विज्ञताको हुँकार गर्ने रविको विज्ञता ‘सञ्चार’ कि ‘गृह’मा ?


दल दर्ता गरेर निर्वाचनमा होमिँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले एउटा शब्द सबैभन्दा बढी घोके, त्यो हो– विज्ञता ।

विज्ञताको आधारमा कुनै पनि व्यक्तिलाई जिम्मेवारी दिनुपर्छ भन्ने मूलमन्त्र बनाई मतदाताको भावना जित्दै रास्वपाले अनपेक्षित रुपमा जनताको विश्वास पाउन सफल भयो । यो रास्वपाको सफलतामात्र नभई अन्य राजनीतिक दलको पराजय पनि हो अवश्य नै ।

प्रत्यक्षमा नै ७ सिट जित्दै गरेको अवस्थामा अध्यक्ष रवि लामिछाने देशव्यापी रुपमा चुनाव प्रचार–प्रसारमा आफैं लागेको भए कम्तीमा प्रत्यक्षमै ५ सिट बढ्ने चुनावी नतिजाले देखाएको थियो । तर, त्यसमा रवि अनि उनका उम्मेदवार नै विश्वस्त भएनन् आफूहरु प्रतिस्पर्धामा पुगिन्छ भन्ने ।

समानुपातिकबाट १३ जना सांसदलाई मत पुर्याउन सफल रास्वपाले निर्वाचनमा सहभागी भएको पहिलो पटक नै सत्ता समीकरणमा बलियो उपस्थिति बनाउन सफल रह्यो । त्यसको श्रेय रविको व्यक्तिगत लोकप्रियताका साथै आम मतदाताले रविसँग गरेको अपेक्षालाई लिनुपर्दछ ।

सरकारमा जानका लागि नेकपा एमालेअध्यक्ष केपी ओलीसँग गठबन्धन गर्दै गर्दा रविले गृहमन्त्रालयको दाबी गरे । जो, उनले निर्वाचन अघि र पछिसम्म पनि घोकिरहेको ‘विज्ञता’ शब्दको उपहास थियो । करिब ३ दशकसम्म सञ्चारजगतमा राज गर्दै आएका व्यक्तिले कसरी गृहमा विज्ञता हासिल गरे ? अन्यलाई विज्ञताको कसी घोटाउँदै गर्ने रविले आफूले कसरी सञ्चार क्षेत्र छाड्न सके ? सरकारको सबैभन्दा शक्तिशाली मन्त्रालय मानिएको गृह मन्त्रालय दाबी गर्नु रविका लागि विज्ञता भन्दा पनि पावरको लागि थियो भन्ने कुरा मान्न सकिन्छ । विज्ञताकै आधारमा रविले सूचना तथा सञ्चार मन्त्रालय छानेको भए हुने थियो ।

हो, उनले पार्टीको भागबन्डामा परेको श्रम मन्त्रालय, शिक्षा मन्त्रालय र स्वास्थ्य राज्यमन्त्रीमा सम्बन्धित क्षेत्रका विज्ञहरुलाई पठाए । तर, उनी आफू चाहिँ आफैंले तय गरेको विज्ञताको आधारलाई पालन गर्नुपर्दैन ? कि अध्यक्ष भए पछि एकल निर्णय नै काफी हुन्छ ? यदि रविकै निर्णय मात्र कार्यान्वयन हुने हो भने रास्वपा पनि निकट भविष्यमै संकट पर्नेमा दुवै द्विविधा छैन ।

रविले आफू नै पार्टीमा सर्वेसर्वाको नीति अपनाए पुराना दलहरु भन्दा फरक के भन्ने प्रश्न उठ्न अवश्य नै ? मतदातामाझ घरदैलोमा जाँदै गर्दा गरेका प्रतिबद्धता र भाषणबाजीलाई बिर्सिएमा अरु दल भन्दा रास्वपा कसरी फरक भयो ? सत्ताका लागि जुनसुकै ‘तिकडम’ पनि चाल्न पछि नपरेपछि अन्य दलभन्दा के नै फरक भयो र ?

फरक हुनलाई ठूलो आवाजमा बोलेरमात्र हुँदैन, फरक केही गर्नुपर्ने हुन्थ्यो । रवि लामिछानेले स्वयंले उपप्रधानमन्त्रीको सपथ लिएको एक महिना बढी भइसक्दा अहिलेसम्म सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । यदि अन्य राजनीतिक दलभन्दा फरक हुन खोजेको भए भएको सम्पत्ति विवरण सार्वजनिक गरेको भए हुँदैनथ्यो ?

कि, सम्पत्ति विवरण सार्वजनिकका लागि विवरण भर्दै गर्दा एक महिनामा पनि भर्न नसकिने सम्पत्ति भएर हो वा अरु मन्त्रीहरुले त सार्वजनिक गरेका छैनन् मैले के गर्नु भनेर हो ? अरु दलका नेताले जे गरे पनि उदाहरणीय बन्छु भनेर मैदानमा आएका दलका नेताहरुले त त्यतिसम्म गरिदिएको भए अलिकलि बचेखुचेको ‘नाक’ जोगिन्थ्यो कि ?

प्रतिक्रिया