धरानबाट २ हजार किलो गाँजासहित ट्रक नियन्त्रणमा


धरान- सुनसरीको धरान र इलाममा सशस्त्र प्रहरीले ठूलो मात्रामा गाँजा र सुन–चाँदीसहित दुई फरक कारबाही गरेको छ।

सशस्त्र प्रहरीले सोमबार धरान उपमहानगरपालिका–१३ शिवधारास्थित कोशी लोकमार्गबाट करिब २,१३० किलो गाँजासहितको मालबाहक ट्रक नियन्त्रणमा लिएको छ। धनकुटाबाट धरानतर्फ आउँदै गरेको प्रदेश १-०२-००२ ख ०८४८ नम्बरको ट्रकमा लुकाएर ल्याउँदै गरेको ७० बोरा गाँजा तथा ३१ बोरा अदुवा र ६ बोरा बन्दाकोपीसहित ट्रक सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस धरानले नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरी उपरीक्षक सञ्जीव पौडेल नेतृत्वको टोलीले विशेष सूचनाको आधारमा ट्रक चेकजाँच गर्दा गाँजा बरामद गरिएको जानकारी दिइएको छ। तस्करी प्रयोजनमा प्रयोग गरिएको ट्रकका चालक भने फरार छन्। सशस्त्र प्रहरीले ट्रकको कागजातका आधारमा तस्करहरूको खोजी कार्य जारी रहेको जनाएको छ। बरामद गाँजा र ट्रक आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय धरानमा बुझाइएको छ।

यसैबीच, इलामको सूर्योदय नगरपालिका–२ चारमाइलबाट सशस्त्र प्रहरीले ३२ लाख ६९ हजार रुपैयाँभन्दा बढी मूल्य बराबरको सुनचाँदीको जलपसहित दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा भारतको हिमाञ्चल प्रदेश घर भएका ३८ वर्षीय अभिनास बोध र ३५ वर्षीय रवि कुमार छन्न रहेका छन्। आईतबार दिउँसो प्रस्तावित सीमा सुरक्षा गुल्म पशुपतिनगरबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा शंका लागि जाँच गर्दा उनीहरूबाट १७ किलो ४ सय ग्राम चाँदी, ५ किलो सुनको जलप, विभिन्न किसिमका माला र गहना फेला परेको हो। बरामद सामानहरू परीक्षणका लागि सुनचाँदी व्यवसायी संघ बिर्तामोडमा परीक्षण गर्दा सबै जलप लगाइएको गहना भएको पुष्टि भएको छ।

उनीहरूलाई बरामद सामानसहित भन्सार कार्यालय पशुपतिनगर, इलाममा बुझाइएको छ। बरामद गहना कहाँबाट ल्याइएको र के प्रयोजनका लागि लैजाँदै गरिएको भन्नेबारे अनुसन्धान जारी रहेको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया