शक्तिशाली ‘बा’

कम्युनिस्टहरूले सँधै आलोचना गर्ने सुन्दरी प्रतियोगिताकी बिजेता श्रृङ्खला खतिवडालाई बिरोधहरुले कमरेड भन्न सिकाएका थिए त?


माधव नेपाल र माओवादीहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीबारे नयाँ न्यारेटिभ चलाए– बालुवाटारबाट बार्दलीमा पुगेका ‘बा’! यी तिनै बा हुन् जो एमालेभित्र शक्ति केन्द्रिकरण गरेर अगाडि बढिसकेका छन्।

एमालेभित्र केही प्रस्तावहरु पारित भएका छन्, जसले अध्यक्षलाई शक्तिशाली बनाएको छ। महाधिवेशनबाट अध्यक्ष शक्तिशाली रुपमा स्थापित हुनेछन् र अन्य पदाधिकारी केन्द्रीय कमिटीले निर्वाचित गर्ने प्रस्ताव पारित भएको छ।

यो प्रस्तावसँगै ओली अर्को कार्यकालमा एमालेको अध्यक्षमा निर्वाचित हुने ‘ट्रयाक’ खोलीरहेका छन्। अब, नेपाल समूह आएको खण्डमा अल्पमतमा रहनेछ भने नआए त ओली सर्वमान्य अध्यक्ष निर्वाचित हुने नै छन्।

एक हिसाबले यी ‘बा’ अब शक्तिशाली बनिरहेका छन्। मिर्गौला प्रत्यारोपणपछि जीवनको उत्तरार्धमा जुन सक्रियतामा उनको राजनीति चलिरहेको छ, लाग्छ अझ एक दशक केन्द्रविन्दुमा रहेर नै एउटा नविन आकार दिने लयमा यात्रा थालेका छन्।

‘बा’ न्यारेशन ओलीकृत होइन। ओलीको समर्थनमा उर्लिएको उनी पक्षीयहरूले तयार पारेको सम्बोधनको शैली हो। अनौपचारिक कुराकानीमा त कतिपय माधव नेपाल पक्षका नेताले नै अहिले ओली ‘बा’ भन्छन्। सम्बोधनको आकारप्रकार, आयतन, क्षेत्रफल हुँदैन। यसको एउटा आयाम हुन्छ निकटता र प्रेमको। अब, ओलीलाई बा भन्नेहरूले प्रेम गर्छन् भनेर त्यसमा रोष र रोदनसहितका गोहीका आँसु झार्नुभन्दा पनि सैद्धान्तिक र राजनीतिक कार्यदिशाका विषयमा बहस छेड्नुचाहिँ उपयुक्त हुने सबैले बुझ्न आवश्यक छ।

होइन भने त प्रतिप्रश्नहरु तार्किक रुपमा उदाउनेछन्। यदि ओलीलाई ‘बा’ भन्नु या सम्बोधन गर्नुले राजनीतिक अर्थ राख्छ भने नेपाल समूहका कट्टरपन्थी बिरोध खतिवडाहरुले श्रृङ्खला खतिवडाहरुलाई कमरेड भन्न सिकाएका छन् त? त्यहि स्कुलिङ परिवारभित्र गराएका थिए त? सुन्दरी प्रतियोगिताको खुलेर आलोचना गर्नेहरुले किन यो न्यारेशनलाई नकारात्मक रुपमा स्थापित गर्न खोजिरहेका होलान्?

एउटा भनाई छ दुनियाँसामु तिमी एउटा ‘बा’ हौ तर तिमी आफ्ना परिवारका लागि दुनियाँ पनि हौ। ओलीले आफू एमालेको कर्नरमा हुँदादेखि नै साथ दिने या उनले रुचाएका पार्टीका नेता कार्यकर्ताका लागि एमालेभित्रका संसार आफू भएको अनुभूति गराएका थिए, सायद त्यसैले उनीमाथिको प्रेमपूर्ण सम्बोधन बनिदियो ‘बा’।

माओवादीभित्रै पनि प्रचण्डले यो ३२ बर्षको नेतृत्वकालमा शक्तिको केन्द्रविन्दुमा उभिने वैकल्पिक नेता किन जन्मन दिएनन्? माओवादी बलियो शक्ति रहँदा तीन उपाध्यक्ष र एक महासचिवको धोवीघाट बैठकलाई निस्तेज किन पारेका थिए? यी सबै प्रकरण भनेका शक्तिको केन्द्रविन्दुमा आफू कायम रहनुको स्वार्थ मात्र थियो

शक्ति केन्द्रित स्वार्थ ‘स्वभाविक’

सत्ता स्वार्थको एउटा अंग नेपाली राजनीतिमा देखिएकै थियो र छ। जसरी माओवादी र त्यसका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एकीकरणका माध्यमबाट ओलीले तान्न सफल भए, निर्विकल्प रुपमा नै उनले सत्ताको बागडोरको स्वार्थ केन्द्रमा राखेकै थिए।

जसरी अघिल्लो कार्यकालका बेला सत्तामा आफूलाई मुखत्रित गर्नका लागि प्रचण्डले ओली सरकारलाई अविश्वासको प्रस्ताव दर्ता गरी आफैं प्रधानमन्त्रीमा निर्वाचित भएका थिए। त्यसबेला प्रचण्डको सहकार्य विचारको निक्कै फरक र विपरित रहेको नेपाली कांग्रेससँग थियो। सोही सहकार्यमा उनले स्थानीय तहको पहिलो चरणको चुनावमा भरतपुर महानगरपालिकामा छोरी रेणु दाहाललाई पनि जिताएको तथ्य अगाडि नै छैन र? जसले कांग्रेसहरु शेरबहादुर देउवासँग रुष्ट मात्र भएका थिएनन्, आम चुनावमा सोही एउटा कारणले पनि कांग्रेस खुम्चिएको दाग उनको थाप्लोमा लगाइयो।

अहिले पनि ओलीबाहेक रहेका विभिन्न दलसँग वैचारिक समानता नहुँदा पनि सत्ता सहकार्य भइरहेको छ। दिनानुदिनको दौडधुप, मन्त्री र राजनीतिक नियुक्तिमा साझेदारीका भागवन्डाका कथा शक्ति स्वार्थको उदाहरण होइन र?

राजनीतिक सम्भावनाको खेल भन्ने प्रचण्डले शक्ति केन्द्रित स्वार्थका लागि प्रतिनिधि सभाको निर्वाचनमा सरकारमा रहँदा रहँदै ओलीसँग गठजोड गरी माओवादीलाई संजिवनी बुटी पिलाएका होइनन् र? माओवादीसँगको चुनावी तालमेलले एमालेलाई अझ बलियो शक्ति बनाउने काम ओलीले गरेका थिएनन् र?

जसले नि शक्ति केन्द्रिकृत गर्ने ध्येय किन राख्छ?

एउटा अर्को पनि भनाई छ– जति धेरै शक्ति केन्द्रिकृत हुन्छ त्यति कम आश्वासनहरुलाई आकार दिनुपर्छ। यसर्थ राजनीतिमा जो पनि शक्तिको केन्द्रविन्दुमा उभिन चहान्छ र त्यसको अभ्यास गर्छ।

ओली सोही अभ्यासको अध्याय सुरु गरिरहेका छन्। नेता नेपालहरु के खोजीरहेका छन्? समान अधिकार, समान हस्ताक्षर भन्नुको अर्थ के हो? यसको अर्थ शक्तिको विकेन्द्रिकरण होइन, त्यसको केन्द्रिकरण आफूतिर पनि होस् भन्ने चाहना हो। नेकपा रहँदा प्रचण्डले बहुमत सचिवालय सदस्यको सहयोगमा १९ पन्ने प्रस्ताव ल्याएर त्यसलाई ‘बमबार्ड द हेडक्वार्टर’ किन भने? किन ल्याए? उनी शक्ति केन्द्रीकरणको चुचुरोमा बस्न चहान्थे।

माओवादीभित्रै पनि प्रचण्डले यो ३२ बर्षको नेतृत्वकालमा शक्तिको केन्द्रविन्दुमा उभिने वैकल्पिक नेता किन जन्मन दिएनन्? माओवादी बलियो शक्ति रहँदा तीन उपाध्यक्ष र एक महासचिवको धोवीघाट बैठकलाई निस्तेज किन पारेका थिए? यी सबै प्रकरण भनेका शक्तिको केन्द्रविन्दुमा आफू कायम रहनुको स्वार्थ मात्र थियो। अनि, ओलीमा यो स्वार्थ जागृत हुनुलाई अस्वभाविक भनी प्रश्न गर्न मिल्छ? यो राजनीतिको एउटा पाटो नै हो।

अब, पार्टीको तल्लो तहसम्म रहेको बलियो सांगठनिक संरचनालाई अझ गज्जब तरिकाले हाँक्ने महत्वकांक्षामा ओली सक्रिय छन्। आखिर शक्ति केन्द्रिकरण गरी त्यसको नेतृत्व गर्ने स्वार्थ ओलीमा मात्रै छन् र? चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिन हुन् या रसियाका राष्ट्रपति भ्लादिमर पुटिन। यी सबै शक्ति संचयका निम्ति नै अग्रसर रहेका उदाहरण पर्याप्त छन्।

संसद विघटनको कारण

ओलीले बारम्बार पार्टीभित्र असहयोग भएका कारण प्रतिनिधि सभा विघटन गर्न बाध्य भएको बताएका थिए। किनभने देशको कार्यकारी प्रमुखको शक्ति उनको हातमा थियो र त्यसलाई खोस्नका लागि गोप्य नामका सम्झौताहरुको खेलमा प्रचण्डको कसरत थियो।

त्यतिमात्र होइन, सचिवालयमा बहुमत रहेका कारण प्रचण्डले एकल अध्यक्ष पाएको खण्डमा त्यसको केही महिनामा नै ओलीलाई प्रधानमन्त्रीबाट फिर्ता बोलाउने पार्टीको निर्णय गराउने अभ्यास पनि थियो। अथवा, अविश्वासको प्रस्ताव त आई नै हाल्थ्यो किनकी ओली सत्ताको दुई बर्ष कटिसकेको थियो।

यसर्थ, यी सबै शक्तिलाई उपयोग या दुरुपयोग गर्ने खेलहरूको रङमञ्च बनाउने प्रयत्न भएका थिए। यी प्रयत्नहरुको परिघटना र पराकम्पनका उपज हुन् माधव नेपालसहितका २२ सांसद ओलीविरुद्ध सदनमा उत्रिनु। राजनीतिमा शक्तिका लागि लोभ, लालच र विरोध भन्नेचिजका नमूना नमिठोगरी देखिन्छन्। उदाउन र शक्तिमा अटल बस्ने महत्वकांक्षा पनि हुन्छन्। त्यसैको पृष्ठभूमी र अभ्यासमा रहेका एक नेता हुन् ओली अर्थात् शक्तिशाली ‘बा’।

प्रतिक्रिया