

आफ्नाकै कारण खतरामा अग्नि खरेल, स्वतन्त्रको विश्वास लिँदै विश्वप्रकाश शर्मा

काठमाडौ – आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा प्रमुख राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमालेले नेतृत्व गरेको गठबन्धन दलका उम्मेदवारबीच नै सबैजसो ठाउँमा मुख्य प्रतिष्पर्धा हुँदैछ । त्यसमा पनि मुलुकको राष्ट्रिय राजनीतिमा सँधै समस्याको निकास दिँदै समाधानको मार्ग पैल्याउने कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको चर्चा यतिवेला सुदूरपूर्वको झापा क्षेत्र नम्वर एकमा हुने गरेको छ ।
पाँच वटा निर्वाचन क्षेत्र रहेको झापामा यसपटक पनि राष्ट्रिय राजनीतिमा चर्चा कमाएका शर्मासँगै पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र एमाले नेता पूर्वमन्त्री अग्नीप्रसाद खरेलको उम्मेदवारीले समेत धेरैको ध्यान झापा तिरै सोझिने गरेको छ ।
गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा राजनीतिक दलको तर्फबाट वडाध्यक्षहरुले पाएको मतलाई आधार मान्ने हो भने झापा क्षेत्र नम्वर ३ वाहेक सबै क्षेत्रमा कांग्रेस र एमालेका उम्मेदवारबीच नै मुख्य प्रतिष्पर्धा हुने देखिएको छ । झापामा एमालेले गणतन्त्रबिरोधी राजसंस्था पक्षधर दल राप्रपासँग चुनावी तालमेल गरेका कारण पनि चुनावी परिणमको आंकलन गर्न झापामा कठिन हुँदै गएको छ ।
झापा क्षेत्र नम्वर १ मा सत्ता गठबन्धन दलको तर्फबाट कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा यस पटक पनि चुनावी मैदानमा छन् । २०७० को संविधान सभा सदस्य र २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा झिनो मतान्तरले पराजित शर्मा एमालेको तर्फबाट उम्मेदवार बनेका अग्नीप्रसाद खरेलसँग शर्माको यस पटक जम्का भेट भएको हो ।
०७० मा शर्मालाई करिव ८ सय मतान्तरले पराजित गरेका रविन कोइराला यस पटक सोही क्षेत्रको प्रदेशसभा ’क’ बाट उम्मेदवार भएका छन् । ०७४ मा शर्मालाई पराजित गर्ने माओबादी केन्द्रका राम कार्की (सुरेन्द्र कार्की) यस पटक कतै पनि उम्मेदवार भएका छैनन् ।
चर्चासँगै मतदाताको विश्वास जित्दै विश्वप्रकाश
उदार र मृदुभाषी शर्माको अभिव्यक्ति कलाबाट धेरै युवाहरु आकर्षित हुँदै गएका छन् । २०४६ को जनआन्दोलनको समयमा मेची बहुमुखी क्याम्पसमा आन्दोलनको नेतृत्व गरेदेखि चर्चा र आकर्षणको केन्द्र बनेका शर्मा नेविसंघका निर्वाचित केन्द्रीय अध्यक्ष हुन् ।
शर्माको जीवन शैली, स्वतन्त्र र निष्पक्ष तथा सकारात्मक बिचार प्रवाह गर्ने कलाबाट शर्माले झापा क्षेत्र नम्वर १ का स्वतन्त्र र युवा मतदाताको मन जिते पनि मत जित्न सकेका थिएनन् । उनकै भाषामा ‘झापा १ का जनताको मन जितेँ अब मत जित्ने पालो यस पटक हो ।’
असफलता प्राप्त हुँदा वा उपलब्धी नभेटाउँदा समेत धैर्य र लगनशील भएर कर्ममा निरन्तर लाग्ने शर्माको व्यवहारबाट उनले धेरै प्रशंसक जिल्लामा कमाएका छन् । उनको संसदमा उपस्थितिको खाँचो रहेको क्षेत्रका मतदाताले बताए पनि मत जित्ने प्रयत्नमा शर्मा लागेका छन् । उनी कांग्रेसइत्तर दलका कार्यकर्तादेखि शुभेच्छुक र स्वतन्त्र मतदाताको मन जित्ने प्रयत्नमा लागेका छन् ।
वितेको पाँच वर्षमा क्षेत्रका नागरिकको दुख सुखमा सहभागी भएकै कारण आफूले जितेको मन मतमा परिणत हुन मंसिर ४ कुर्नु पर्ने शर्माको भनाई छ ।
शर्मासँग प्रमुख प्रतिष्पर्धी भएका उम्मेदवारहरु बारम्बार परिवर्तन भए पनि शर्मा आफ्नो स्थायी बसोबास रुहेको निर्वाचन क्षेत्र छाडेर झापाको अन्य क्षेत्र वा काठमाडौंमा उम्मेदवार हुने प्रस्तावलाई अश्वीकार गर्ने नेता हुन् ।
राष्ट्रिय राजनीतिमा लोकप्रीय भएका शर्मा लगातार २ पटक पराजित भए पनि यसपटक भने जित हासिल गर्नै पर्ने उदेश्य लिएर चुनावी मोर्चामा खटिएका छन् ।
उनका प्रतिष्पर्धीको रुपमा देखिएका खरेल भने एमाले गत स्थानीय तहमा पाएको मतलाई सुरक्षीत गरेर जित हासिल गर्ने पक्षमा छन् । तर झापामा मतदाताको मतदान गर्ने शैली हेर्ने हो भने राजनीतिक दललाई भन्दा व्यक्तिलाई हेरेर निर्णय गर्ने परम्परा छ । झापाको हरेक स्थानीय तह र संसदीय निर्वाचनमा मतदाताहरु चलायमान वा परिवर्तनशिल देखिन्छन् ।
शर्माको झापा १ बाट प्रतिनिधि सभा सदस्य हुने चाहना तेश्रो पटक हो तर खरेलको प्रतिष्पर्धात्मक राजनीतिमा यो पहिलो ईन्ट्रि हो ।
आफ्नैबाट कसरी खतरामा छन खरेल ?
राजधानीमा करिव तीन दशकदेखि कानून व्यवसाय गरेका खरेल अघिल्लो निर्वाचनमा आफ्नो पुरानो घर गौरादह भएको भन्दै झापा क्षेत्र नम्वर ५ बाट उम्मेदवार बन्न चाहन्थे । तर, एमालेको आन्तरिक राजनीति गिजोलिएपछि पछि हटेका थिए ।
०७४ को स्थानीय तहको निर्वाचनमा आफू निकटकाका एक व्यक्तिलाई गौरादह नगरपालिकाको प्रमुखमा खरेलले उम्मेदवार बनाए र ति व्यक्ति पराजित भए । त्यसपछि झापा ५ खरेललाई छाडेर भक्तपुर २ मा मतदाता नामावली सारेर भक्तपुरबाटै उम्मेदवार हुने योजना उल्टाएका थिए ।
एमाले अध्यक्ष ओलीको निगाहमा २०६३ मा पुनःस्थापित प्रतिनिधिसभाको सदस्य र २०६४ मा मन्त्रिपरिषद्को निर्णयबाट संविधान सभा सदस्यमा मनोनित, २०७० मा एमालेबाट सामानुपातिक सांसद हुँदै कानून मन्त्री भएका खरेल २०७४ मा प्रधानमन्त्री बनेका ओलीको नियुक्तिमा महान्यायाधीवक्ता भएका थिए ।
झापा ५ बाट राजनीतिमा सक्रिय हुने चाहना राखे पनि त्यहाँ पूर्वसांंसद तथा एमाले झापा जिल्ला कमिटी अध्यक्ष दिपक कार्की, पोलिटव्युरो सदस्य हिक्मत कार्कीका कारण झापा २ बाट राजनीतिक गर्न तीन वर्ष अघि खरेलले विर्तामोठमा घर खरिद गरेका थिए । तर उनलाई झापाको जिल्ला राजनीतिमा नयाँ भएको भन्दै आलोचना हुँदै आएको छ ।
एमाले प्रदेश नम्वर १ का इन्चार्ज देवराज घिमिरेले झापा २बाट प्रत्यक्षमै चु्नाव लड्ने अडान लिएपछि खरेल झापा १ मा चुनाव लड्न पुगेका हुन् । खरेलको चाहना भने झापा २ बाटै चुनाव लड्ने थियो ।
तीन वर्षअघि आफू महान्यायाधीवक्त हुँदा चर्चित ३३ केजी सुन काण्डका मुख्य अभियुक्त चडामणी उप्रेति गोरे ज्वाईँ (बहिनीका श्रीमान) जोगाउन भगाएको आरोप लाग्ने गरेको छ । खरेलका छोरा निसान खरेलअमेरिकी सेनामा कार्यरत रहेको तर नेपालको नागरिकता त्याग नगरेको विषय केही समय अघि सार्वजनिक भएपछि खरेल झन बिबादमा तानिएका छन् ।
उनले आफ्नै छोरा अमेरिकी नागरिक भएको तर नेपाली नागरिकता त्याग गरेको वा नगरेको विषयमा अनविज्ञता प्रकट गरेका थिए ।एमाले अध्यक्ष ओलीसँग निटक भएर गलत सल्लाह दिएको र खरेलको इसारामा नचल्नेलाई अवसरबाट बञ्चित गर्न एमाले भित्रै रहेर भूमिका खेलेको आरोप लाग्ने गरेको छ ।
यस्तो छ झापा १ को अंग गणित
गत स्थानीय तहको निर्वाचनमा एमालेका वडाध्यक्षले पाएको मत ३१ हजार २३२ र राप्रपाले पाएको मत पाँच हजार नौं सय २२ जोड्दा ३७ हजार एक सय ५४ मत हुन आउँछ ।
सात महिनाअघिको जनमतलाई हेर्ने हो भने कांग्रेसको पक्षमा २४ हजार ५९ मत, माओबादी केन्द्रको पक्षमा तीन हजार ९०५, र नेकपा एसको पक्षमा एक हजार दुई सय ५३ मत परेको थियो । तीन वटै दलको मत जोड्दा २९ हजार ३७९ मत हुन आउँछ । यो हिसावले महामन्त्री शर्मा र खरेलबीच सात हजार ९३७ मतको फरक देखिन्छ ।
यो क्षेत्रमा अन्य दल वा स्वतन्त्र उम्मेदवारको प्रभाव र चर्चा त्यति धेरै छैन । खरेललाई पछि पार्न शर्माले स्थानीय तहमा एमाले र राप्रपाले पाएको मतबाट करिव चार हजार मत आफूतिर तान्नु पर्ने अवस्था देखिएको छ ।

