प्रचण्डले सिध्याईदिए एमाले, जबज थोत्रो मादल!


टिप्पणी

काठमाडौं– ‘म एकता र विभाजन गर्दै आएको मानिस हुँ। मसालदेखि मेरो यात्रा त्यहि छ। अहिले नेकपासम्मको परिदृश्य त्यसरी देखिन्छ’, कान्तिपुर कनक्लेभमा पुष्पकमल दाहाल प्रचण्डले सुधीर शर्मासँग भनेका थिए,‘अब यो नेकपा पनि विघटन हुन्छ, मैले गर्ने हो।’

उनले यति मात्र भनेनन्, त्यसबेला। तत्कालिन माओवादी केन्द्र र एमाले पनि विघटन गराउने भूमिका आफैंले खेलेको र त्यसको परिणाममा नेकपा बनेको दाबी गरेका थिए।

प्रचण्ड कम्युनिस्ट राजनीतिमा दुई लाइन संघर्षको उपयोगिताको अभ्यासमा निपूर्ण खेलाडी हुन्। पहिलो संविधानसभाको चुनावपछि ठूलो जनमत पाएर शान्ति प्रक्रियाको बाटोमा आएका बेला तत्कालिन एकीकृत माओवादीमा उनले मोहन वैद्य किरण र डा. बाबुराम भट्टराईबीच लामो खेल खेलिदिए। सँधै नेतृत्वमा नै रहे। अहिले उनीहरू दुबै जना प्रचण्डसँग छैनन्। मोहन वैद्य संगठनशुन्य जस्तो अवस्थामा क्रान्तिकारी कम्युनिस्ट पार्टीका नाममा छन् भने डा. भट्टराई जनता समाजवादी पार्टीमा अलमलिरहेका छन्।

दोस्रो संविधानसभामा प्रचण्डको पार्टीले ठूलो हारको क्षति सामना गरेको थियो। जसका कारण उनी तेस्रो शक्तिका रुपमा त आए तर बलियो शक्ति बन्न सकेनन्। सो बेला संसदीय प्रणालीमा आफूलाई अब्बल गठजोडका रुपमा शेरबहादुर देउवा नेतृत्वको कांग्रेस र केपी शर्मा ओली नेतृत्वको एमालेबीचको संसदीय शक्ति संघर्षमा खेलिदिए।

‘प्रचण्डको राजनीतिक अन्तरसंघर्षमा कसरी खेल्नुपर्छ भन्ने स्पष्ट भिजन छ। उनलाई नेपालका संसदीय राजनीतिमा रमाएका नेतालाई पदको लोभ दिए मज्जाले चलाउन सकिन्छ भन्ने थाहा छ’, जानकारहरू भन्छन्,‘यो उपयोगवादी सिद्धान्तमा प्रचण्ड स्पष्ट छन्।’

एकता र विभाजन प्रचण्डको राजनैतिक कौटिल्यताका रुपमा देखा पर्दै आएको अभ्यास हो। तल्लो तहसम्म संगठित भएको नेकपा एमालेसँग एकीकरण गर्नु, त्यसको संरचना भत्काएर नेतृत्वमा आफू उदाउनु नै प्रचण्डको चालचलन थियो। जसमा उनी अहिले आशिंक सफल त भएका छन्, त्यसलाई पूरा गर्ने अभ्यासमा अझै लागि परेका छन्।

एमालेको संगठनात्म संरचनालाई हुत्याउनका लागि उनले पहिलो चरणमा ओलीलाई प्रधानमन्त्री पदका लागि आकर्षक अफर दिएका थिए। एकीकरणपछिका समयमा अहिले ओली र नेपाल कित्ताको अन्तरसंघर्षमा पनि पदहरू बाँडेका छन्। अहिलेको अवस्था आउनुअघि सहजै हिसाबमा सत्ता हातमा ल्याउने सोचेका प्रचण्डले नेपाललाई अध्यक्ष र झलनाथ खनाललाई राष्ट्रपति पदको लोभ र लालचको घेराबन्दीमा पारेका थिए।  

त्यसअघि नेकपाभित्र संक्रमणकालिन अवस्था र विवाद सृजना गर्न उनले उपाध्यक्ष बामदेव गौतमको उपयोग लामो समयसम्म गरेका थिए। तर गौतमबाट पार नलागेपछि उनले पदीय लोभ र लालचको आशा दिएर माधवकुमार नेपाल र झलनाथ खनाललाई आफ्नो कित्तामा उभ्याए।

‘एक हदसम्म एमाले अब विभाजन भइसकेको छ। जसमा प्रचण्डले सफलता पाएको देखिन्छ’, जानकारहरू भन्छन्,‘अहिले संसद विघटनसम्मको अवस्था र त्यो कलंकको जिम्मेदार पनि पूर्वएमाले रहेको उनले प्रस्ट बनाइसकेका छन्।’

यसअघि आन्तरिक विवादका विषय धेरै थिए। कहिले स्कुल विभागको नियुक्ति, कहिले सैद्धान्तिक मार्गचित्र जनताको बहुदलीय जनवादको साटो जनताको २१ औं शताब्दिको जनवादलाई विवादको कारण बनाएका थिए।

‘प्रचण्डले जबजलाई पनि थोत्रो मादल बनाइदिएका छन्। नेपाल, खनाललगायतले अहिले कुनै पनि प्रकारका सैद्धान्तिक कुरामा छैनन्’, जानकार भन्छन्। पछिल्लो पटक पार्टी कब्जामा प्रचण्डको रणनीति पत्तो पाएका ओली पक्षधरले अहिले एकीकरणको तीन महिनादेखि नै प्रचण्ड यो अभ्यासमा लागेको ठम्याउन थालेका छन्।

प्रतिक्रिया