नेपालको गुप्तचर निकायः लौरो न हतियार

राष्ट्रिय अनुसन्धान विभाग भन्दा नेपाली सेनाको गुप्तचरी, नेपाल प्रहरीको विशेष व्युरो, सीआईबी र अपराध महाशाखा अब्बल!


काठमाडौं– मुलुकको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संकटदेखिका अनेक प्रकारका सूचनाको जेथो प्रधानमन्त्री कार्यालयलाई बुझाउनुपर्ने गुप्तचरी निकाय लौरो न हतियारका रुपमा रहेको छ।

अन्तर्राष्ट्रिय क्षेत्रमा पनि क्षमता विकास र विस्तार गर्नेगरी विधयेक तयार पारी तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त विभागलाई आफूमाथाहत राखेका थिए। गृह मन्त्रालय अन्तरर्गत रहेको राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय माथाहत आए पनि राष्ट्रिय सुरक्षा रणनीतिमा सफल हुन नसकेको बताइएको छ।

एक जना पूर्वकर्मचारी भन्छन्,‘सूचनाको भरपर्दो स्रोत नै दिन नसक्ने प्रकारको संयन्त्र रहेको छ। हामीले काम गर्दा कतिपय पत्रकार, राजनीतिकर्मीसँग के हुँदैछ भन्ने पनि भैसकेपछि थाहा पाइन्छ, अन्तर्राष्ट्रिय विषय त परै जाओस्। यो त जागिर खाने मेलो मात्र बनेको छ।’

दक्षिण एसीयामा भारतको रिसर्च एन्ड एनलाइसीस विङ्स (रअ) र पाकिस्तानको इन्टर सर्भिस इन्टेलिजेन्स (आईएसआई)को क्षमता र प्रभावका आधारमा मुलुकको राष्ट्रिय सुरक्षाको रणनीति बन्ने गरेको छ। तिनको प्रभाव देशभित्र मात्र नभई देश बाहिरसम्म पनि विस्तार गरिएका छन्। आन्तरिक रुपमा पनि रअ र आईएसआईका कर्मचारी उनैको मुलुकका विभिन्न सर्भिसमा रहेर रणनीति बनाउन पनि योग्य र प्रभावकारी रहेका छन्।

तर, नेपालमा भने राष्ट्रिय अनुसन्धान विभाग (राअवि)ले भने राष्ट्रिय विषयमा कुनै काम गर्न सकेको छैन। एक जना उच्च अधिकारी भन्छन्,‘राजनीतिक भर्ती केन्द्र बनाएपछि अनुसन्धान विभाग प्रभावशुन्य भयो। कतिपय त पार्टीका कार्यकर्ता, पत्रकार, कर्मचारीको अतिरिक्त जागिर मात्र भएको छ।’

राष्ट्रिय हितका निम्ति गुप्तचरी निकायलाई प्रभावकारी बनाउनका लागि सरकारले पनि ध्यान नदिएका कारण खासै असरदार हुन नसकेको अधिकारीहरू बताउँछन्। राष्ट्रिय अनुसन्धान विभागले नेपालका अन्य सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग पनि उत्कृष्ट समन्वय गर्न नसकेको अधिकारीहरू बताउँछन्।

राष्ट्रिय अनुसन्धान विभागको भर पर्ने अवस्था नरहेका कारण नेपाली सेनाले आफ्नो छुट्टै सुराकीको विभाग गठन गरेको छ। उसैको सूचनाका आधारमा सेनाले राष्ट्रिय सुरक्षा तथा संकटका विषयमा जानकारी लिने र रणनीति बनाउने गरेको छ।

नेपाल प्रहरीमा त प्रतिआतंकवादलाई नजर गरी विशेष व्युरो गठन भएको छ भने आन्तरिक तथा बाह्य अपराधका विषयमा जानकारी राख्ने केन्द्रीय अनुसन्धान व्युरो सक्रिय छ। यस्तै, अन्तर्राष्ट्रिय अपराधसम्मको जालोलाई भत्काउन सक्ने अपराध महाशाखा पनि प्रहरीको एउटा प्रभावशाली अंग हो।

‘राष्ट्रिय अनुसन्धान विभागले अहिलेसम्म के कति काम र प्रगति गरेको छ भन्ने विषयमा त प्रधानमन्त्री कार्यालयमा नै उल्लेख्य प्रतिवेदन छैन’, प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारी भन्छन्,‘यो एउटा अंगका रुपमाचाहिँ ल्याइएको छ तर प्रभावकारीता के हो भन्ने विषयको खासै प्रगति भएको पाइँदैन।’

नेत्रविक्रम चन्द विप्लवको पार्टीलाई प्रतिबन्ध गरेका बेला पनि नेपाल प्रहरीको संयन्त्रले मात्र राम्रोसँग काम गरेको थियो। जसमा अपराध महाशाखा र विशेष व्युरोको प्रगति विवरण बलियो रहेको नतिजाहरूमा पाइन्छ।

यस्तै नेपालको मार्ग हुँदै हुने आपराधिक गतिविधि, तस्करीलगायतका विषयमा पनि नेपाल प्रहरीकै संयन्त्र सक्रिय रहेका विविध घटनाक्रमले पुष्टि गर्दा गुप्तचरी निकायले कति प्रगति गरेको छ भन्ने विवरण नै भेटिँदैन।

प्रतिक्रिया