झिझिया नृत्यमा स्वास्थ्य मापदण्डप्रति बेवास्ता


जनकपुर– मिथिलाञ्चलका शक्तिपीठमा पारिवारिक सुरक्षाको लोक अनुष्ठान झिझिया नृत्यको प्रदर्शनमा स्वास्थ्य मापदण्डलाई ख्याल नगरिएको देखिएको छ । बडादशैंका अवसरमा घटस्थापनादेखि दशमीसम्म महिलाद्वारा सञ्चालन र संयोजन हुने देवी स्तुतिको लोक परम्परा झिझिया पूर्णरूपमा ताान्त्रिक विधिअनुसार प्रस्तुत गरिने चलन रहेको छ । जिल्ला प्रशासन कार्यालयमा भीडभाड नगर्न निषेधाज्ञा जारी गरे पनि झिझिया, मेला आयोजना र दर्शनमा आज्ञा प्रभावकारी देखिएको छैन ।

भिझिया मैथिल समाजको लोकनृत्य हो, जसमा बलिरहेको दियो भएको असंख्य प्वाल पारिएको घैंटो टाउकामा राखी नृत्य गर्ने गरिन्छ । समाजमा प्रचलित आम विश्वासअनुसार गाउँकी डाइनी बोक्सी महिला जादु सिकेर त्यसको सिद्धिका लागि गाउँका जन्मजात बालबालिकालाई टुनामुनाद्वारा मारेर मसानमा गई मरेको बच्चालाई जिउँदो पारी नांगौ नृत्य गर्दछन् । दशैंका अवसरमा यस्ता घटनामा वृद्धि हुन थालेपछि महिलाद्वारा नै एउटा धार्मिक, सांस्कृतिक अनुष्ठानको शुरूआत गरी भगवती दुर्गाको स्तुति र गुण प्रहार गर्ने नृत्यको प्रारम्भ गरे, जो आजसम्म चलिरहेको छ ।

झिझियामा टाउकोमा  घैँटो राखेर निरन्तर नाची रहनुपर्दछ, घैँटोमा पारिएका प्वाल बोक्सीले गन्न नभ्याउन भनेर नाच्ने महिला आफ्नो टाउको पनि हल्लाइरहेकी हुन्छे । प्वाल बोक्सीले गन्न भ्याइन भने नाच्ने ठहरै हुन्छिन् भन्ने जनविश्वास पनि छ । छैटौँ–सातौँ शताब्दीतिर मिथिलाञ्चलमा मालिनी सम्प्रदायको प्रभाव निकै बढेको थियो । मालिनी जादु टुनामा पारङ्गत हुने गर्दथे । मालिनीकै परम्परामा पछि बोक्सीको परम्परा शुरू भयो जसले आफ्नो गुण सिद्ध गर्न केटाकेटीलाई मारेर मसान पूजाको थालनी गरेको विश्वास छ ।

संस्कृतिविद् रामभरोस कापडी भ्रमरका अनुसार समाजमा प्रचलित मान्यताअनुरूप बोक्सीबाट सन्तानको रक्षा गर्न सांस्कृतिक लोक अनुष्ठान झिझियाको प्रारम्भ भएको हो । यो लोक अनुष्ठानमा बोक्सीलाई गाली गर्नुका साथै भगवतीको आराधना गरिएको मोहक गीत पनि गाइन्छ । नृत्यसँगै गाइने गीतमा बोक्सीलाई गाली पनि गरिन्छ । बोक्सीलाई गाली गरियो भने त्यसको मारक क्षमता कमजोर हुन्छ र बालबच्चाको सुरक्षा हुन्छ भन्ने विश्वास पाइन्छ । (रासस)

प्रतिक्रिया