गृहमन्त्रीकाे राजीनामाबारे प्रचण्डको प्रतिक्रिया- ‘राम्रो गर्नुभयो’


काठमाडौं-  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले निवर्तमान गृहमन्त्री सुधन गुरुङको राजीनामालाई सकारात्मक कदमका रूपमा लिएका छन् ।

बुधबार सञ्चारकर्मीसँग कुराकानी गर्दै दाहालले विवादित सम्पत्ति विवरण र व्यवसायीसँगको सम्बन्धलाई लिएर प्रश्न उठेपछि गुरुङले पदबाट राजीनामा दिएर सही निर्णय गरेको प्रतिक्रिया दिएका हुन् । उनले छोटकरीमा भने, “उहाँले दिनुभयो, राम्रो गर्नुभयो।”

गुरुङले बुधबार नै गृहमन्त्री पदबाट राजीनामा दिएका थिए । उनीमाथि सम्पत्ति विवरण अपारदर्शी भएको र विवादित व्यक्तिहरूसँग सम्बन्ध रहेको आरोप सार्वजनिक भएपछि राजनीतिक दबाब बढ्दै गएको थियो ।

दाहालले राजीनामापछि देशको राजनीतिक अवस्था फेरिन सक्ने संकेत पनि गरेका छन् । उनले पुरानो राजनीतिक संरचना अब क्रमशः परिवर्तन हुँदै नयाँ अवस्थातर्फ जाने दाबी गरे ।

“पुरानो अवस्था अब नयाँ अवस्थामा फेरिन्छ, केही समय हेर्नुहोला, छिट्टै फेरि लहर आउँछ,” उनले भने ।

उनले अबको राजनीतिक दिशा पार्टी पुनर्गठन, कम्युनिष्ट आन्दोलनको रूपान्तरण र १२ बुँदे समझदारी पक्षधर शक्तिहरूको नयाँ ध्रुवीकरणतर्फ केन्द्रित हुने बताए ।

यसै क्रममा रास्वपा सभापति रवि लामिछानेसँगको भेटबारे सोधिएको प्रश्नमा दाहालले लामिछानेसँग आफ्नो नियमित संवाद भइरहने मात्र प्रतिक्रिया दिए ।

प्रतिक्रिया