

रविको घुर्कीः पाए तातो नत्र…चिसै पानीले नुहाउँछु !
रविले प्रचण्डसँग गृहमन्त्री नपाए सरकार छाड्ने चेतावनी दिँदै गर्दा इन्दिरा, तोसिमा, शिशिरहरुको ठाउँमा बसेर हेरेका छन् त ?

निस्क्रिय नागरिकताको प्रयोग गरि पार्टी सभापति हुँदै उपप्रधानमन्त्री एवं गृहमन्त्रीसम्म पुगेका रवि लामिछानेले पछिल्लो समय नागरिकता सक्रिय बनाएसँगै गृहमन्त्रालयकै दाबी गरिरहेका छन् । मुलुकको कायापलट गर्छु भन्दै करिब ३ दशक लामो सञ्चारकर्मलाई बिट मार्दै राजनीतिमा होमिएका रवि लामिछानेले पहिलो प्रयासमा सफल तर अवैधानिक बाटो रोजेको पुष्टी भयो– सर्वोच्चको आदेशसँगै ।
उनले चितवन क्षेत्र नं. २ का ४९ हजार ३ सय मतदाताको विश्वासमा कुठाराघात गर्दै देशभरका ‘घन्टी’ मतदाताहरुलाई निराश बनाए । कडा सञ्चारकर्मीको छवि बनाएका रविले राजनीतिमा होमिँदै गर्दा आफ्ना कमजोरीहरुलाई पार लगाउँदै हरेक पक्षबाट आफू बलियो हुनुपर्थ्यो, तर उनी चुके –नागरिकता जस्तो आधारभूत कुराबाटै । त्यसबाट उनी पक्का राजनीतिक एवं कानुनी चेतविमुख हुन् कि भन्ने प्रश्न खडा भएको छ ।
निकट भविष्यमै उपनिर्वाचन गराउनुपर्ने प्रावधान रहेकोले रविले आफू गृहमन्त्री रहँदै चुनाव लड्न जाने मनशाय स्पष्ट देखिएको छ । आफू गृहमन्त्री भएकै अवस्थामा उपनिर्वाचन गराउन पाएको खण्डमा त्यसको लाभ उनले लिन सक्ने ‘लोभ’पक्कै पनि रविमा जागेको हुनसक्छ ।
पछिल्लो समय सर्वोच्चको आदेशसँगै मन्त्री र सांसद पद गुमाएका रविले अहिले सामान्य नेपाली नागरिकको भूमिकामा रहेका छन् । उनले अहिले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति भन्दै गर्दा सोही पार्टीको विधानविपरित साधारण सदस्य भएको १ वर्षपछि मात्र पदाधिकारी बन्न पाउनुपर्ने नियमलाई मिच्दै आफूलाई पुनः सभापतिमा स्वघोषणा गरेका छन् । पार्टी सभापतिकै हैसियतले अहिले उनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पदका लागि घुर्की लगाउँदै हिँडेको पाइएको छ । कहिले एमाले अध्यक्ष केपी ओली र कहिले प्रचण्डसँगको उनको भेटघाट हेर्दा उनी अहिले निकै दौडधूपमा छन् ।
पछिल्लो पटक मंगलबार बिहान प्रचण्डसँगको भेट पछि त उनले ठूलै घोषणा गरे– गृहमन्त्रालय आफूले नपाए सरकारबाट बाहिरिन्छौं । प्रधानमन्त्री प्रचण्डले रविको ‘घुर्की’लाई बुझेर गैर सांसदलाई गृहमन्त्री जस्तो शक्तिशाली र जिम्मेवार मन्त्रालय सुम्पनुभन्दा आफैंसँग राखेर अघि बढे उत्तम हुन्छ ।
रविले आफूले गृहमन्त्रालय नपाए सरकार छाड्ने चेतावनी दिइरहँदा करिब शतप्रतिशत सांसदको विश्वास पाएको प्रचण्ड सरकारले रवि बाहिरिँदैमा ठूलै भूकम्प आउँछ भनेर उनीसँग त्रसित बनी गैरसांसदलाई मन्त्री बनाउनु हुँदैन ।
अहिलेको अवस्थामा चितवन क्षेत्र नं. २ मा निकट भविष्यमै उपनिर्वाचन गराउनुपर्ने प्रावधान रहेकोले रविले आफू गृहमन्त्री रहँदै चुनाव लड्न जाने मनशाय स्पष्ट देखिएको छ । आफू गृहमन्त्री भएकै अवस्थामा उपनिर्वाचन गराउन पाएको खण्डमा त्यसको लाभ उनले लिन सक्ने ‘लोभ’पक्कै पनि रविमा जागेको हुनसक्छ ।
पार्टी सभापति जस्तो व्यक्तिबाट भएको अपरिपक्व गतिविधिलाई रविले आगामी उपनिर्वाचनमा चितवन क्षेत्र नं. २ का मतदातासँग के भन्दै भोट माग्लान् ? अथवा चितवन क्षेत्र नं. २ का मतदाताले रविलाई नागरिकताबारे प्रश्न गर्लान् कि नगर्लान् ? त्यो हेर्न बाँकी नै छ ।
पहिलो चुनावी प्रयासमै अप्रत्याशित नतिजा हात पारेका रवि सत्तामोहमा जति ‘लालायित’ देखिए त्यति छिटो नै ‘सत्ताच्यूत’ बन्न पुगे । उनले मन्त्रालयको भागबन्डामा अन्य तीन जनालाई पनि मन्त्रीको भाग दिलाउन सफल भएका रविले अहिले पछिल्लो समय आएर आफूले गृहमन्त्रालय नपाए सरकारबाट बाहिरिएर ती ३ मन्त्रीलाई पनि ‘बिलखबन्धन’पार्न खोजेका छन् ।
हरेक क्षेत्रमा र तहमा रविका सांसद एवं नेताहरुलाई रविको नागरिकतासम्बन्धी प्रश्न नउठ्ला भन्न सकिँदैन । रविले पार्टी दर्ता गर्दा नै निस्क्रिय नागरिकताको प्रयोग गरी राजनीतिमा होमिँदै गर्दा अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ताको जीवनमा ठूलो खेलवाड गरेका छन् । त्यसैले रविले आफूमात्र होइन, उनका सांसदहरुलाई पनि प्रश्नको सामना गर्नुपर्ने अवस्थामा ल्याइपुर्याएका छन् ।
पहिलो चुनावी प्रयासमै अप्रत्याशित नतिजा हात पारेका रविले सत्तामोहमा जति ‘लालायित’ देखिए त्यति छिटो नै ‘सत्ताच्यूत’ बन्न पुगे । उनले मन्त्रालयको भागबन्डामा अन्य तीन जनालाई पनि मन्त्रीको भाग दिलाउन सफल भएका रविले अहिले पछिल्लो समय आएर आफूले गृहमन्त्रालय नपाए सरकारबाट बाहिरिएर ती ३ मन्त्रीलाई पनि ‘बिलखबन्धन’पार्न खोजेका छन् । यसबाट उनले डा. तोसिमा कार्की, सोविता गौतम, शिशिर खनाल जस्ता होनाहार सांसदहरुको राजनीतिक जीवनमा पनि दाग लगाउने प्रयास गरेको स्पष्ट हुन्छ ।
अर्कोतर्फ उनी सरकारबाट बाहिरिए भने राम्रो बार्गेनिङसहित पाएको उपसभामुख के गर्छन् ? त्यो पनि भविष्यकै विषय छ । समाजसेवामा विद्यावारिधि र राजनीतिको ‘क’ ‘ख’ सिक्दै गरेकी इन्दिरा रानामगरको भविष्य के हुन्छ ? त्यसको लेखाजोखा सायद रविले गरेका होलान् । सरकारबाट रास्वपा बाहिरिएको खण्डमा उपसभामुख रानामगरले पनि अवश्य नै नैतिकताको आधारमा राजीनामा दिनुपर्ने नै होला राजनीतिमा ।
रवि लामिछाने हुन् उनमा अरुको भन्दा पनि आफ्नो पदको चासो बढी रहेकोले हुनाले जे पनि गर्न सक्छन् । अहिलेको अवस्थामा रविले इन्दिरा, तोसिमा, शिशिरहरुको ठाउँमा बसेर हेरेका छैनन् । यसरी पछिल्लो समय रविको हुँकार हेर्दा रास्वपा भनेको रविको नभई उनकै नामको उल्टो ‘वीर’ को हो जस्तो मात्रै देखिएको छ ।
जनताको आँखामा छारो हाल्नकै लागि देशका ‘करिश्म्याटिक’ मानिसहरुलाई समेट्दै पार्टीभित्र स्थान दिइरहँदा आफूले पद नपाए ति सबैलाई ‘पेन्डुलम’ बनाउने अधिकार रविलाई कसले दियो ? अब तोसिमा र सोविताहरुले आफ्ना मतदाताले रविको नागरिकता बारे उठाएको प्रश्नको जवाफ कसरी देलान् ? मन्त्री भएको साताबढी भएकै अवस्थामा गरिएका बाचाहरु भविष्यमा कसरी पूरा गर्लान्? वा अन्तिममा रविले गृहमन्त्रालय नपाए पनि सरकारबाट नबाहिरिने पो हुन् कि ? रविले अहिले प्रधानमन्त्री प्रचण्डसँग लगाएको ‘घुर्की’, …‘नत्र चिसै पानीले नुहाउँछु’ भने जस्तै पो हो कि ?

