प्रदेश १ का ११ जिससमा गठबन्धनको बहुमत

मोरङ, झापा र धनकुटा एमालेले जित्दा सुनसरी र सोलुमा कांग्रेसको बहुमत


काठमाडौं – स्थानीय तहको निर्वाचनमा तालमेल गरेर प्रतिष्पर्धामा उत्रिएका गठबन्धन दलले प्रदेश नम्वर १ का अधिकांस जिल्लामा बहुमत ल्याएका छन् । जसले गर्दा यो प्रदेशका १४ जिल्लामध्ये ११ वटा जिल्ला समन्वयन समिति गठबन्धनमा आबद्ध दलको पोल्टामा पर्ने भएको छ ।

सत्तारुढ गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेस एक्लैको सुनसरी र सोलुखुम्वुमा बहुमत प्रमुख–अध्यक्ष, उपप्रमुख–उपाध्यक्ष जित हासिल गरेको छ भने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले झापा, मोरङ र धनकुटामा एक्लै बहुमतमा छ । यी पाँच जिल्लामा भने एमाले र कांग्रेस एक्लैले जिल्ला समन्वय समिति गठन गर्ने निश्चित छ ।

मोरङ, झापा र धनकुटाबाहेकको जिल्लामा नेपाली कांग्रेस सबैभन्दा ठूलो दलको रुपमा स्थापित भएको छ ।

गठबन्धनआवद्ध दलले ताप्लेजुङमा जिल्ला समन्वय समिति गठबन गर्ने भएका छन् । जिल्लाको ८ गापा र १ नपामध्ये कांग्रेसले ४ प्रमुख र अध्यक्ष तथा २ उपाध्यक्ष ६, माओबादी केन्द्रले २ अध्यक्ष र ३ उपाध्यक्ष गरी ५ र नेकपा एसले १ उपाध्यक्ष जितेको छ । एमालेले भने ३ अध्यक्ष र ३ प्रमुख तथा अध्यक्ष गरी ६ जना मात्र निर्वाचित गर्न सफल भएको छ ।

पाँचथर जिल्लाका ७ गाउँपालिका र १ नगरपालिका गरी ८ वटा स्थानीय तहमा नेपाली कांग्रेसले ६ प्रमुख–अध्यक्ष र एक उपाध्यक्ष, माओबादी केन्द्रले एक अध्यक्ष र ५ उपप्रमुख–उपाध्यक्ष जितेर जिसस गठन गर्न बहुमत ल्याएका छन् । नेकपा एमाले भने १ अध्यक्ष र २ उपाध्यक्षमा सिमित भएको छ ।

इलामको ६ गाउँपालिका र ४ नगरपालिका गरी १० स्थानीय तहमा नेपाली कांग्रेसले ४ प्रमुख–अध्यक्ष, र ३ उपप्रमुख–उपाध्यक्ष गरी ६ जनालाई जिताएको छ । यहाँ नेकपा एसले एक प्रमुख र एक उपाध्यक्ष तथा जनता समाजबादी पार्टीले एक उपाध्यक्ष पदमा विजयी हासिल गरेको छ । कांग्रेस एक्लैलाई जिसस गठन गर्न इलाममा एक मत कम भएको छ ।
इलाममा एमालेले भने प्रमुख–अध्यक्ष ५ र उपप्रमुख–उपाध्यक्ष ५ गरी १० जना निर्वाचित गरेको छ ।

संखुवासभामा ५ नपा र ५ गापा गरी १० स्थानीय तहमध्ये नेपाली कांग्रेसबाट ६ प्रमुख–अध्यक्ष र ३ उपप्रमुख तथा उपाध्यक्ष गरी ९ जना विजयी भएका छन् । नेकपा एसबाट २ जना उपप्रमुख–उपाध्यक्ष र १ जना उपाध्यक्ष निर्वाचित भएका छन् । यहाँ गठबन्धनलाई जिसस गठनमा आरामदायी बहुमत छ । एमालेले भने प्रमुख–अध्यक्ष र उपप्रमुख÷उपाध्यक्षमा ४–४ गरी ८ जना मा सीमित भएको छ ।

तेह्रथुमका २ नगरपालिका र ४ गाउँपालिका गरी ६ स्थानीय तहमध्ये नेपाली कांग्रेसले प्रमुख–अध्यक्ष र उपप्रमुख र उपाध्यक्षमा ३–३ गरी ६ जनालाई निर्वाचित गराएको छ । यहाँ कांग्रेस एक्लैलाई बहुमत पुर्याउन १ मतको मात्रै कमी देखिन्छ । माओबादी केन्द्रले एउटा गाउँपालिकामा उपाध्यक्ष जितेर चित्त बुझाएको छ ।

कांग्रेसले माओबादी केन्द्रका एक मात्र उपाध्यक्षको साथ लिएर मात्रै जिसस बनाउन सकने देखिएको छ । एमालेबाट प्रमुख–अध्यक्षमा ३ जना र उपप्रमुख र उपाध्यक्षमा २ गुरी ५ जना निर्वाचित भएका छन् ।

भोजपुर जिल्लाका २ नगरपालिका र ७ गाउँपालिका गरी ९ वटा स्थानीय तहमध्ये नेपाली कांग्रेसबाट प्रमुख–अध्यक्षमा ३ जना र उपप्रमुख र उपाध्यक्षमा २ गरी ५ जना निर्वाचित भएका छन् । यो जिल्लामा माओबादी केन्द्रबाट प्रमुख–अध्यक्ष र उपप्रमुख–उपाध्यक्षमा २–२ गरी ४ जना निर्वाचित भएसँगै कांग्रेर माओबादी केन्द्रको गठबन्धनमा जिसस गठन हुने देखिन्छ ।
यो जिल्लामा १ जना अध्यक्ष स्वतन्त्रबाट निर्वाचित भएका छन् भने एमालेबाट प्रमुख–अध्यक्षमा ३ जना, उपप्रमुख र उपाध्यक्षमा ४ जना गरी ८ जना निर्वाचित छन् ।

खोटाङमा २ नगरपालिका र ८ गाउँपालिका गरी १० स्थानीय तह रहेका छन् । सत्तारुढ नेपाली कांग्रेसबाट प्रमुख–अध्यक्षमा ६ जना निर्वाचित गराएको छ भने उपप्रमुख र उपाध्यक्षमा ४ जना गरी १० जना निर्वाचित भएका छन् । सत्तारुढ गठबन्धनबाट नेकपा माओबादी केन्द्रका २ अध्यक्षमा र २ उपप्रमुख–उपाध्यक्षमा, जनता समाजबादी र नेकपा (एस) बाट १–१ गरी २ जना उपाध्यक्षमा निर्वाचित छन् ।
नेकपा एमालेले खोटाङ जिल्लाको स्थानीय तहमा प्रमुख–अध्यक्षमा र उपप्रमुख–उपाध्यक्षमा २–२ जना गरी ४ जना मात्र निर्वाचित गराउन सकेको छ ।

ओखलढुंगा जिल्लामा एक नगरपालिका र ७ गाउँपालिका गरी ८ वटा स्थानीय तह रहेका छन् । कांग्रेसले स्थानीय तहको ४ प्रमुख–अध्यक्षमा र ४ उपाध्यक्षमा निर्वाचित गराएर ८ ५० प्रतिशत बढी स्थान ओगटेको छ । तर यो जिल्लामा जिसस गठनका लागि उसलाई सत्तारुढ माओबादी केन्द्र, जनता समाजबादीबाट निर्वाचित १–१ गरी २ जनाको समर्थनको खाँचो छ ।
यो जिल्लामा स्वतन्त्र एक जना अध्यक्षमा निर्वाचित भएका छन् भने नेकपा एमाले १ अध्यक्ष र चार उपप्रमुख–उपाध्यक्षमा खुम्चिएकाे छ ।

यता उदयपुर जिल्लाका ४ नगरपालिका र ४ गाउँपालिका गरी ८ स्थानीय तहमध्ये कांग्रेसबाट ३ प्रमु्खमा र ४ उपप्रमुख–उपाध्यक्ष गरी ७ जना निर्वाचित भएका छन् । सत्तारुढ माओबादी केन्द्रले ३ जना अध्यक्ष मात्र विजयी गराएको छ भने नेकपा (एस)ले १ गाउँपालिकाको अध्यक्षलाई विजयी गराएको छ । सत्तारुढ गठबन्धनलाई यहाँ जिसस गठन गर्न आरामदायी बहुमत पुग्ने देखिन्छ । यो जिल्लामा एमाले १ प्रमुख र ४ उपप्रमुखमा सिमित भएको छ ।

सुनसरी र सोलुमा कांग्रेस एक्लैको बहुमत

सुनसरी जिल्लामा एक उपमहानगर, ५ नगरपालिका र ६ गाउँपालिका गरी १२ वटा स्थानीय तह छन् । कांग्रेसबाट प्रमुख–अध्यक्षमा ७ जना, उपप्रमुख र उपाध्यक्षमा ६ गरी १३ जना निर्वाचित भएकाले उसलाई जिसस गठन गर्न एक्लै आरामदायी बहुमत छ ।

एमालेबाट प्रमुख–अध्यक्षमा ३ जना, उपप्रमुख–उपाध्यक्षमा ५ गरी ८ जनामा सुनसरीमा विजयी भएका छन् । जसपाबाट अध्यक्षमा १, स्वतन्त्रबाट प्रमुखमा १, माओबादी केन्द्रबाट उपप्रमुखमा १ जना निर्वाचित भएका छन् ।

सोलुखुम्बु जिल्लाको १ नगरपालिका र ७ गाउँपालिकामध्ये कांग्रेसबाट ५ स्थानीय तहको प्रमुख–अध्यक्ष तथा उपप्रमुख– उपाध्यक्ष गरी १० जना निर्वाचित भएका छन् । यहाँ जिसस गठनको लागि कांग्रेसलाई सुविधाजनक बहमुत रहेको छ । यो जिल्लामा माओबादी केन्द्रले एक अध्यक्ष र २ उपाध्यक्ष जितेको छ । एमालेले भने एक अध्यक्ष र २ उपाध्यक्ष गरी गरी ३ जना लाई निर्वाचित गराएको छ ।

गठबन्धनलाई पराजित गर्दै एमाले बहुमतमा

एमालेले मोरङका १ महानगर, ८ नगरपालिका, ८ गाउँपालिका गरी १७ वटा स्थानीय तहमध्ये प्रमुख–अध्यक्षमा ९ र उपप्रमुख–उपाध्यक्षमा १२ गरी २१ जना निर्वाचित गराएर गठबन्धनलाई पराजित गर्दै जिसस गठनको लागि बहुमत ल्याएको छ ।

जिल्लामा कांग्रेसबाट ८ प्रमुख–अध्यक्षमा र ४ उपप्रमुख र उपाध्यक्ष गरी १२ जना निर्वाचित भएका छन् भने सत्तारुढ गठबन्धनमा रहेको दल माओबादी केन्द्रले १ जना मिक्लाजुङ गाउँपालिकाको उपाध्यक्षमा मात्र जितेर चित्त बुझाएको छ ।

यस्तै एमालेले झापाका ७ गापा र ८ नपामध्ये ७ प्रमुख–अध्यक्ष, तथा १० उपप्रमुख र उपाध्यक्ष गरी १७ जना विजयी गराएर एक्लै झापा जिसस गठन गर्ने हैसियत राखेको छ । झापा एमाले अध्यक्ष केपी शर्मा ओली, राप्रपा अध्यक्ष राजेनद्र लिङ्देन र कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको गृह जिल्ला हो ।

झापामा कांग्रेसले ६ प्रमुख–अध्यक्ष, तथा ३ उपप्रमुख र उपाध्यक्ष गरी ९ जना मात्र विजयी गराउन सफल भएको छ । यहाँ राप्रपाले प्रमुख–अध्यक्षमा २ जनालाई र उपप्रमुख÷उपाध्यक्षमा २ जनालाई जिताएको छ ।

झापा र इलाममा माओबादी केन्द्रले स्थानीय तहको प्रमुख–अध्यक्ष, वा उपप्रमुख र उपाध्यक्षमा जित्न सकेको छैन ।
एमालेले धनकुटा जिल्लाका ३ नगरपालिका र ४ गाउँपालिका गरी ७ स्थानीय तहमध्ये प्रमुख–अध्यक्षमा ३ जना, उपप्रमुख–उपप्रमुखमा ६ गरी ९ जना निर्वाचित गराएसँगै एक्लै जिसस गठनको हैसियत बनाएको छ । यो जिल्लामा कांग्रेसबाट प्रमुख–अध्यक्षमा ४ जना मात्र निर्वाचित छन् भने माओबादी केन्द्रले एक उपाध्यक्ष जितेको छ ।

प्रतिक्रिया