


यी हुन् मन्त्रिपरिषद् बैठकका १८ निर्णय

काठमाडौं- नेपाल सरकारले पुल सुधार तथा मर्मतका लागि विश्व बैंकबाट प्राप्त हुने करिब २० अर्ब ७९ करोड नेपाली रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विश्व बैंकबाट प्राप्त हुने ऋण स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका हुन् ।
यस्तै, बैठकले दक्षिण कोरिया सरकारबाट बर्दिया जिल्लामा सञ्चालन हुने समावेशी ग्रामीण विकास परियोजनाका लागि प्राप्त हुने करिब १ अर्ब ८ करोड ८० लाख नेपाली रूपैयाँ अनुदान सहायता स्वीकार गरेको पनि उनले जानकारी दिए ।
यस्ता छन् सरकारका निर्णय :
– पुल सुधार तथा मर्मत कार्यक्रम तेस्रो चरणको लागि विश्व बैंकबाट प्राप्त हुने करिब २० अर्ब ७९ करोड नेपाली रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने ।
– दक्षिण कोरिया सरकारबाट बर्दिया जिल्लामा सञ्चालन हुने समावेशी ग्रामीण विकास परियोजनाका लागि प्राप्त हुने करिब १ अर्ब ८ करोड ८० लाख नेपाली रुपैयाँ अनुदान सहायता स्वीकार गर्ने ।
– विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट रणनीतिक सडक सञ्जाल तथा व्यापारिक मार्ग सुधार आयोजनाका लागि उपलब्ध हुने करिब २९ अर्ब ७२ करोड नेपाली रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने ।
– मत्स्यपालन अनुदान सम्बन्धी विश्व व्यापार संगठन सम्झौता अनुमोदनको लागि संघीय संसदसमक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने ।
– वैदेशिक रोजगार न्यायाधिकरणको अध्यक्ष पदमा उच्च अदालत पाटन, हेटौंडा इजलासका माननीय न्यायाधीश डा. श्री शान्ता सेढाई सापकोटालाई तोक्ने ।
– सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव श्री पाराश्वर ढुङ्गानालाई कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिव पदमा सरुवा गर्ने ।
– सशस्त्र प्रहरी नायव महानिरीक्षक श्री गणेशबहादुर ठाडा मगरलाई सशस्त्र प्रहरी बल, नेपालको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा नियुक्त गरी पदस्थापन गर्ने ।
– २०८२ असार १६ गतेदेखि २१ गतेसम्म सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा स्पेनको औपचारिक भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने ।
– नेपाल सरकारको नाममा दर्ता रहेको १० रोपनी जग्गा १५ शय्याको अस्पताल निर्माण गर्न आँबुखैरेनी गाउँपालिका, तनहुँलाई प्रयोग गर्न दिन स्वीकृति दिने ।
– जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, चितवनलाई २ बिघा, १३ कठ्ठा १५ धुर सार्वजनिक प्रकृतिको जग्गा सय शय्याको आयुर्वेद अस्पताल निर्माणका लागि प्रयोग गर्न स्वीकृति दिने ।
– २०८२ असार १३ गतेदेखि १५ गतेसम्म टर्कीमा आयोजना हुने ग्लोवल ट्रान्सपोर्ट कनेक्टिीभिटी फोरम २०२५ कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री माननीय देवेन्द्र दाहाललाई सहभागी हुन स्वीकृति प्रदान गर्ने ।
– २०८२ असार ३ गतेदेखि ४ गतेसम्म दुबईमा आयोजना हुने खेलकुदमा एन्टी–डोपिङ (एओआरआइएम) सम्बन्धी २० औँ एशिया/ओशिनिया क्षेत्र अन्तर–सरकारी मन्त्रीस्तरीय बैठक विषयक कार्यक्रममा सहभागी हुन युवा तथा खेलकुद मन्त्री माननीय तेजुलाल चौधरीलाई स्वीकृति प्रदान गर्ने ।
– २०८२ असार ९ र १० गते भारतको पुणेमा आयोजना हुने नेपाल–भारत द्विपक्षीय परामर्श समूहको सोह्रौं बैठकमा नेपालका तर्फबाट सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने ।
– मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए) लाई ४०० के. भी. डवलसर्किट विद्युत् प्रसारणलाइन आयोजना निर्माणको लागि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाको सुनवल नगरपालिका, रामग्राम नगरपालिका र बर्दघाट नगरपालिकामा रहेको राष्ट्रिय वनको ४३.६६ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने ।
– २०८२ असार २३ गतेदेखि २७ गतेसम्म स्वीट्जरल्याण्डको जेनेभामा सञ्चालन हुने वल्र्ड समिट अन द इन्फरमेसन सोसाइटी फोरम हाई लेभल इभेन्ट तथा एआई फर गुड ग्लोवल समिट २०२५ कार्यक्रममा सहभागी हुन सञ्चार तथा सूचना प्रविधिमन्त्री माननीय पृथ्बी सुब्बा गुरुङलाई स्वीकृति प्रदान गर्ने ।
– २०८२ असार ९ गतेदेखि १३ गतेसम्म थाइल्याण्डको बैंककमा आयोजना हुने थर्ड मिनिस्ट्रियल कन्फ्रेन्स अन सिभिल रजिस्ट्रेसन एन्ड भिटल स्टाटिजक्सि इन एसिया एन्ड द प्यासिफिक कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री माननीय प्रदीप पौडेललाई सहभागी हुन स्वीकृति प्रदान गर्ने ।
– इन्टरनेसनल बिग क्याट एलाइन्सको सदस्यता प्राप्त गर्न स्वीकृति प्राप्त गर्ने ।
– नेपाल प्रशासन सेवा समुहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त पदमा राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव डा. खगेन्द्रप्रसाद सुवेदीलाई बढुवा गर्ने ।
– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव श्री निर्मला अधिकारी भट्टराईलाई सत्य निरुपण तथा मेलमिलाप आयोगको सचिव पदमा कायममुकायम मुकरर गर्ने ।

