसएमएस वार्तालापमा नै मित्रताको सपना देख्नु सायद उपयुक्त पनि हुँदैनथ्यो कि, तर सबैभन्दा सजिलो, सरल, सस्तो चिज नै सपना भएकाले देख्न थालियो ।

पहिलोपटक नामै पनि अरु नै बताएकी थिइन्, सायद केटी मान्छेको गुण होला, अपरिचित मान्छेलाई सही नबताउनु, यसले मलाई खासै अप्ठेरो लागेन, मलाई थाहा थियो, उनैबाट उनको नाम थाहा पाउँछु भन्ने र भयो पनि त्यस्तै । अनि बिस्तारै खुल्दै गए उनका कजेल अनि पारिवारिक पृष्ठभूमि । यसबाट पनि थाहा भयो, केटी मान्छेको कमजोरी, कत्ति चाँडै विश्वास गर्छन् वा गरे जस्तो गर्छन् ? सबै कुरा भने पनि उनले घर भने अहिलेसम्म बताएकी थिइनन्, र मैले पनि सोधेको थिइनँ । एकदिन, उनी कलेजबाट घर फर्कंदा पहिलोपटक र अहिलेसम्ममा अन्तिमपटक ‘मिसकल’ गरिन्, ‘कलब्याक’ गरुँ कि नगरुँ भयो, ह्या एकचोटी गरुँ न त के नै पो होला र भन्ने ठानेँ, कुरा भयो, ‘आज घाम धेरै लागेको छ, माइक्रो पनि भीड रै’छ, साह्रै गर्मी भयो, कलेजमा एउटा सर आउनुभएन अलि छिट्टै भयो,’ यस्तै यस्तै । बोल्दै गर्दा उनी चढ्ने माइक्रोबाट आएको थियो, कुपण्डोल–पुल्चोक–जावलाखेल लगनखेल । घर कता हो भनेर भने मैले सोध्नै परेन, यसैबाट थाहा भयो, ललितपुरतिर बस्दिरहिछन् । साँझ म्यासेज पठाएँ, ‘तिम्रो कलेज थापाथली हो ? जावलाखेल कहाँनिर हो नि तिम्रो घर ?’ भनेर । उनी अझै अचम्ममा परिन्, मलाई त उनको कलेज अनि घर त उनी चढेको माइक्रोको ‘कन्डक्टर’ले भनेको थियो, खुट्याउने काम मेरो थियो, सही परेछ ।

मलाई उनका बारेमा जति थाहा थियो, उनलाई मेरो बारेमा केही पनि थाहा थिएन, सिवाय ९८४१…… को नम्बरबाहेक । म उनलाई चिन्थेँ मात्र एकतर्फी रुपमा, तर विश्वस्त छैन अहिले पनि भेटें भने तिमी नै हौ भन्नसक्छु भन्ने । कहिलेकाहिँ उनको फेसबुकमा नाम खोजेर हेर्थे, अनि उनका अपडेटहरु थाहा पाउँथे, मेरा लागि त्यति न काफी थियो, उनका बारेमा थाहा पाउनका लागि । उनलाई लाग्दो रै’छ, म उनैको कलेजको शिक्षक, विद्यार्थी, कर्मचारी वा अरु कोही थिएँ भन्ने, तर म उनले सोंचेका पात्रभन्दा फरक थिएँ, त्यो थाहा थियो मात्र मलाई ।

केटी मान्छेको गुण होला, अपरिचित मान्छेलाई सही नबताउनु, यसले मलाई खासै अप्ठेरो लागेन, मलाई थाहा थियो, उनैबाट उनको नाम थाहा पाउँछु भन्ने र भयो पनि त्यस्तै । अनि बिस्तारै खुल्दै गए उनका कजेल अनि पारिवारिक पृष्ठभूमि । यसबाट पनि थाहा भयो, केटी मान्छेको कमजोरी, कत्ति चाँडै विश्वास गर्छन् वा गरे जस्तो गर्छन् ?

पहिलो सेमेष्टरको परीक्षा सुरु भयो, शायद ‘बेस्ट अफ लक’ भन्ने म दोस्रो व्यक्ति रहन्थेँ होला, उनका प्रत्येक परीक्षा अगाडि । अनि कस्तो भयो भनेर सोध्ने पहिलो व्यक्ति हुन्थेँ होला परीक्षा पछाडि । उनको पहिलो सेमेष्टर परीक्षा पछाडि निकै समय ग्याप भयो हाम्रो एसएमएस आदानप्रदानमा । रिजल्ट निस्क्यो, थाहा पाइयो क्याम्पस ‘टप’ गरी भनेर । बधाई दिएँ, अचम्म परी कसरी थाहा पाउनु भो भनि । मैले अब टपर भनि भन्न थालें, उनलाई यो सम्बोधन मन पर्दोरहेनछ र मैले भन्न छाडें, अनि एसएमएस पठाउन पनि ।

दोस्रो सेमेष्टरको परीक्षा बेला फेरि ‘बेस्ट अफ लक’मै सीमित भयो हाम्रो वार्तालाप, अनि रिजल्टपछि उही ‘कंग्राच्युलेसन’ भन्न । तर अहिले भने क्याम्पस टप गर्न सकिनछ भनौँ वा अर्कोले उसले भन्दा राम्रो पढेछ, अब चाहिँ टपर भन्न छाडें मैले । उसलाई अर्कोपटक पक्कै भन्छु भनेरै भनेको थिएँ, यदि उसले तेस्रो सेमेष्टर टपी भनी । अबदेखि भने केबल उसको र मेरो वार्तालाप भनेको परीक्षाको बेला अनि रिजल्ट निस्कँदा मात्र सीमित रह्यो । धेरै भयो, आजभोलि उसको म्यासेज नआएको अनि मैले नलेखेको पनि । लाग्थ्यो, उसको पढाइमा मैले ‘डिस्टर्ब’ गरेछु कि क्या हो भन्ने, छाडें ‘टेक्स्ट’ गर्न पनि । फोन त कहिल्यै गरेको थिइनँ भन्न हुँदैनथ्यो, कुनै जमानामा एकादुई गरेको थिएँ, तर अहिले त गर्ने आँट नआएको भनौँ वा ह्या ! किन पो गर्नु र, भने जस्तो लाग्छ । अहिले आएर त उसको स्वर पनि बिर्से जस्तो लाग्छ ।

यसैबीच तेस्रो सेमेष्टरको रिजल्ट निस्केको दिन ‘कंग्राच्युलेसन’ भनेर टेक्स्ट गरेँ, अनि अहिले चाहिँ अलि बढी कुरा होला जस्तो भयो । तर मलाई उसको पहिलाको जस्तै प्रश्न आउन थाल्यो, ‘हु आर यु ? हाउ यु नो मेनी थिंक्स् अबाउट मि ? ह्वाई डन्ट यु इन्टरड्युस योरसेल्फ ?’ परिचय नभएको मान्छेले कसैलाई आफ्नो परिचय दिनु जस्तो गाह्रो कुरा केही पनि रहेनछ, बल्ल थाहा भयो । अनि मैले पनि जसै-तसै उत्तरहरु दिइरहैं, तर यसपटक भने अन्य बेलाभन्दा अलि बढी टेक्स्ट आदानप्रदान भयो । खाना खाए नखाएको कुरा सोध्न थाली, रिप्लाई ढिलो हुँदा किन ढिला भनी सोध्न थाली, अनि दिन कस्तो भयो भन्न थाली, म पनि अभ्यस्त भइसकेको थिएँ, उसका प्रश्नको उत्तर दिन अनि उसलाई पनि यस्तै कुरा सोध्नका लागि ।

अनि ‘साथी संगतले गर्दा मैले पढ्न पहिलाको जस्तो सक्दिनँ, त्यसैले रिजल्ट बिग्रयो,’ भनि । लाग्यो ऊ अलिकति रंग-रमाइलोमा हराउने भइछ भन्ने, तर मैले उसलाई यसबारे केही सोधिनँ, जानौं भन्ने पनि लागेन, अनि सम्झाउँ न त भन्ने झन् पटक्कै लागेन । किनकी साथीसंगत अनि ‘रिलेसनसीप’का कुरामा ऊ म भन्दा धेरै ‘फरवार्ड’ छे भन्ने पहिला–पहिलाको उसका म्यासेजहरुबाट थाहा पाएको थिएँ । उसले एक दिन लेखेकी थिई, ‘मेरो ब्वाइफ्रेन्डसँग झगडा पर्यो अनि ब्रेकअप भयो’ भनेर, त्यसपछि मैले उसको रिलेसनसीप बारेमा न कहिल्यै सोधें, न त कहिल्यै उसले भनी । भन्थी कहिलेकाहिँ मेरा केटी साथी छैनन्, केटीहरु डाहाडे हुन्छन्, केटीभन्दा केटाहरु हेल्पफूल हुन्छन्, त्यसैले मेरा त केटा साथीहरु अलि धेरै छन् । लाग्थ्यो, कहिलेकाहिँ उसको रिलेसनसीप स्ट्याटस के होला, कस्ती केटी होली भन्ने, तर यो भन्दा अगाडि मैले उसका निजी कुराहरु सोच्दा पनि सोंच्थिनँ, अनि सोध्दा पनि सोधिनँ र सोध्दिन्न पनि । थाहा छ, केटी मान्छे हो, अलि ‘फ्रिक्वेन्ट्ली’ कुरा हुन थाल्यो भने ऊ आफैँ भन्छे, कुरा हुन छाड्यो भने किन चाहियो, अरु मान्छेको निजी कुरा ? भन्ने मलाई लाग्थ्यो र लाग्छ अझै पनि ।

कहिलेकाहिँ सोच्छु, उसलाई औंसी-पूर्णे लाग्छ जस्तो छ । कहिलेकाहिँ आशै नगरेको समयमा टेक्स्ट आउँछ, आशै नगरेको कुरा लेखेर । तर, जब सम्भावित उत्तरको कल्पनामा टेक्स्ट गर्छु, सोच्दै नसोँचेको उत्तर लेखेर आउँछ । एकदिन यसै कुरा भइरहेको थियो, एक्कासी अचम्मको प्रश्न आयो, ‘आर यु म्यारिड ?’ भनेर, म अचम्म परेँ, किन त्यसले यो प्रश्न गरी । रिप्लाई गरेँ, ‘असारको महिना छ, उमेर पुगेको केटा, पढाइ सकिएको छ, घर-परिवारले खोजिदिए भने, त्यसको उत्तर साउन लागेपछि दिउँला ।’ यत्ति पढ्दा नपढ्दै उसका औंलाहरु मोबाइलको किप्याडमा चल्न छाडेछन् क्यारे, त्यसपछि टेक्स्ट आउन छाड्यो । कस्तो किसिमको उत्तरको अपेक्षा गरेकी थिई उसले ? त्यो उसैले जानोस्…

तयारी गर्दै होली, चौथो सेमेष्टरको अहिले । लाग्दैछ, अब हाम्रो एसएमएस वार्तालापको ‘ग्याप’ अब त्यतिबेलासम्म हुन्छ, जतिबेला ‘टियू’ले चौथो सेमेष्टरको ‘रुटिङ’ सार्वजनिक गरेर परीक्षा सुरु हुन्छ । तर, उसको अन्तिम प्रश्न अनि मेरो उत्तरका कारण निरन्तरता पाउँछ पाउँदैन, त्यो कुरा उसमै निहीत छ । उसको पहिलो सेमेष्टरदेखिको हाम्रो एसएमएस मित्रता खै कहिलेसम्म रह्यो वा रहिरहन्छ ? अनि कहाँसम्म पुग्यो वा पुग्छ ? थाहा छैन, तर विश्वास छ, जहिलेसम्म रह्यो वा रहिरहन्छ, त्यो सुमधुर नै रह्यो, रहन्छ अनि रहिरहनेछ ।

प्रतिक्रिया