

एमाले अछाममा पार्टी परित्यागको लहर, ७१ सदस्य भीम रावलकाे अभियानमा सामेल

अछाम- नेकपा एमालेको अछाम जिल्ला कमिटीको अधिवेशन नजिकिदै गर्दा पार्टीबाट परित्यागको लहर चलेको छ । एमालेको सुदूरपश्चिम प्रदेश कमिटीको लेखा समिति सदस्य बालागिरी कुँवरसहित ७१ जनाले आइतबार एमाले परित्याग गरेका छन् । यी सदस्यहरुले डा. भीमबहादुर रावलद्वारा सञ्चालन गरिएको ‘मातृभूमि जागरण अभियान’मा सहभागिता जनाएका छन् ।
परित्याग गर्ने सदस्यहरुले जारी गरेको विज्ञप्तिमा, एमाले अध्यक्ष केपी शर्मा ओलीको गुटीय राजनीति र कार्यशैलीका कारण पार्टीका आन्तरिक लोकतन्त्र, जनवाद र समाजवादको मार्ग बन्द भएको आरोप लगाएका छन्। उनीहरूले पार्टीमा निरंकुशता, भ्रष्टाचारको संरक्षण र ठूला व्यवसायी तथा सरकारी ठेक्कापट्टा, आर्थिक घोटालामा पार्टीका नेताहरूको संलग्नता बढेको र सर्वहारा वर्गको पक्षमा आवाज उठाउन बन्द भएको बताएका छन् ।
विज्ञप्तिमा, जुनसुकै पार्टीमा भए पनि इमान्दार, देशभक्त नेता र कार्यकर्ताहरुलाई डा. रावलको अभियानमा सामेल हुन, भ्रष्टाचार अन्त्य गर्न, राष्ट्रियता रक्षा गर्न र समृद्ध नेपालको निर्माणमा योगदान पुर्याउन आव्हान गरिएको छ ।
एमाले छोडेर मातृभूमि अभियानमा सामेल हुनेमा अछाम जिल्लाका कमिटी सदस्यहरू, नगर कमिटी सदस्यहरू, वडा र गाउँ कमिटीका पूर्व पदाधिकारी तथा सदस्यहरू रहेका छन्। यसैगरी, नेकपा एकीकृत समाजवादीका पाँच जना नेता र कार्यकर्ताहरूले पनि पार्टी परित्याग गर्दै डा. रावलको अभियानमा सामेल भएका छन् ।
यसबीच, एमालेले अछाम जिल्लाको कमिटी अधिवेशनका लागि शनिबार भूगोल, क्षेत्र र कलस्टरबाट प्रतिनिधिहरू चयन गरेको थियो। नवौं जिल्ला अधिवेशन बैशाख १३ देखि १५ गतेसम्म मंगलसेनमा हुने तय गरिएको छ ।

