२० वर्षदेखि अधिवेशन नगरी सभापतिः मुश्लिम र मगर संघबाहेक ११ संघ अवैधानिक

लोकतान्त्रिक पार्टी कांग्रेसका भ्रातृ संस्था भद्रगोल


काठमाडौं – नेपालको सबैभन्दा जेठो र ठूलो लोकतान्त्रिक दल नेपाली कांग्रेसको नेतृत्वप्रति यदाकदा टिप्पणी भए पनि पार्टीका संस्थागत निर्णय लोकतान्त्रिक मुल्य मान्यता अनुरुप भएको आमरुपमा स्वीकारिन्छ । संविधान जारी भएपछि पार्टीका संगठनात्मक संरचना संघीयता बमोजिम निर्माण गर्ने थोरै दलमध्ये कांग्रेस एक हो । तर, यही पार्टीका भ्रातृ संस्था भने अबैधानिक छन् ।

पार्टी वा पार्टीको भ्रातृ संस्था कति लोकतान्त्रिक छ भन्ने कुरा उसले बिधान बमोजिम नेतृत्व चयन र नीति बनाउन अधिवेशन गरेको छ कि छैन भन्ने कुराले निर्धारण गर्छ । कांग्रेसको मेरुदण्ड मानिएका भ्रातृ संस्थाहरु दुईलाई छाड्ने हो भने सबै संस्थाले नियमित महाधिवेशन गरेका छ्रैनन् । ती अबैध ढंगले चलिरहेका छन् ।

नेपाल किसान संघको महाधिवेशन नभएको २० वर्षभन्दा बढी भयो । संघका तत्कालिन अध्यक्ष सूर्यभक्त अधिकारीको ०५७ मा निधनपछि भानुभक्त सिग्देल अध्यक्ष छन् । तर उनले हालसम्म कुनै महाधिवेशन गरेका छैनन् । किसान संघका पदाधिकारी को को हुन भन्ने विवरण समेत पार्टीमा छैन । सिग्देल संघको तदर्थ कार्यसमितिका अध्यक्ष हुन् ।

कांग्रेसको अर्को भ्रातृ संस्था हो – नेपाल आदिवासी जनजाति संघ, जसको तदर्थ समिति अध्यक्ष हुन इन्द्रबहादुर (आईबी) गुरुङ । उनी संघको अध्यक्ष भएको २० वर्षभन्दा बढी भयो । कांग्रेसबाट अलग भएर कांग्रेस (प्रजातान्त्रिक) गठन हुँदा उनी त्यतै लागे ।

२०६४ मा कांग्रेस र कांग्रेस प्रजातान्त्रिकबीच एकीकरणपछि उनी पुनः एकीकृत संघको अध्यक्ष भए । संघको हालसम्म महाधिवेशन भएको छैन् । उनले राजिनामा दिएको भन्दै आएका छन् ।

कांग्रेसको १३ वटा भ्रातृ संस्थामध्ये लठिबद्र बनेको संगठन हो – नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल तामाङ संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ र नेपाल ठाकुर समाज । चार वटै संघको महाधिवेशन नभएको १२ वर्षभन्दा बढी भयो ।

२०४९ मा स्थापना भएको प्रजातन्त्र सेनानी संघको महाधिवेशन १५ वर्षदेखि भएको छैन । संघको तदर्थ समितिका सभापति भएका बागलुङ्गका टंकप्रसाद शर्मा कँडेलले पहिले कार्यवाहकको जिम्मेवारी पाएका थिए तर आफू अध्यक्ष भएपछि एक पटक पनि महाधिवशेन गर्न सकेका छैनन् ।

स्थापनाकालदेखि महाधिवेशन नगरी अध्यक्ष हुनेहरु

२०६६ साल बैशाख २१ गते स्थापना भएको नेपाल तामाङ संघको अध्यक्ष ललितपुरका कबेलबहादुर तामाङ हुन् । उनले हालसम्म संघको एउटा पनि महाधिवेशन गर्न सकेका छैनन् ।

सोही मितिमा कांग्रेसले राष्ट्रिय लोतान्त्रिक अपाङ्ग संघलाई पार्टीको भ्रातृ संस्थाको मान्यता दियो । संघका अध्यक्ष बनेका सिन्धुपाल्चोकका भोजराज श्रैष्ठ पनि हालसम्म महाधिवेशन नगरी अध्यक्ष बनेका छन् ।

२०६७ बैशाखमा कांग्रेसले नेपाल ठाकुर समाजलाई भ्रतृ संस्थाको मान्यता दियो । समाजको तदर्थ समितिको अध्यक्ष बनेका थिए, झापाका अनिरुद्रप्रसाद ठाकुर । संस्था स्थापना कालदेखि नै ठाकुर अध्यक्ष छन् । उनी झापा क्षेत्र नं. ५ मा महाधिवेशन प्रतिनिधिको उम्मेदवारमै पराजित भएका थिए ।

पार्टीको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेससँग आवद्ध राजाराज ठाकुर नेतृत्वको नेपाल नाई संघ हुँदा हुँदै अनिरुद्रप्रसाद नेतृत्वको समाजलाई मान्यता दिएकोमा पार्टी भित्र र बाहिरबाट पनि आलोचना हुँदै आएको छ ।

नेपाल भूतपूर्व सैनिक संघको पाँचौं महाधिवेशन २०७३ सालमा भएको पाँच वर्ष बित्यो तर छैठौं महाधिवेशनको तयारी छैन । भूपू सैनिक संघका अध्यक्ष धनबहादुर मास्की राना हुन् ।

संगठन छाडेर केन्द्रीय सदस्य बन्ने यी ४ अध्यक्ष

कांग्रेसका चार वटा भ्रातृ संस्थाका अध्यक्षले संगठनलाई भन्दा आफ्नो व्यक्तिगत महोत्वकांक्षालाई प्राथमिकता दिएका छन् । जसको ज्वलन्त उदाहरण हो – संगठनको महाधिवेशन नगरी लठिबद्र छाडेर आफू भने मातृ पार्टी नेपाली कांग्रेसको केन्द्रीय सदस्य बन्नु ।

यसरी संगठनलाई मजबदु बनाउन छाडेर पार्टीको केन्द्रीय सदस्य बन्नेहरुमा दलित संघका अध्यक्ष मीन विश्वकर्मा, महिला संघ अध्यक्ष उमा रेग्मी, तरुण दल अध्यक्ष जीतजंग बस्नेत र नेविसंघ अध्यक्ष राजिप ढुंगाना हुन् । कांग्रेसको बिधान अनुसार केन्द्रीय समितिमा निर्वाचित भएका पार्टीको भ्रातृ संस्थाको अध्यक्षले दुईमध्ये एउटा मात्र पद रोज्नु पर्छ । चारै नेताले संगठनलाई लात मार्दै पार्टीमा झुण्डिन पुगेका छन् ।

नेपाल दलित संघको २०६९देखि महाधिवेशन भएको छैन् । २०५४मा स्थापित संघको दुई पटक महाधिवेशन भएपछि तेश्रो महाधिवशेनको घोषणा हुँदै स्थगित भएको पनि ६ वर्ष बढी भईसकेको छ । ९ वर्षदेखि महाधिवेशन हुन नसकेपछि अध्यक्ष मीन विश्वकर्माले कांग्रेसको महाधिवेशनको मुखमा गत मंसिर १० गते पदबाट राजिनामा समेत दिएका थिए ।

दलित संघको अध्यक्ष भएपछि मात्र विश्वकर्माले पार्टीको १३औं महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार भएर विजय हासिल गरे भने १४औं महाधिवेशनपछि फेरि केन्द्रीय सदस्यमा मनोनित भइसकेका छन् ।

नेपाल विद्यार्थी संघका, नेपाल महिला संघ र नेपाल तरुण दलको महाधिवेशन नभएको ६ वर्ष भइसकेको छ । नेविसंघको विधान अनुसार २ वर्षे कार्यकाल समाप्त गरेका नैनसिंह महर र त्यसपछि संघको तदर्थ समिति अध्यक्ष भएका राजिप ढुंगाना दुवैजना पार्टीको १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

नेपाल तरुण दलको महाधिवेशन २०७३ सालमा भएपछि हालसम्म कुनै अधिवेशन भएको छैन । पाँच वर्षसम्म ४ जना केन्द्रीय पदाधिकारीले चलाएको तरुण दलले पूर्णता नपाई आफ्नो कार्यकाल समाप्त गरेको छ । तरुण दल अध्यक्ष जीतजंग बस्नेत केन्द्रीय सदस्यमा निर्वाचित भएपछि तरुण दलको केन्द्रीय तह रिक्त छ । अध्यक्ष बस्नेत पार्टी केन्द्रीय सदस्यमा निर्वाचित भइसकेका छन् ।

नेपाल महिला संघको २०७३ साल असोजमा अधिवेशन भएपछि आफ्नो अधिवेशन गर्न सकेको छ्रैन । महिला संघकी महासचिव धना खतिवडा राष्ट्रिय सभाको सदस्य भएर ४ वर्षे कार्यकाल पुरा गरिसकेकी छन् भने अध्यक्ष उमा रेग्मी पार्टी केन्द्रीय सदस्य र सरकारको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भएकी छन् ।

उनी पार्टी केन्द्रीय सदस्य भएसँगै महिला संघको केन्द्रीय समिति पनि स्वत निष्कृय भएको छ । तीन वर्षे कार्यकाल समाप्त भएको दुई वर्ष विते पनि महिला संघको महाधिवशेन हुने अत्तोपत्तो छैन।

मुश्लिम र मगर संघ मात्र बैधानिक

नेपाली कांग्रेसका १३ वटा भ्रातृ संस्थामध्ये नेपाल मुश्लिम संघ र नेपाल राष्ट्रिय मगर संघ मात्र बिधान बमोजिम नियमित महाधिवेशन गरेर चलिरहेका छन् ।२०६६ मा स्थापित मुश्लिम संघको गत २०७५ बैशाख १५ देखि भएको महाधिवेशनबाट अब्दुल सतार अध्यक्षमा निर्वाचित भएका हुन्, जुन कार्यसमिति १०६सदस्यी छ ।

२०६६ बैशाख २१ मा स्थापना भएको मगर संघको २०७५ मा महाधिवेशन भएको थियो । जुन महाधिवेशनबाट ओम थापा मगर अध्यक्षमा निर्वाचित भएका थिए ।

विधान बमोजिम तीन वर्षे कार्यकाल यिनीहरुले पनि गुजारी सकेका छन् । तर कोरोना संक्रमणको कारण देखाउँदै दुवै संघले अर्को महाधिवेशनको मिति तोकेका छैनन् । आगामी बैशाखदेखि यी दुवै संघ पनि बैधानिकता गुमाउँदैछन् ।

प्रतिक्रिया