

मिनेन्द्र रिजालले रक्षामन्त्रीबाट दिए राजीनामा

काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार रहेका मिनेन्द्र रिजालले रक्षामन्त्रीको पदबाट राजीनामा दिने भएका छन्। यतिबेला पार्टी कार्यालय सानेपामा महामन्त्री पदको मतगणना जारी रहेको छ।
जारी रहँदारहँदै महामन्त्रीको दौडमा धेरै नै पछि परेपछि रिजालले राजीनामा दिने भएका हुन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत रक्षामन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका छन्। मतगणनामा पराजयतर्फ अग्रसर रहेको बेला रिजालले राजीनामा दिने बताएका हुन्।
उनले फेसबुकमा लेखेका छन्, ‘नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु। अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु।’

