
सिरहामा १९ लाख ६० हजार रुपैयाँ बराबरको अवैध फर्सीको बिउ बरामद
सिरहा – सिरहा प्रहरीले करिब १९ लाख ६० हजार रुपैयाँ बराबरको अवैध फर्सीको बिउ बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार बरियारपट्टी गाउँपालिका–२ निवासी हरिदेव दासको घरमा नेपालबाट भारततर्फ अवैध रूपमा निकासी गर्न फर्सीको बिउ लुकाएर राखिएको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले खानतलासी गरेको थियो।
मंगलबार साँझ गरिएको खानतलासीका क्रममा घरको प्यासेजमा लुकाइछिपाइ राखिएको फर्सीको बिउ ७० बोरा फेला परेको प्रहरीले जनाएको छ।
बरामद गरिएको फर्सीको बिउको मूल्य प्रतिवोरा २८ हजार रुपैयाँका दरले कुल १९ लाख ६० हजार रुपैयाँ बराबर रहेको बताइएको छ।
प्रहरीले बरामद गरिएको सामान नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाहीका लागि बुधबार भन्सार कार्यालय माडर, सिरहामा बुझाएको जनाएको छ।



कागजपत्र |
