मिनेन्द्र रिजालबाट सिक्न जरुरी छ?


सन् २०१९ मा भारतमा भएको लोकसभा चुनावमा काँग्रेस पराजित भएपछि पार्टी अध्यक्षबाट राहुल गान्धीले राजीनामा दिए। पार्टीको हारको जिम्मेवारी लिँदै राहुलले नैतिकताको आधारमा पदबाट राजीनामा दिएका थिए।

गान्धीका पिता, हजुरआमा र जिजुबुवा सबै भारतका पूर्व प्रधानमन्त्री हुन्। जतिबेला राहुललाई नै भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरिएको थियो। तर उनी गान्धी परिवारको गढ मानिएको अमेठी क्षेत्रबाटै पराजित भएपछि अध्यक्षबाट अलग्गिए। त्यसपछि उनको सर्वत्र चर्चा भयो।

त्यस्तै नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदमा पराजित भएपछि डा. मिनेन्द्र रिजालले रक्षामन्त्री पदबाट राजीनामा दिए। रिजाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले गत २२ असोजमा रक्षामन्त्रीको जिम्मेवारी दिएका थिए।

कांग्रेस महामन्त्रीमा अपेक्षित मत नआएपछि मन्त्री पदबाट राजीनामाको घोषणा गरेका कांग्रेसका प्रभावशाली नेता समेत रहेका रिजालले परिणाम सार्वजनिकलगत्तै बालुवाटार पुगेर प्रधानमन्त्री देउवालाई राजीनामा बुझाए।

रक्षा मन्त्रालय छाड्नुअघि सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै रिजालले आत्मग्लानी नहोस् भन्नाका लागि आफूले राजीनामाको बाटो रोजेको बताए। कसैको दबाब र प्रभावमा नपरी आफ्नो स्वविवेक प्रयोग गरेर पदबाट राजीनामा दिएको रिजालको भनाइ थियो।

डा. मिनेन्द्र रिजाल

सम्मेलनमा रिजालले नेपाली कांग्रेसको नेताका हिसाबले गर्नुपर्ने कामहरु तथा विधेयकहरु पूरा गर्नका लागि आवश्यक पर्ने राजनीतिक पूँजी आफूसँग नभएको महसुस भएपछि आफूले गरेका सबै प्रयासहरु निरर्थक हुनेछन भन्ने आधारमा राजीनामा दिएको बताएका थिए।

रिजालले १४ औं महाधिवेशनमा डा. शेखर कोइराला प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका थिए। उनी शशांक कोइरालाको कोटाबाट देउवा नेतृत्वको सरकारमा रक्षामन्त्रीको जिम्मेवारीसहित सहभागी भएका थिए।

कांग्रेसको पदाधिकारीहरुको मत परिणाम आइसक्यो। सभापतिमा देउवा विजयी भएका छन् भने उपसभापतिमा धनराज गुरुङ र पूर्ण बहादुर खड्का विजयी भएका छन्। यस्तै महामन्त्रीमा दुवैजना युवा नेताले बाजी मारेका छन्।

गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्रीमा निर्वाचित भएका हुन्। यस्तैगरी सह–महामन्त्रीहरुमा जीवन परियार, डिना उपाध्याय, भीष्मराज आङदेम्बे, किशोरसिंह राठौर, उमाकान्त चौधरी, फर्मुल्लाह मन्सुर, बद्री पाण्डे र महेन्द्र यादव निर्वाचित भएका छन्।

त्यस्तै महाधिवेशनमा ३५ खुल्ला केन्द्रीय सदस्यमा ९९ जनाको उम्मेदवारी परेको थियो। जसमा चर्चित नेतादेखि, मुख्यमन्त्री, मन्त्री र मेयर नै पराजित बनेका छन्। सामाजिक सञ्जालमा उनीहरुको हारलाई रिजालको राजीनामासँग जोडेर बहस हुन थालेको छ।

रिजालको राजीनामाको विषयले सामाजिक सञ्जालमा मात्र होइन, कांग्रेसभित्रै पनि ठिक कि बेठिक भन्ने बहस गरायो। कतिपयले यो ठिक हो भने। कतिपयले यसलाई हलुका र प्रोपागान्डा भने।

कतिपयले नैतिकताको खडेरीमा नैतिकताको आधारमा रिजालले राजीनामा दिएको भन्दै गुनगान गाउन भ्याए। कतिपयले पार्टीभित्रको चुनावलाई लिएर राजीनामा दिनु भनेको चर्चा कमाउनको लागि हो भने।

डा. रिजाल व्यक्ति मन पर्छ कि पर्दैन भन्ने धेरै महत्वपूर्ण विषय होइन। रक्षामन्त्री पदबाट दिएको राजीनामाबारे बहससँगै उनले लिएको निर्णय ठिक हो कि होइन भन्ने विषय महत्वपूर्ण हो।

रिजालको राजीनामाको विषयलाई लिएर राजनीतिशास्त्रीहरु भने उदाहरणीय काम भएको बताउँछन्। कम मत पाएपछि रिजालले राजीनामा गर्नुबाहेक अर्को विकल्प नभएको राजनीतिशास्त्रहरुको भनाइ छ।

त्यसो भए सरकारी कुर्सीमा बस्नेहरुको हकमा के हुन्छ? कांग्रेसको १४ औं महाधिवेशनमा पदाधिकारीमा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले समेत हार व्यवहोर्नुपर्यो। शाही १६ कात्तिकमा मुख्यमन्त्री नियुक्त भएका हुन्।

मुख्यमन्त्री जीवन शाही

उनै शाहीले कांग्रेसको सहमहामन्त्रीमा उम्मेदवारी दिएका थिए। पिछडिएको क्षेत्रका लागि सह–महामन्त्रीमा उम्मेदवारी दिएका शाही बद्री पाण्डेसँग पराजित भएका हुन्।

गत शुक्रबार सार्वजनिक भएको मतपरिणाम अनुसार पाण्डेले २ हजार ४११ मत ल्याउँदा शाहीले २ हजार १३३ मत मात्र ल्याए। सहमहामन्त्रीका अर्का उम्मेदवार चेतराज बजाल भने ९९ मतमै सीमित भए।

कर्णाली प्रदेशको मुख्यमन्त्री रहेका शाहीले के रिजालको बाटो अपनाउलान्? नैतिकताको खडेरी परेको समयमा आफ्नौ नैतिक धरातललाई उचो बनाउलान्? या पदको लोभमा कुर्सीमै अटमस्स भएर बसिरहन्छन्। त्यो समयले देखाउला।

त्यस्तै प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की पनि कांग्रेस १४ औं महाविधेशनमा केन्द्रीय सदस्यमै पराजित भए। संस्थापन इतर समुहबाट खुल्ला केन्द्रीय सदस्यमा उठेका कार्कीले १ हजार ६४४ मत ल्याए। ६४ मत कम आउँदा उनी पराजित बनेका हुन्।

आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की

कांग्रेसको विधान अनुसार खुल्ला केन्द्रीय सदस्यमा ३५ जना निर्वाचित हुने व्यवस्था रहेको छ। कार्की भने मतपरीणामले ३७ नम्बरमा परेका छन्। पराजित कार्की सभापतिका प्रतिस्पर्धी कोइरालाका विश्वास पात्र मानिन्छन्।

त्यस्तै गोरखा पालुङटार नगरपालिकाका मेयर ई. दीपक बाबु कँडेल समेत केन्द्रीय सदस्यकै पराजित भए। कँडेलले ११ सय ३७ मत पाए। कँडेलले पनि संस्थापनइतर समूहबाट खुल्ला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिएका थिए।

मत परिणामसँगै मुख्यमन्त्री शाही, मन्त्री कार्की र मेयर कँडेलसामु नैतिक र राजनीतिक प्रश्न खडा भएको छ, के अब चुनावको परिणामसँगै उनीहरुलाई कुर्सीमा बस्ने नैतिक आधार अधिकार छ? राजनीतिशास्त्रीहरुका अनुसार अब उनीहरुले पदमा बस्ने नैतिक हैसियत गुमाएका छन्।

ई. दिपक बाबु कंडेल

एक राजनीतिज्ञका अनुसार उनीहरुले रिजालबाट केही सिक्नुपर्छ। मेयरले भन्दापनि मन्त्रीहरुले रिजालको राजीनामाको अर्थ बुझेर मार्गप्रशस्त गर्नुपर्ने ती राजनीतिज्ञको बुझाइ छ।

पार्टीका प्रतिनिधिहरुले नै नेतामा नपत्याएपछि त्यहि पार्टीबाट सरकारमा कसरी बस्ने? त्यसैले उनीहरुलाई नैतिक दबाब बढाएको छ। उनीहरुले अब रिजालबाट केही सिक्न जरुरी छ।

प्रतिक्रिया