काठमाडौं जिल्ला समन्वय समिति प्रमुखमा कांग्रेसका बुढाथोकी र उपप्रमुखमा पाण्डे निर्वाचित


काठमाडौं – जिल्ला समन्वय समिति (जिसस) काठमाडौंको प्रमुखमा नागार्जुन नगरपालिका वडा नं. १० का सन्तोष बुढाथोकी निर्विरोध निर्वाचित भएका छन् । यस्तै जिसस काठमाडौंको उपप्रमुखमा शान्ती पाण्डे पनि निर्विरोध निर्वाचित भएकी छन् ।

यस्तै सदस्यहरुमा नेपाली कांग्रेसका उम्मेदवार कीर्तिपुर नगरपालिकाका नरेन्द्र श्रेष्ठ, टोखा नगरपालिकाका राजकुमार विडारी र तारकेश्वर नगरपालिकाका सुदिप घिमिरे सर्वसम्मतले निर्वाचित भएको छ ।

जिल्ला समन्वय समिति काठमाडौंको दलित अल्पसंङ्ख्यक कोटाबाट सदस्यमा भने नेकपा एमाओबादी केन्द्रकी सपना परियार निर्बिरोध विजयी भएकी छन् । निर्वाचनका लागि मनोनयन दर्ताको समयमा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवारी दिएका बुढाथोकी निर्विरोध निर्वाचित बनेका हुन् ।

काठमाडौं जिल्लाको १ महानगर र १० नगरपालिकामा कांग्रेसले ७ नगर प्रमुख र ५ उपप्रमुखसहित १२ जनासहित जिसस गठनको लागि बहुमतमा थियो । काठमाडौंका २ नगरपालिकाको प्रमुख र ७ नगरको उपप्रमुखसहित एमालेको ९ मत मात्र थियो । जिल्लाको महानगर प्रमुख स्वतन्त्र र एउटा नगरको प्रमुख राप्रपाले जितेको छ ।

प्रतिक्रिया