
पार्टीभित्रका सबै नेताहरूलाई समेटेर लैजान्छु : गगन थापा
काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र व्यापक एकता कायम गर्न आफूले निरन्तर संवाद अघि बढाइरहेको बताएका छन्।
बागमती प्रदेशस्तरीय चुनावी समीक्षा बैठकमा बोल्दै थापाले १५औँ महाधिवेशनमा कांग्रेसलाई एकताबद्ध ढंगले अघि बढाउने लक्ष्य रहेको स्पष्ट पारे।
उनका अनुसार, पार्टीभित्र सबै नेताहरूसँग निरन्तर छलफल भइरहेको छ र सबैलाई समेटेर अघि बढ्ने प्रयास जारी छ। उनले सदस्यता व्यवस्थाबारे पनि गम्भीर हुनुपर्ने उल्लेख गर्दै पार्टी संरचना र जिम्मेवारी स्पष्ट हुनुपर्ने बताए।
थापाले भने, “पार्टीभित्रका सबै नेताहरूसँग म संवाद गरिरहेको छु, सबैसँग कुरा गर्छु, सबैलाई समेटेर लिएर जान्छु। हामीले सदस्यताको कुरा पनि ख्याल गर्नुपर्नेछ।”
उनले पार्टी सदस्यता लिएर आन्तरिक चुनावमा सहभागी भइसकेपछि बाहिर गएर फरक पार्टीलाई मतदान गर्ने अभ्यास उचित नहुने बताए। उनका शब्दमा, “कांग्रेसको सदस्य हुने, लेबी तिर्ने, आन्तरिक चुनावमा मतदान गर्ने तर आम निर्वाचनमा अर्को पार्टीलाई भोट दिने कुरा ठीक होइन। सदस्यता छोडेर जानुस्, तर मतदातामाथि प्रश्न उठाउन पाइँदैन।”
थापाले कांग्रेसलाई ऐतिहासिक भूमिका निभाउने पार्टीका रूपमा पुनः स्थापित गर्नुपर्ने आवश्यकता औँल्याउँदै २००७ सालको क्रान्तिकारी भावना, २०४६ सालको लोकप्रियता र २०७० सालको भरोसायोग्य छवि पुनः स्थापित गर्नुपर्ने बताए।
उनले कांग्रेसले देशलाई नेतृत्व दिन सक्ने विश्वास जनतामा स्थापित गर्नुपर्ने भन्दै सबैलाई समेटेर अघि बढ्ने प्रतिबद्धता दोहोर्याए। साथै, पार्टीभित्र गुटगत राजनीति स्वीकार्य नहुने स्पष्ट संकेत पनि दिए।



कागजपत्र |
