लोकतान्त्रिक मूल्यमा आस्था राख्नु आजको ऐतिहासिक आवश्यकता हो : नैनसिंह महर


काठमाडौं — नेपाली कांग्रेसका १५ औं माधाधिवेशन महामन्त्री उम्मेदवार नैनसिंह महरले समकालीन राजनीतिक परिप्रेक्ष्यमा लोकतन्त्रमाथि प्रहार गर्ने प्रयासहरूलाई गम्भीर चुनौतीको रूपमा चित्रण गर्दै, त्यसप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्। उनले वर्तमान परिस्थितिमा लोकतन्त्रको विकल्प फेरि लोकतन्त्र नै भएको तर्कसहित, लोकतान्त्रिक प्रणालीलाई थप परिष्कृत र सुदृढ बनाउने साझा प्रयासमा सबै पक्षलाई सक्रिय हुन आह्वान गरे।

काठमाडौंमा आइतबार आयोजित स्कुल अफ डेमोक्रेसी स्टुडेन्ट सर्कलको कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले लोकतन्त्रलाई असफल सावित गर्न खोज्ने नियोजित प्रयासहरू जनतामा निराशा फैलाउने रणनीतिक रूपमा प्रयोग भैरहेको बताए।

“आज देशभित्र विद्यमान आर्थिक, सामाजिक वा राजनीतिक समस्या लोकतन्त्रको कारण होइन; ती व्यवस्थाको प्रयोग, कार्यान्वयन र नेतृत्वको स्तरसँग सम्बन्धित छन्,” उनले भने, “त्यसैले समाधान लोकतन्त्रको विस्थापन होइन, यसको सशक्तीकरण हो। व्यवस्था निर्माण गर्न संसदले काम गर्नुपर्छ । संविधानको कार्यान्वयननै अहिले आवश्यकता हो । ”

उनको तर्कमा, कतिपय समूह र व्यक्तिहरू लोकतन्त्रको सीमालाई बढाइचढाइ प्रस्तुत गर्दै जनमतलाई भ्रमित पार्न खोजिरहेका छन्। महरले यस्ता शक्तिहरूलाई “कृत्रिम ब्ल्याकहोल” निर्माण गर्ने भ्रममा नबस्न आग्रह गर्दै, नेपालको संविधान र लोकतान्त्रिक आन्दोलनको ऐतिहासिक पृष्ठभूमिप्रति सम्मान जनाउनु जरुरी रहेको बताए।

“लोकतन्त्र सुधारको अनवरत प्रक्रिया हो । यसमा सहभागी र उत्तरदायी नागरिक संस्कृति विकास नगरीकन न लोकतन्त्र टिक्छ, न विकास सम्भव हुन्छ,” उनले जोड दिए।

उनले लोकतान्त्रिक अभ्यासलाई मूल्यमान्यता, विधि र संस्थागत संरचनाको संयोजनका रूपमा बुझ्नुपर्ने र यसले नै दीर्घकालीन स्थायित्व, सामाजिक समावेशीकरण, र आर्थिक समृद्धिको बाटो खोल्ने उल्लेख गरे।

महरका अनुसार, लोकतन्त्रमाथि बढ्दो निराशा वा असन्तुष्टि स्वाभाविक भए तापनि, त्यसको समाधान कुनै अधिनायकवादी प्रयोग वा अराजक विकल्पमा खोज्नु गम्भीर ऐतिहासिक भूल हुनेछ।

प्रतिक्रिया