

चिनी नहालेको कालो चिया पिउँछन् प्रचण्डका राजनीतिक गुरु

काठमाडौं– नेपाली कम्युनिस्ट राजनीतिमा फरक उदय गराउने पात्रको नाम हो– मोहन पोखरेल। मसालको महासचिव भएपछि उनले आफ्नो थर नै परिवर्तन गरिदिए र चर्चित नाम बन्यो– मोहन वैद्य।
तत्कालिन नेकपा माओवादीको राजनीतिक कार्यदिशा कोर्ने पात्र हुन् वैद्य जसको ढाडमा टेकेर फरक उदयमा उत्रिए पुष्पकमल दाहाल प्रचण्ड। यसैले माओवादीहरू र पुराना कम्युनिस्ट नेताहरू वैद्यलाई प्रचण्डको राजनीतिक गुरु भन्ने गरेका छन्।
अहिले नेपाल क्रान्तिकारी कम्युनिस्ट पार्टी गठन गरेका उनको संगठन त्यति ठूलो त छैन तर राजनीतिक वैचारिक लाइनमा भने उनी दृढ छन्। अहिले प्रचण्डबाट छुटिसकेका उनको स्थिर लाइन असफल भएको भन्नेहरूलाई उनको जवाफ हुने गरेको छ– नव संशोधनवादीको अभियोग मात्र हो।
वैद्यको जीवन प्रचण्डको जस्तो राजसी छैन। ‘साँच्चैको कम्युनिस्ट चरित्र र व्यवाहार भएको नेता हो वैद्य जी। उहाँ चिया पनि चिनी नहालेको कालो मात्र पिउनुहुन्छ’, उनी निकट नेता भन्छन्,‘प्रचण्डले घरमा मासुभात खाने गरेको, पूँजीवादी संस्कृति र सामन्ती शैलीको खाना रोजेको त आफैं बताइरहेका छन् नि! वैद्य जी जीवनमा पनि सादगी हुनुपर्छ भन्ने विचार भएको नेता हो।’
तत्कालिन राजा वीरेन्द्र शाहको व्यवस्थामा मसालमा रहँदा हतियार उठाएर राजनीतिक गर्ने वैद्यको रणनीतिक लाइन थियो। सोही बेला प्रचण्ड महामन्त्रीमा वैद्यलाई प्रतिस्थापन गरेर आएका थिए। तर माओवादी आन्दोलनताका नेतृत्वमा प्रचण्ड पुगे पनि त्यसको कार्यनीतिचाहिँ वैद्यको लाइनबाट नै सफल भएको बताइन्छ।
उनलाई भारतीय प्रशासनले पक्राउ गरेपछि नै प्रचण्डले राजनीतिक लाइन परिवर्तन गरेका थिए। भारतकै आडमा १२ बुँदे सहमति गरी माओवादीको संघर्षको लाइनलाई प्रचण्डले त्याग गरेको वैद्यहरूको बुझाई छ
‘कम्युनिस्टहरू जनमुखी हुनुपर्छ भन्ने मान्यताका आधारमा नै माओवादी आन्दोलनले सफलता पाएको थियो। यो लाइन नै वैद्यको थियो। तर प्रचण्डले ति सबै मानकलाई स्खलित बनाइदिए’, माओवादीमा लामो समय काम गरेका नेताहरू भन्छन्,‘वैद्यलगायतको टिम छुटेपछि प्रचण्ड एमालेमा विलय भएको देखिएन र, अहिले हेर्नु त?’
सादा जीवन र उच्च विचारले नै कम्युनिस्ट र जनवादी जनतन्त्र स्थापना गर्न सकिन्छ भन्ने लाइनमा छन्, वैद्य। उनलाई भारतीय प्रशासनले पक्राउ गरेपछि नै प्रचण्डले राजनीतिक लाइन परिवर्तन गरेका थिए। भारतकै आडमा १२ बुँदे सहमति गरी माओवादीको संघर्षको लाइनलाई प्रचण्डले त्याग गरेको वैद्यहरूको बुझाई छ।
‘त्यसैले त विभिन्न कित्तामा विभक्त रहेर वैद्य, नेत्रविक्रम चन्दहरू अलग बाटोमा छन्’, ति नेता भन्छन्,‘प्रचण्ड नयाँ अवसर र सत्ताको केन्द्रमा पुग्न मरिहत्ते गर्छन्।’
वैद्यले पनि एउटा अन्तरवार्ताका दौरान प्रचण्डलाई एमालेमा विलय भएको र नवसंशोधनवादीको संज्ञा दिएका थिए। उनले यो संसदीय प्रणालीको फोहोरमा प्रचण्ड लतपतिएको पनि बताइसकेका छन्।

