बासुकीको टाउकातिर समाएर भए पनि राजनीतिमा पुस्तान्तरणको समय


कुनै पनि परिवर्तनका निम्ति एउटा कठोर र कठिन समय आउँछ। नेपाली राजनीतिमा अहिले यहि समय आएको छ। नेपालमा राजनीतिक रुपमा भएका कतिपय परिवर्तनहरुले स्थिरतालाई कायम नराख्नुको मूल जड विभिन्न दलभित्र कमी रहेको आन्तरिक लोकतन्त्र हो। यसका संकेत र लक्षण अहिलेका घटनाक्रममा पनि स्पष्ट देखिएका छन्।

राजनीतिक दल र तिनले सतहमा छरेका सैद्धान्तिक विचार गलत छैनन्। तर नेतृत्व र तिनले बसाएको व्यवाहारको कुरुप चित्र तल्लै तहसम्म पुगिसकेको छ। यसलाई रोक्नका लागि नेतृत्व हस्तान्तरणले मात्र अब हुँदैन, नेतृत्व पुस्ता नै हस्तान्तरण आवश्यक छ।

तर, त्यसो गर्न देलान्? दिँदैनन् र यहि समयमा राजनीतिक दलभित्र पनि आन्तरिक विद्रोह र मन्थनको खाँचो देखिन्छ। अन्यथा कुनै एक विकल्पको खोजीमा अर्को खराब विकल्पलाई स्वीकार गर्न बाध्य भइन्छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शक्तिको आशक्तिमा कायम रहन जुन प्रकारले राजनीति गरिरहेका छन् त्यसको विकल्पमा उभ्याइएका कांग्रेस सभापति शेरबहादुर देउवा पनि खासै गतिला र उचित पात्र होइन। अघिल्लो पटक संसद विघटनका क्रममा उनको भाषा र प्रस्तुती नै शंकास्पद थियो। उनी आफैं संसद विघटन गरी प्रजातन्त्र दरबारको पाउमा राखेर कलंकित भइसकेका व्यक्ति हुन्।

बाँकी रहेका दलका शीर्ष नेताहरु पनि प्रयोगमा आइसकेका हुन्। जसले पदभन्दा बाहेकको राजनीतिलाई तिर्खाका रुपमा राखेको पाइएन। विकल्प नै नदिने यो एउटा बेजोड प्रवित्ति बनिरहेको छ।

अब प्रत्येक राजनीतिक दलका नयाँ पुस्ताले मन्थन गर्ने बेला यहि हो। जुन बेला राजनीतिक अस्थिरता र एउटा कठोर अवस्था आउँछ त्यसबेला नै हो, डास्ट्रिक परिवर्तनका लागि कदम चाल्ने। यसर्थ यो बेला शीर्ष भनिएका नेतासँग सबै दलभित्र संघर्ष र मन्थन हुनुपर्छ।

समुद्र मन्थनका क्रममा छल गरी बासुकी नागको टाउकोतिर दैंत्यको मूर्खतालाई कायम गरे जस्तो बरो दैंत्य बनी टाउकोतिर रोजौं तर नेपाली इतिहासमा राजनीतिले एउटा अमृत युग जन्माउनका लागि युवा सक्रिय बनौं।

खास अर्थमा सत्ता र शक्तिमा मात्रै केन्द्रित रहेको पुरानो पुस्ताका नेतालाई दलको नेतृत्वबाट विदाई गर्नु नै परिवर्तनका लागि विगुल फुक्नु हो। सबैभन्दा पहिला आन्तरिक लोकतन्त्रका लागि युवाले दलभित्र संघर्ष र स्पर्धा गर्न आवश्यक छ। जिल्लादेखि केन्द्रसम्म सबै दलमा हुने लोकतान्त्रिक पद्दतीको खोजीले नै परिवर्तनका निम्ति समान अवसर आउन सक्छ

यो सन्दर्भलाई अलिकति केलाऔं–

राजा बलि नेतृत्वको असुर (दानव) शक्तिले देव फौजलाई पराजित गर्यो र सम्पूर्ण ब्रह्माण्डमा कब्जा जमायो। देवगण सहयोगको याचना गर्दै भगवान विष्णुकोमा गए। भगवान विष्णुले दानवहरूसँग कुटनीतिक ढङ्गले जानुपर्ने सुझाव दिए। देव र दानव मिलेर समुद्र मन्थन गर्ने र प्राप्त गर्ने अमृत मिलेर भोग गर्ने कुरा मिल्यो। तथापी विष्णुले अमृत देवहरूलाई मात्र प्रदान गर्ने कुरा बताएका थिए।

समुन्द्र मन्थनको लागि मन्दरा पर्वतको मदानी र बासुकी नागको नेती बनाइएको थियो। दानवहरूले नागको टाउको पट्टिको भाग समाउन माग गरे, भगवान विष्णुको सुझाबले देवहरु पुच्छर तिरको भाग समाउन राजी भए। जसको कारण बासुकीबाट उत्सर्जन भएको बिषालु वाष्पबाट दैत्यहरु संक्रमित भए।

समुद्र मन्थनबाट धेरै चिजहरु बाहिर निस्किए। अमृत पाउने इच्छाले देवता र दानवहरु मिलेर समुन्द्र मन्थन गर्दा सबैभन्दा पहिला सर्वाधिक बिषालु कालकूट बिष निस्कियो। बिषालु कालकूट बिषले समुद्र मन्थनमा लागेका देव–दानवहरु लाई जलाउन लाग्यो र त्यतिमात्रै होइन ब्रम्हाद्धारा सृष्टि भएको सारा संसार नै ध्वस्त पार्ने खतरा बढ्यो। कालकूट बिष– फैलदै गएपछि देव–दानव आत्तिन हुन थाले र उनीहरूले यसको समाधान गर्न सकेनन्। अरु केही उपाय नदेखेपछि देव–दानवले शिव भगवानको आरधना गर्न थाले र नारदमुनी कैलाशमा गएर कालकूट बिषको असरबारे भगवान शिवलाई विन्ती गर्दै कालकूट बिषको असरले सारा सृष्टि समाप्त पार्न लागेकोले केहि गर्न विन्ती गरे।

विस्तारै अमृत पनि निस्कियो।

००७ सालदेखि नेपाली राजनीतिक अनेक प्रयोगमा मन्थन भइरहेको छ। तर युवा पुस्ता विष भरिएको विचारले मात्र संक्रमित भए। अब यो मन्थन अमृतपूर्ण समयका लागि, राजनीतिका लागि गर्ने मौका आएको छ।

एमालेबाहेकका अन्य शक्तिमा रहेका युवा पुस्ताले पुस्तान्तरको एउटा अवसरलाई त हिजै मात्र गुमाएका छन्। एउटा सांसद प्रधानमन्त्री बन्न पाउने संविधानको धारा ७६(५)को प्रावधान हो भने विपक्षी जसले बहुमत सांसद बनाएका थिए तिनीहरुबाट विकल्पमा किन युवा चुनिएन? युवाले किन दाबी गरेनन्? नेतृत्वबीच त्यस्तो सहमतिका लागि किन अपरिहार्यता ठहर गरिएन? यो अवसर गुमाएको बखतको पेचिलो प्रश्न हो।

लगभग नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र यतिबेला संकटमा छ नै। यहि व्यवस्था अन्तिम होइन, जुनसुकै व्यवस्था होस् त्यसमा कल्याणकारी र इमान्दारिताको कमी हुँदा त्यसको आयु कमजोर हुने रहेछ।

खास अर्थमा सत्ता र शक्तिमा मात्रै केन्द्रित रहेको पुरानो पुस्ताका नेतालाई दलको नेतृत्वबाट विदाई गर्नु नै परिवर्तनका लागि विगुल फुक्नु हो। सबैभन्दा पहिला आन्तरिक लोकतन्त्रका लागि युवाले दलभित्र संघर्ष र स्पर्धा गर्न आवश्यक छ। जिल्लादेखि केन्द्रसम्म सबै दलमा हुने लोकतान्त्रिक पद्दतीको खोजीले नै परिवर्तनका निम्ति समान अवसर आउन सक्छ। यसर्थ, यो मौका हो बरु बासुकीको टाउकोतिर समात्न तयार बन युवा, राजनीतिमा पुस्तान्तरण नभई मुलुक स्थिर हुँदैन।

यसैको अर्थ ओलीको विकल्प देउवा, प्रचण्ड, नेपाल, खनाल हुँदै होइनन्। ओलीको विकल्प नयाँ सोच, नयाँ प्रयोग र राजनीतिमा उम्दा नयाँ युवा शक्ति हुनसक्छ। ओलीको मात्र होइन, सबैको विकल्प नयाँ पुस्ता हो।

प्रतिक्रिया