

क्यान्सर विशेषज्ञ डा. सोनियालाई अमेरिकी ‘गोल्डेन एप्पल अवार्ड’

काठमाडौँ- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सर विशेषज्ञका रूपमा कार्यरत एसोसिएट प्रोफेसर डा. सोनिया दुलाललाई हेल्थ भोलन्टियर्स ओभरसिज (एचभीओ)ले ‘गोल्डेन एप्पल अवार्ड’ले सम्मान गरेको छ । अमेरिकाको वासिङ्टन डिसीमा आयोजित एचभीओको २० औं वार्षिक उत्सवमा डा. दुलाललाई सम्मान गरिएको हो ।
सन् २००६ देखि एचभीओले युवा चिकित्सकहरूको अनुसन्धान र बिरामी उपचारमा योगदानका आधारमा यो अवार्ड प्रदान गर्दै आएको छ । डा. दुलाललाई यो अवार्ड क्यान्सर उपचार र व्यावसायिक विकासमा गरेको योगदानको लागि दिइएको हो। उनले बिपी प्रतिष्ठानमा क्यान्सर उपचारको क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेलेकी छन् ।
डा. दुलाल पाँच वर्षदेखि बिपी प्रतिष्ठानमा क्यान्सर विशेषज्ञका रूपमा कार्यरत छिन् । उनी नेपालमा मात्र डिएम मेडिकल अंकोलोजी गर्ने पाँच जनामध्ये एक हुन् । उनले बिपी प्रतिष्ठानमा क्यान्सर उपचारका लागि छुट्टै युनिट स्थापना गरी केमोथेरापी र क्यान्सर स्क्रिनिङ क्लिनिक चलाएको छ ।
उनले क्यान्सरमाथि थप अनुसन्धान गर्ने र ग्रामीण क्षेत्रमा क्यान्सर उपचार सेवाहरू विस्तार गर्ने लक्ष्य राखेकी छन् । यसअघि उनी अमेरिकाबाट ‘ग्लोबल अंकोलोजी यङ इन्भेस्टिगेटर अवार्ड’ पनि प्राप्त गरिसकेकी छन् ।

