

विषयविज्ञताको नाममा ‘कलंकको टीको’ लगाउँदै रवि लामिछाने !

गत मंसिर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी अर्थात् रवि लामिछानेको पार्टीले राजनीतिलाई पेशा बनाएकाहरुले अपेक्षा गरे भन्दा फरक मत प्राप्त गर्न सफल भयो ।
लामो समयको अमेरिका बसाईपछि नेपाल फर्किएका रवि सञ्चार उद्यममा छिरे । उनले अन्तरर्वार्ताकारै रुपमा ‘गिनिज बुक’मा समेत रेकर्ड राखे । सञ्चारकर्मीबाट उद्यमीका रुपमा टेलिभिजनको स्थापना गरे ।
सञ्चारक्षेत्रलाई नै उनको अन्तिम पेशा देख्न चहाने दर्शकहरुलाई असमञ्जसमा पार्दै रविले करिब ६ महिना अगाडि सञ्चारउद्यमलाई राजनीतिमा मोड्ने घोषणा गरे । उनका आजावबाट न्याय पाएकाहरुले उनलाई गुनको बदला मत दिए । सोही अनुरुप सञ्चारक्षेत्रमा पाएको वाहवाहलाई राजनीतिमा प्रवेश गराउँदै गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा उनले अनपेक्षित जित हात पारे । नकि उनले मात्रै होइन कि उनका दलका नामबाट उम्मेदवारी दिएका अन्य ६ जनाले पनि जित हात पारे । पहिलो प्रयासमै मुलुकको चौथो ठूलो राजनीतिक दलका रुपमा संसद पसे । यद्यपि प्रदेशको अस्तित्व अस्वीकार गर्दै प्रदेशतर्फ भने उम्मेदवारी दिएको थिएन । यदि प्रदेशमा उम्मेदवारी दिएको भए बागमती प्रदेशमा स्पष्ट बहुमत ल्याउने रहेछ भन्ने अनुमान अहिले गर्न सकिन्छ ।
कतिपय उम्मेदवारलाई रविको ‘पपुलारिजम’मा विश्वास थियो, भने रविलाई कतिपय उम्मेदवारको ‘पपुलारिजम’मा । त्यसैले पहिले स्वतन्त्र रुपमा घोषणा गरे पनि अन्तिममा आएर रविको सहारा लिए भने रविले पनि स्वतन्त्र र लोकप्रिय व्यक्तिलाई अटाए । त्यसमध्येमा काठमाडौं-१ बाट पुकार बमले पराजय ब्यहोरे भने ललितपुर-३ बाट डा. तोसिमा कार्कीले बाजी मारिन् ।
कांग्रेस छाडेर एमालेले दिएको बैशाखी टेकेर उठ्न खोजेका माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले उनलाई रातो कार्पेट लगाएर स्वागत गरे, अनि सुम्पिए उपप्रधानमन्त्रीसहितको गृहमन्त्रालय ।
डा. कार्कीले रविको पार्टीबाट टिकट पाउनुभन्दा पहिले नै स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरिसकेकी थिइन् । सञ्चारकर्ममा चतुर रविले तोसिमाको लोकप्रियताको आंकलन गर्दै गरेको प्रस्ताव स्वीकारेकी तोसिमाले अहिले स्वास्थ्य राज्यमन्त्रीको उपहार पाएकी छिन् ।
रवि आफैं पनि निर्वाचन क्षेत्र छान्ने क्रममा धेरै द्विविधामा थिए । बर्षौंसम्म राजधानीलाई कर्मथलो बनाएका रविले राजधानीप्रति विश्वस्त बन्न सकेनन् र हानिए चितवन । चितवन गएर पनि क्षेत्र नं. २ रोजे, जुन क्षेत्रलाई नेपालको ७८ औं जिल्लाको रुपमा लिइन्छ । किनभने, चितवनको भरतपुर क्षेत्र भनेको नेपालका अधिकांश क्षेत्रका मानिसहरुको बसाईसराई गएर बसोबास रहेको क्षेत्र हो । रविलाई थाहा थियो, आफ्नो प्रभाव नेपालको धेरै क्षेत्रमा छ, तर कुनै ‘कोर’ क्षेत्रमा जाँदा आफूले आवश्यक मत नपाउने डर रहेकोले नै ‘मिक्स’ मानिस र समाज रहेको स्थानलाई रोजे, र सफल पनि भए ।
राजनीतिमा लागेको ६ महिनामै सरकारमा जानु उनीहरुलाई ‘जनताले सरकारमै गएर सेवा गर्नु भन्ने जनमत दिएको हो’ भन्ने वाक्यांश सांसदहरुलाई कण्ठ गराइसकेका रविले आफूविरुद्ध परेको उजुरीमा छानबिन जसले गरिरहेको छ, त्यही मन्त्रालय दाबी गरे । कांग्रेस छाडेर एमालेले दिएको बैशाखी टेकेर उठ्न खोजेका माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले उनलाई रातो कार्पेट लगाएर स्वागत गरे, अनि सुम्पिए उपप्रधानमन्त्रीसहितको गृहमन्त्रालय ।
जसलाई उनीमाथि लागेको नागरिकता विवाद छानबिन पूर्णअधिकार थियो, आखिर त्यही मन्त्रालयको नेतृत्व गर्न पाउनु रविका सुखद् पाटो बनेको आंकलन सर्वसाधारणले गरे, तर त्यो पुष्टी भने भइसकेको छैन । तर, नेपालको प्रहरी प्रशासन त्यति कमजोर छैन, कुनै अपराध गरेकाहरुलाई शक्तिकै कारण उन्मुक्ति दिने पनि । उनी गृहमन्त्री नै भएपनि उनी माथि लागेको आरोपबारे यथार्थ खुल्न पर्छ, दोषी छन् भने सजाय र निर्दोष छन् भने बिनाकारण ‘ब्लेम’ लगाइनु हुँदैन । किनकी राजनीतिमा ‘छलाङ’ मारेका लामिछाने फेरि–फेरि यस्ता किसिमका ‘काण्ड’बाट घेरिन नपरोस् ।
निर्वाचनका बेला सरकारमा जान्नौं भनेको भनाईलाई भाषा मिलाउँदै सरकारमा गएको राष्ट्रिय स्वतन्त्र पार्टीबाट मन्त्री छान्ने क्रममा विषयविज्ञता नाममा कलंकको टीका लगाउन पुग्यो । हुनत पहिलो प्रयासमा यत्तिको जनताका साथ पाइन्छ भन्ने विश्वास नभएर पनि त्यो भनेका हुनसक्छन् । तर, २१ औं शताब्दीमा सञ्चारजगतसँग जोडिएका नेपाली मतदाताहरुले रविकै कामबाट उनको दलमाथि विश्वास गर्यो । र, सरकारमा जाने हैसियतको मत दियो ।
सरकारमा जाने निर्णय गरेसँगै रविले श्रम मन्त्रालयमा दाबी गरे । उनलाई राम्रोसँग थाहा थियो, शायद दुःखी गरिब जनतासँग प्रत्यक्ष सरोकार राख्ने मन्त्रालय श्रम हो भन्ने । सोही अनुरुप मन्त्रालय भागबन्डामा पाए पनि, तर जब जसलाई विज्ञताको नाममा मन्त्रीमा पठाए उनी नै म्यानपावर सञ्चालकसरह वैदेशिक रोजगार विभागमा मुद्दाका आरोपी रहेको खुल्न आयो । हुन त सम्बन्धित व्यक्तिले सामाजिक सञ्जालहरुमा विभिन्न चरणमा आफूमाथि लागेका आरोपहरुको स्पष्टीकरण दिने प्रयास गरिरहेका छन् । तर, कतिपय सञ्चारमाध्यमहरुले गरेको रिपोर्टिङका आधारमा उनी म्यानपावर सञ्चालक र उनीमाथि बैदेशिक रोजगारीमा ठगी गरेको उजुरीको किनारा नलागेको पुष्टी नै भइसकेको छ ।
त्यस्तै रविले पार्टीभित्र अर्को ‘बेइमान’ गरेको पनि बजार हल्ला सुनिन थालेको छ । निर्वाचनअघि देखि नै स्वास्थ्य मन्त्रालय सम्हाल्ने आकांक्षा लिएर आएकी डा. तोसिमा कार्कीलाई ‘फूल’ मन्त्रालयबाट बञ्चित गराइनु । आफ्ना लागि गृहसहित उपप्रधानमन्त्री दावी गर्दै साँचो हत्याउन सफल रविले निर्वाचन अगाडि गरेको स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिने भन्दै गरेको भाषणबाजीलाई पन्छाउन पुगे । कारण, डा. तोसिमालाई मन्त्री नबनाउनका लागि । यदि रास्वपाले स्वास्थ्य मन्त्रालय पाएको खण्डमा डा. तोसिमालाई नै मन्त्री बनाउनुपर्ने जनदबाबका बाबजुद रविले सो मन्त्रालयबाट आफ्नो दाबी छाडेर शिक्षामा सरेको कतिपयले चिया गफ बनाउने गरेका छन् ।
यदि स्वास्थ्यमन्त्रालय रविको पार्टीले पाएको भए त्यसमा डा. चन्दा कार्कीले पनि दाबी गर्न सक्ने सम्भावनालाई पन्छाउँदै रविले स्वास्थ्य भन्दा शिक्षामा जोड दिएको यदाकता सुन्न थालिएको छ । यति त्यस्तो नै हो भने उनले पछिल्लो समयमा डा. तोसिमाप्रति झन् पक्का ‘राजनीति’ गरिरहेको पुष्टी हुन्छ ।
नेपालको प्रहरी प्रशासन त्यति कमजोर छैन, कुनै अपराध गरेकाहरुलाई शक्तिकै कारण उन्मुक्ति दिने पनि । उनी गृहमन्त्री नै भएपनि उनी माथि लागेको आरोपबारे यथार्थ खुल्न पर्छ, दोषी छन् भने सजाय र निर्दोष छन् भने बिनाकारण ‘ब्लेम’ लगाइनु हुँदैन । किनकी राजनीतिमा ‘छलाङ’ मारेका लामिछाने फेरि–फेरि यस्ता किसिमका ‘काण्ड’बाट घेरिन नपरोस् ।
स्वास्थ्यमा डा. तोसिमा राम्रो विषय विज्ञ हुन् । त्यसमा कुनै द्विविधा र विवाद पनि छैन । त्यस्तै शिक्षामा पठाएका शिशिर खनालका सवालमा पनि खासै विवाद छैन । उनलाई कुनै बेला निजी क्षेत्रको विद्यालय सञ्चालक भएको भन्ने आरोपबाहेक अन्य धेरै आरोप लाग्न सकेको छैन । तर, उनीहरु प्रशासनिक काममा कत्तिको दक्ष छन्, त्यसको परिक्षण अब हुने भएको छ । सामाजिक सञ्जालमा मिठा भाषण गरेमात्र काम गर्न नसकिने रहेछ भन्ने यसअघि पनि कतिपय नेतृत्वमा पुगेकाहरुबाट उदाहरण लिन सकिन्छ ।
रवि आफू स्वयं नागरिकताको विवादमा रहेका बखत गृह मन्त्रालय र म्यानपावरको सञ्चालकलाई नै श्रम मन्त्रालयको साँचो लिने/दिने रविको पछिल्ला निर्णय सञ्चारमाध्यममा हेडिङ बन्न थालेका छन् पछिल्ला दिनमा, जुनकुरा आगामी दिनमा उनका लागि घातक सिद्ध हुनसक्छ ।
पछिल्ला दिनमा सामाजिक सञ्जालमा रविका यसअघिको पेशामा गरेका सत्कर्मको प्रचार गर्दै उनको अहिलेको कर्मको विश्लेषण र प्रतिक्रिया खोजिरहिएको छ । त्यसको जवाफ दिन रविलगायत उनका मन्त्रीहरु यसपटक कत्तिको सफल हुनेछन्, त्यसबाट नै रविको आगामी राजनीतिक भविष्यको बाटो स्पष्ट हुनेछ । तर, अहिलेसम्मको अवस्थामा रविलाई हेर्दा उनले जनतालाई ‘पहिलो गासमै ढुंगा’ उपहार दिएका छन् ।
रविमाथि एक फौजदारी अभियोग लागेका ‘फरार’ तर संसदमा सँगै प्रवेश गरेका सांसदलाई पक्राउ नगरेको भन्ने कुरा पनि कहिँ कतै उठ्ने गरेका छन् ।
विज्ञताको नाममा व्यवसायीलाई निर्णायक तहमा पठाएर कलंकको टीका नलगाएको भए हुन्थ्यो भन्नेहरु एकातिर छन् भने आखिर ‘उनी पनि उस्तै त रहेछन्, सत्तामा जानै हतार’ भन्नेहरु पनि अर्कोतिर देखिन थालेका छन् ।
अब रविसहितका मन्त्रीहरुले जनताले अहिले पछिल्लो समय गरेको आशंकालाई निवारणका लागि यथाशक्य र यथासम्भव प्रयास गर्ने नै छ, आगामी दिनमा आफूहरु सरकारमा जानुको कारणलाई पुष्ट्याईँ गर्ने गरी काम गर्ने नै छ भन्ने अपेक्षा जनमानसले लिएका छन् ।

