

तनहुँमा माइक्रोबस र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु, १३ जना घाइते

दमौली–डुम्रे–बेँसीसहर सडकखण्डअन्तर्गत तनहुँको भानु नगरपालिका–१० कालीमाटीमा आइतबार माइक्रोबस र स्कुटर एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
डुम्रेतर्फ लमजुङ जाँदै गरेको बा २ ख ४०२२ नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आइरहेको ग २६ प ४०५८ नम्बरको स्कुटर ठोक्किँदा माइक्रोबसमा सवार मनाङको नार्फु गाउँपालिका–८ का ४० वर्षीय मन घले र स्कुटरमा सवार लमजुङको बेँसीसहर नगरपालिका–८ की ३२ वर्षीया अनिता थापा श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।
घटनामा गम्भीर घाइते भएका स्कुटर चालक ४१ वर्षीय दीपेन्द्र श्रेष्ठलाई उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको छ।
यस दुर्घटनामा माइक्रोबसमा सवार अन्य १३ जना घाइते भएका छन् । घाइतेहरूमा १४ वर्षीया पूजा गुरुङ, ५५ वर्षीय प्रेमबहादुर सुनार, २४ वर्षीया युनिशा गुरुङ, ६७ वर्षीया राजकुमारी गुरुङ, ५४ वर्षीय लिलाप्रसाद बसौला, ३५ वर्षीय अलिश शाही, ३२ वर्षीय कुमार राई, ५१ वर्षीय धनबहादुर गुरुङ, ३५ वर्षीय अधिस राई, ७८ वर्षीया कृष्णकुमारी पाण्डे, ४३ वर्षीया तित्थकुमारी थापा र ३२ वर्षीया मनिका गुरुङ रहेका छन् ।
प्रहरीका अनुसार घाइतेहरूमध्ये केहीको भोटेओडारस्थित सिउँडीबार अस्पतालमा तथा अन्यको डुम्रेको लक्ष्मी अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनापछि माइक्रोबस चालक सिन्धुपाल्चोकका मानबहादुर घलेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

