

ओली भारतको इशारामा चल्ने नेता होइनन्ः प्राध्यापक एसडीमुनि

काठमाडौं – नेपालको पछिल्लो राजनीतिक घटनाक्रमको औपचारिक रुपमा भारतले कुनै प्रतिक्रिया दिएको छैन तर पनि काठमाण्डूका हरेक राजनीतिक घटनालाई नजिकबाट हेर्ने केही भारतीय विज्ञहरूले भने मिश्रित प्रतिक्रिया दिएका छन्।
नेपाल मामिलाविज्ञ तथा भारतीय सेनाका एकजना अवकासप्राप्त अधिकारी जनरल अशोक मेहताले नेपालमा ‘बढ्दो चिनियाँ प्रभावबीच पाँच वर्ष ओलीलाई चलाउन नसकिने सोचेको भारतका लागि विकसित अवस्था राम्रो’ रहेको बताएका छन्।
“ओलीले भारतलाई समेत चकित पारिदिएका छन्,” मेहताले बीबीसी नेपालीसँग कुरा गर्दै भने। “तर नेपालको हरेकखाले अस्थिरताको असर भारतमा पर्छ।”
नेपालविज्ञका रूपमा चिनिएका प्राध्यापक एसडी मुनीले भारतको नेपालमा गहिरो हिस्सेदारी रहेको र उसले चीनको प्रभाव बढेको देख्न नचाहनु स्वभाविक भए तापनि ओली भारतको इशारामा चल्ने व्यक्ति नभएको विगतले देखाइसकेको बताउँछन्।
“नयाँ नक्सा जारी नगर्न, सीमा विवादलाई ठूलो बिषय नबनाउन आग्रह गर्दागर्दै पनि भारतले ओलीलाई रोक्न सकेन,” मुनीले भने।
“भारतमा केही मानिसहरू छन् जसले नेपालमा राजतन्त्र फिर्ता गर्न चाहन्छन्, हिन्दू राष्ट्र बनाउन चाहन्छन्। तिनको सरकारमा आफ्नै प्रभाव र हिस्सेदारी पनि होला। तर भारतको वृहत स्वार्थ भनेको नेपालमा प्रजातन्त्र बलियो हुनु नै हो।”

