


भिजिट भिसा प्रकरणबारे झलनाथ भन्छन्– धेरैको योजनामा धन्दा चलिरहेको छ

काठमाडौं- पूर्वप्रधानमन्त्री झलनाथ खनालले भिजिट भिसा प्रकरणमा धेरैको योजनासाथ धन्दा चलिरहेको आरोप लगाएका छन् ।
गणतन्त्र दिवसको अवसरमा नेकपा एकीकृत समाजवादीले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले एउटालाई मात्र बलिको बोको बनाएर अन्यलाई चोख्याउन खोजेको आरोप लगाए ।
‘अहिले एयरपोर्टको धन्दा कस्ता कस्ता हुने रहेछन् तपाईँहरूले देखिराख्नु भएको छ । धेरैको योजनाका साथमा धन्दा चलिरहेको छ । एउटालाई बलिको बोको बनाएर अरू चोखिन खोज्दै छन्’, उनले भने ।
खनालले अहिलेको गठबन्धन सरकार संविधान विरोधी भएकाले गणतन्त्र सुदृढ गर्न नसक्ने जिकिर गरे ।
देश देश अहिले गतिहीन अधोगतितिर गइरहेको भन्दै उनले किसानले सहज अवस्थामा मल, बिउ, प्रविधि र ब्याजदर पाउनै नसक्ने उनको भनाइ छ ।
‘मार्क्सवादी लेनिनवादी नेतृत्वको सरकार छ । कहाँ गयो मार्क्सवाद लेनिनवाद ? यसलाई मार्क्सवाद भन्न सकिन्छ ? सबै विदेशीको कब्जामा छ । जब किसानले फूल उत्पादन गर्छन् । कमिसनको चक्करमा विदेशी माला ट्रकका ट्रक ल्याउँछन् । विचरा यहाँका किसान हेरेको हेरै’, उनले भने ।

