भिजिट भिसा विवादमा लेखकको राजीनामा नहुने निष्कर्ष, गृहमन्त्री संसदमै जवाफ दिने


काठमाडौं- भिजिट भिसा प्रकरणलाई लिएर चुलिएको राजनीतिक विवादको बीचमा गृहमन्त्री रमेश लेखकको राजीनामा अब तत्कालको एजेन्डा नरहने स्पष्ट भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा बालुवाटारमा बसेको सत्तारुढ एमाले र नेपाली कांग्रेसका शीर्ष नेताबीचको छलफलले यस्तो निष्कर्ष निकालेको हो।

छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री लेखक र एमालेका प्रमुख सचेतक महेश बर्तौलाको उपस्थिति थियो।

छलफलपछि महेश बर्तौलाले जानकारी दिएअनुसार, गृहमन्त्री लेखक आजकै संसद बैठकमा आफूमाथि उठेका आरोपको जवाफ दिने तयारीमा छन्।

सरकारले लेखकमार्फत संसदमा औपचारिक धारणा राख्ने तयारी गरेको छ। त्यसका लागि संसदको समय मागिने र त्यसकै भरमा राजीनामाको मागलाई तत्काल टार्ने रणनीति अपनाइने संकेत देखिन्छ।

भिजिट भिसा प्रकरणमा प्रतिपक्षले लेखकको राजीनामा माग गर्दै आएको छ। सोही विवादको प्रभाव स्वरूप बुधबार बिहान ११ बजेका लागि बोलाइएको संसद बैठक तोकिएको समयमा सुरु हुन सकेको छैन।

 

प्रतिक्रिया