नेविसंघका नेता पक्राउ परेपछि कांग्रेस आक्रोशित, ‘तत्काल रिहा गर’ माग


काठमाडौं-  सिंहदरबारभित्रै नाराबाजी गरेको आरोपमा नेपाल विद्यार्थी संघ (नेविसंघ)का नेताहरू पक्राउ परेपछि नेपाली कांग्रेसले कडा आपत्ति जनाएको छ । पार्टी प्रवक्ता देवराज चालिसेले विज्ञप्ति जारी गर्दै केन्द्रीय सदस्य भुवन भट्टसहित विद्यार्थी नेता कुम्भराज देउवा, नवीन विष्ट, आकाश देवकोटा, सुशील ऐडी र विशाल वीसीलगायतलाई थुनामा राखिएको घटनालाई लिएर सरकारको आलोचना गरेका हुन् ।

विज्ञप्तिमा चालिसेले लोकतान्त्रिक व्यवस्थामा वाक तथा अभिव्यक्ति स्वतन्त्रता, शान्तिपूर्ण रूपमा हिँडडुल गर्ने अधिकार र विरोध वा असहमति जनाउने स्वतन्त्रता नागरिकका मौलिक हक भएको स्पष्ट पारेका छन् । यस्ता अधिकारको संरक्षण गर्नु राज्यको संवैधानिक तथा नैतिक दायित्व रहेको उल्लेख गर्दै उनले ती अधिकार प्रयोगकै क्रममा नागरिकलाई पक्राउ गरेर थुनामा राख्नु लोकतन्त्रका आधारभूत मूल्य र विधिको शासनमाथि प्रश्न उठाउने कदम भएको बताएका छन् ।

‘असहमतिलाई नियन्त्रण गर्ने र दमन गर्ने सरकारको शैली लोकतान्त्रिक मान्यता र संविधानको मर्मविपरीत छ,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसको स्पष्ट धारणा छ— असहमति र विरोध लोकतन्त्रका अभिन्न अंग हुन्, जसलाई दमन होइन, संवाद र सहकार्यबाट सम्बोधन गर्नुपर्छ ।’

कांग्रेसले पक्राउ परेका सबै विद्यार्थी नेताहरूलाई विना सर्त तत्काल रिहा गर्न माग गरेको छ । साथै, भविष्यमा नागरिकका मौलिक अधिकारमाथि कुनै प्रकारको हस्तक्षेप नगर्न सरकारलाई सचेत गराएको छ ।

उल्लेखित विद्यार्थी नेताहरूलाई मंगलबार सिंहदरबार परिसरभित्र नाराबाजी गर्दै विरोध प्रदर्शन गरेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया