

भिजिट भिसाका नाममा यसरी हुन्छ मानव तस्करी, पूर्व डीएसपी पन्थी गरे खुलासा

काठमाडौं — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसाका नाममा भइरहेको मानव तस्करी, कागजात किर्ते र करोडौं रुपैयाँको अवैध लेनदेनबारे अनुसन्धान गर्ने क्रममा धम्की र सरुवाको सामना गरेका नेपाल प्रहरीका पूर्व नायव उपरीक्षक (डीएसपी) गोविन्द पन्थीले सार्वजनिक रूपमा मुख खोलेका छन्।
शुक्रबार सामाजिक सञ्जालमार्फत लामो विवरण सार्वजनिक गर्दै पन्थीले भिजिट भिसा प्रकरणमा संलग्न दलालदेखि उच्च सरकारी अधिकारीसम्मको नाम उजागर गरेका हुन्। उनका अनुसार सन् २०२३ को असोज १९ गते १६४१ वटा राहदानीसहितको शंकास्पद कागजात उपत्यका अपराध अनुसन्धान कार्यालयमा आएपछि उक्त अनुसन्धानको जिम्मा उनलाई दिइएको थियो।
पन्थीको नेतृत्वमा गरिएको अनुसन्धानमा ट्राभल एजेन्सी, कन्सल्टेन्सी, म्यानपावर कम्पनी, होटल, एयरलाइन्स, अध्यागमन, श्रम विभाग, प्रहरी अधिकारी र दलालहरूको संलग्नता भेटिएको थियो। अनुसन्धानकै क्रममा ३७ जनालाई नियन्त्रणमा लिइएको र मानव तस्करी, किर्ते तथा संगठित अपराध अन्तर्गत मुद्दा दर्ता गरिएको थियो।
उनले अनुसन्धानका क्रममा गृह मन्त्रालय र प्रधानमन्त्रीको सचिवालय तहसम्मका व्यक्तिहरूको संलग्नता भेटिएको दाबी गरेका छन्। उनका अनुसार दैनिक डेढदेखि दुई करोड रुपैयाँसम्म रकम असुल्ने गिरोह विमानस्थलमा सक्रिय थियो।
यस खुलासापछि उनलाई अनुसन्धानबाट हटाउँदै सरुवा गरिएको र त्यसमा तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठको संलग्नता रहेको उल्लेख गरेका छन्। सरुवा रोक्न तत्कालीन मेट्रो प्रमुख र हालका प्रहरी महानिरीक्षक(आइजीपी) दीपक थापाले प्रयास गरे पनि सफल हुन नसकेको पनि उनले बताए।
पन्थीले अहिलेको अख्तियार प्रमुख प्रेमकुमार राईलाई निष्पक्ष र गहिरो अनुसन्धानको आग्रह गर्दै, मानव तस्करी नियन्त्रण र सुशासन स्थापनाका लागि अधिकार सम्पन्न न्यायिक आयोग गठन गर्नुपर्ने धारणा राखेका छन्।

