

नरोत्तम वैद्यकृत ‘नाथुराम न्यारेटिभ’का सम्भावित बाछिटा

भावआवेशमा, स्वतन्त्रताको अधिक प्रयोगमा अनि प्रधानमन्त्री केपी ओलीको अतिचारका कारण कांग्रेसका नेता नरोत्तम वैद्यको बोली चिप्लियो– ओलीका लागि कोही नाथुराम गोड्से बन्नुपर्ने अवस्था आयो।
माफी मागियो, कारबाहीको माग भयो। यी केही होइनन्। यत्तिले यो च्याप्टर क्लोज हुनेवाला छैन। नरोत्तमको यो भनाई राजनीतिमा नयाँ ‘न्यारेटिभ’ सुरु गर्न दमदार कारण बनिसक्यो।
प्रथमतः नाथुराम को हुन्? यसबारे चर्चा गरौं।

नाथुराम गोड्से
१९ मे, सन् १९९० मा जन्मिएका नाथुराम गोड्से भारतको पूणेका एक जना हिन्दू राष्ट्रवादी थिए। भारत विभाजनताका मुसलमानको मागलाई समर्थन गरेको भनी उनले महात्मा गान्धीको हत्या गरेका थिए। गान्धीलाई छातीमा तीनवटा गोली हान्ने उनै नाथुराम थिए।
नाथुराम एक्लै थिएनन्। नारायण आप्टेलगायत ६ जनासँग मिलेर उनले गान्धीको हत्या गरेका थिए। ३० जनवरी १९४८ मा गान्धी हत्या गरेका नाथुरामलाई ८ नोभेम्बर १९४९ का दिन फाँसीको सजाय सुनाइयो। १५ नोभेम्बर १९४९ मा भारतको केन्द्रीय अदालतमा उनलाई फाँसी दिइयो जबकि गान्धीका छोराहरु मणिलाल र रामदासले सजाय परिवर्तनका लागि अपिल गरेका थिए। यद्यपि तत्कालिन प्रधानमन्त्री जवाहरलाल नेहरु, उपप्रधानमन्त्री बल्लभ भाई पटेल र गभर्नर सी राजगोपालचारीले त्यसलाई स्वीकार गरेनन्।
उनको पूरा नाम नाथुराम विनायकराव गोड्से थियो। मराठी ब्राम्हण परिवारमा जन्मिएका उनी भारतको हिन्दूवादी संस्था राष्ट्रिय स्वयम सेवक दल (आरएसएस) मा सहभागी भए।
१९३२ मा उनले आरएसएसको सदस्यता पाई महाराष्ट्रमा खटिए। जब भारत विभाजनको संघारमा पुग्यो उनी महात्मा गान्धीका विपक्षमा थिए। मुसलमानमाथि नाथुराम निक्कै आक्रामक थिए। बिडला हाउसमा एउटा प्रारर्थनाका दौरान गान्धीको हत्या भयो।
अहिले तिनै नाथुरामको हर्कतलाई नेपाली राजनीतिमा भाषणका रुपमा दागियो। नरोत्तमले यो काम गरे। अब, यो कुनै आवेशको भाषणका रुपमा मात्र नभई एमाले र ओली पक्षले राजनीतिक न्यारेटिभका रुपमा चर्चामा ल्याएका छन्।
नाथुराम आफैंमा एउटा हिन्दू राजनीतिका प्रखर र भयानक व्यक्ति थिए। जसलाई अहिले पनि भारतीय जनता पार्टी, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि खराब मान्दैनन्। तर इतिहास र विश्वले नाथुरामको एउटा आवेग र आवेशको निर्णय जम्मा तीन गोलीलाई माफ गरेको छ त?
महेश बस्नेतदेखि शंकर पोखरेलसम्म अनि हज्जारौं कार्यकर्ता यहि विषयमा चर्चा गरिरहेका छन्। नरोत्तमलाई फौजदारी अभियोगको मुद्दा चलाउनुपर्नेसम्मका माग भएका छन् भने प्रधानमन्त्री ओलीको हत्या योजना भएको भन्नेसम्मका चर्चा सुरु भए।
नरोत्तमको योजना अथवा उद्देश्य नकारात्मक थिएन होला। तर सदनमा समय मागेर बोलीरहेका बखब विवेकशुन्य अवस्थामा यस्तो उत्तेजित मनोदशा केबल एउटा भाषण वा संयोगको भाषणमात्र होइन भन्ने राम्रै शिक्षा हुनुपर्छ। तर यसका तरङ्ग कति भयानक छन् भन्ने त अहिले चलिरहेका चर्चाले स्पष्ट पार्न थालेको छ।
मिर्गौला फेरेर जीवनको नयाँ गतिमा हिँडेका ओलीका राजनीतिक कर्म कति खराब, कति सही भन्ने विषय त राजनीतिक रुपमा नै सतहमा चलिरहेका छन्। उनले गल्ती गरेका हुन् र लोकतन्त्र मास्न खोजेका भए इतिहासले उनलाई राजनीतिक रुपमा नै दण्डित गर्दछ। तर लोकतन्त्रको यो हदसम्मको दुरुपयोग एउटा जिम्मेवार पार्टी, लोकतान्त्रिक आचरण र मानक बनेको नेपाली कांग्रेसमा लामो समय राजनीति गरेका नरोत्तमबाट हुन मिल्थ्यो? के उनी आवेशमा आउन पाउँछन्? यो प्रश्न स्वभाविक रुपमा नै खडा हुन्छ।
गान्धीवाद, गान्धी लयको कांग्रेसमा जीवनका उत्तरार्धहरु पनि बिताउँदै गर्दा कुन मनोदशाबाट नरोत्तम उम्लिए? यो प्रश्नसँग जोडिन्छ कतै कुनै संकेतका रुपमा उनले यस्तो भाषणबाजी गरेका त हैनन्? त्यस्तो केही नहोस् तर नाथुराम न्यारेटिभ नेपाली राजनीतिक कोर्सका लागि यसैबेला निक्कै घातक साबित हुने पक्कापक्की छ।
प्रतिनिधि सभा विघटनका दुई वटा कदमले ओलीको राजनीतिक ओज र साखलाई कति गहिरोगरी डुबाउने थियो भन्ने त मुल्यांकन हुन बाँकी नै थियो। अझ बाँकी पनि छ। तर, नयाँ न्यारेटिभले लोकतन्त्र कति भयानक थियो भन्ने प्रतिवाद गर्नका लागि ओली र ओली खेमामा उभिनेलाई त्राण दिएको छ।
मुलुकले ठूला–ठूला दुर्घटना र हिंसाका इतिहास छिचोल्दै अहिलेको अवस्थासम्म आइपुगेको छ। यो स्वतन्त्रता प्राप्तिको कथा टिप्पणीकारलाई भन्दा नरोत्तमलाई नै राम्रोसँग थाहा हुनुपर्छ। उनी यस कथाभित्र संघर्षका पात्र हुन्। तर, संघर्ष र आस्थाले मानिसलाई खरानी बनाउँछ भन्ने त उनले नाथुरामकै जीवनबाट बुझ्नुपर्ने होइन र?
नाथुराम आफैंमा एउटा हिन्दू राजनीतिका प्रखर र भयानक व्यक्ति थिए। जसलाई अहिले पनि भारतीय जनता पार्टी, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि खराब मान्दैनन्। तर इतिहास र विश्वले नाथुरामको एउटा आवेग र आवेशको निर्णय जम्मा तीन गोलीलाई माफ गरेको छ त? कि अहिंसाको पक्षपोषण गर्ने गान्धीका गाथालाई विश्वले स्मरण गरिरहेको तथा उदाहरण दिइरहेको छ? यो हेक्का होस्। जन्मेर कोही नाथुराम हुँदैन।
राजनीतिमा प्रखर कर्म गरेर नै उसलाई नामी बनाउने काम गर्छ। तर, आस्थाका लागि संवेग गुमाउँदा त्यहि नाम इतिहासमा कति कुरुप हुन्छ र फाँसीको तख्तासम्म पुग्छ भन्ने त कम्तिमा हेक्का होस्। नेपाली राजनीतिमा मौलिकता र संयमताको खाँचो देखियो, यहाँ गान्धी पनि चाहिएको छैन र कोही नाथुरामका रुपमा परिचित होस् भन्ने पनि चाहना नराखौं।

