सत्ता गठबन्धनको निर्णय विपरित झापामा राप्रपा र एमालेसँग तालमेल

दमकको मेयरमा राप्रपालाई र कचनकबलको उपाध्यक्ष एमालेलाई समर्थन


काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनमा रहेका दलकका शीर्ष नेताले गठबन्धनबाहेकका दलसँग तालमेल नगर्नु भनी गरेको निर्णय झापामा भने लागू नहुने भएको छ ।

आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलबीच मात्र गठबन्धन र तालमेल गर्नु पर्ने अन्यथा कारबाही गर्ने निर्णय शीर्ष नेताको बैठकले गरे पनि झापाका दुई स्थानीय तहमा गठबन्धनमा आवद्ध दलहरुले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग तालमेल गरेका छन् ।

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा नेपाली कांग्रेससहित गठबन्धनका सबै दलहरुले नगर प्रमुखको उम्मेदवार राप्रपाका राम थापालाई समर्थन गर्दै राप्रपालाई २ वडाध्यक्ष दिएर अन्य वडाको नेतृत्व आफूहरुले लिएका छन् ।

कांग्रेसले उपप्रमुखमा रेजिना भट्टराई प्रसाईंसहित ४ वटा वडाध्यक्ष लिएको छ भने नेकपा माओबादीले पनि ४ वडाध्यक्ष लिएको छ । दमकमा राष्ट्रिय जनमोर्चा, जनता समाजबादी र नेकपा एसलाई भने कुनै पनि वडा दिइएको छैन ।

राप्रपाले नगरप्रमुखसहित वडा नम्बर १ र ७ वडा, कांग्रेसले उपप्रमुखमा रेजिना भट्टराईसहित वडा नम्बर ३, ४, ५, र १० र माओवादीले वडा नम्बर २, ६, ८ र ९ लिएको छ ।

२०७४ को स्थानीय तह निर्वाचनमा दमकबाट रोम ओलीले जितेका थिए भने निकटतम प्रतिद्वन्दी राप्रपाका राम थापा थिए । माओबादीका गगन पुरी तेश्रो र कांग्रेसका ढुण्डी भण्डारीले चौथो धेरै मत पाएका थिए ।

को हुन राप्रपाका राम थापा ?

राप्रपाको १ नम्वर प्रदेश संयोजक समेत रहेका राम थापा विगत ३५ वर्षदेखि दमकको स्थानीय तह निर्वाचनमा प्रतिष्पर्धा गर्दै आएका छन् । उनी २०४३ सालको दमक नगरपञ्चायतको चुनावमा बलभद्र अधिकारीसँग पराजित भएका थिए ।

उनी २०४९ को दमक नगरपञ्चायतको चुनावमा पनि नगरपञ्चायतको अध्यक्षमा उम्मेदवार बनेर पराजित भएका थिए । तर, २०५४ को स्थानीय तहको निर्वाचन भने थापा दमकको १२ नम्वर वार्ड अध्यक्षमा निर्वाचित भए । उनी २०७४ सालको निर्वाचनमा रोम ओलीसँग पराजित भएका हुन् ।

यो पटक एमालेले नगर प्रमुखमा उम्मेदवार बनाएको गीता अधिकारी भने २०४३ सालमा प्रधानपञ्चमा उम्मेदवार हुँदा आफूलाई हराउने बलभद्र अधिकारीको भतिजी बुहारीसँग प्रतिष्पर्धा गर्ने निश्चित भएको छ ।

राम थापा राप्रपाको महाधिवेशनमा कमल थापाको प्यानलबाट प्रदेश १ को संयोजकमा उम्मेदवार बनेर विजय हासिल गरेका थिए । तर, उनी कमल थापाको राप्रपा नेपालमा नगइ राजेन्द्र लिङ्देनले नेतृत्व गरेको राप्रपामै बसेका छन् ।

लिङदेनकाे क्षेत्रमा कांग्रेस – एमाले तालमेल

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको क्षेत्रमा भने राप्रपालाई हराउन सत्तारुढ काँग्रेस र नेकपा एमालेबीच चुनावी तालमेल भएको छ । देशभरी मुख्य प्रतिस्पर्धी दल मानिएको एमालेसँग कचनकवल गाउँपालिकामा भने काँग्रेस र एमालेबीच तालमेल भएको हो ।
२०७४ को निर्वाचनमा राप्रपाले कचनकवलमा अध्यक्ष र उपाध्यक्ष सहित बहुमत वडा अध्यक्ष र सदस्य जितेको थियो । राप्रपाले अञ्जार आलमलाई अध्यक्षमा दोहोर्याएको छ भने निमसारी राजबंशीलाई उपाध्यक्षको उम्मेदवार बनाएको छ ।

कचनकबल गाउँपालिकाको अध्यक्षमा काँग्रेसले कालेन्द्रप्रसाद सिंह राजबंशीलाई उम्मेदवार बनाएको छ भने उपाध्यक्षमा एमालेका नवराज भट्टराईलाई समर्थन गर्ने भएको छ ।

राजबंशी २०७४ को चुनावमा राप्रपाका अञ्जार आलमसंग पराजित भएका थिए । कचनकवल गाउँपालिका कांग्रेसका नेता तथा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको निर्वाचन क्षेत्र पनि हो । कचनकबलकाे वडाहरूमा भने गठबन्धन दलका कांग्रेस र माओबादीले छुट्टा छुट्टै प्यानल बनाएर प्रतिष्पर्धामा उत्रिएका छन् ।

२०७४ मंसिरमा भएको प्रदेश र संघीय संसदको निर्वाचनमा नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बीच तालमेल भएको थियो । झापामा भने राप्रपाले कांग्रेसले धोका दिएर नेकपा एमालेसँग तालमेल गरेको थियो ।

जसले गर्दा झापाका ६ वटै सिटमा कांग्रेस पराजित भएको थियो । सिटौलाको निर्वाचन क्षेत्रमा उनीविरुद्ध एमाले, माओबादी र राप्रपाले एउटै उम्मेदवार उठाएका थिए ।

‘काठमाडौंमा पार्टीका शीर्ष नेताले कुन दलसँग तालमेल गर्न हुन्छ कुन सँग हुँदैन भनेर पहिले भन्नु पर्दथ्यो,’ झापा कांगे्रसका सभापति देवमान थेवेले भने, ‘हामीले दमकको मेयर र कचनकबलको उपाध्यक्षमा कसैलाई उम्मेदवार बनाएकै छैनौं, अब कसलाई भोट हाल्ने ?’ उनले शीर्ष नेताहरुको निर्णय ढिलाई भएकाले झापाको हकमा कायान्वयन हुन नसक्ने बताए ।

माओबादी झापाका नेता गगन पुरीले नेकपा एमालेका अध्यक्ष ओलीको गृह जिल्ला दमकमा हामी कमजोर भएकाले एमालेको उम्मेदवारलाई हराउन आफूहरुले राप्रपालाई मेयर दिएर तालमेल गरेको बताए । पाँच दलिय गठबन्धनको निर्णय कार्यान्वयन हुने स्थित नरहेको अवस्थामा गठबन्धनसँग सम्बन्धित कुन दलले कसलाई कारबाही गर्ने हो भन्ने विषय स्पस्ट छैन ।

प्रतिक्रिया