‘मुर्दा उपचार गरी रकम लुट्ने’ शैलीको ह्याम्स अस्पतालका काला कर्तुतहरू यस्ता छन्


काठमाडौं– एउटा हिन्दी फिल्म ‘गब्बर इज ब्याक’मा नीजि अस्पतालले कसरी मुर्दाको पनि उपचार गर्ने नाममा लाखौं रकम पीडित परिवारलाई तिर्न बाध्य पार्छ भन्ने सचित्र देखाइएको छ।

जुन अस्पताल एक आपराधिक गिरोहले सञ्चालन गरेको देखाइएको छ।

उनीहरूको धन्दा सेवाको नाममा सेवाग्राहीलाई लुट्ने मात्र हुन्छ ।  

फिल्ममा देखाइएको यहि शैलीको प्रवित्ति काठमाडौंमा रहेका नीजि अस्पतालले पनि गरेका छन्।

गरिब जनतालाई ज्यान बचाई दिने आशामा केही अस्पतालले लुटतन्त्र मच्चाएका छन् । राज्य र कानुनलाई चुनौति दिँदै उपचारको नाममा मनपरी शुल्क असुल्ने निजी अस्पतालको अग्रपंक्तिमा ह्याम्स, ग्राण्डी, मेडासिटी छन् । जसले एक रातकै लाखौं बिल लिँदै आएका छन् ।

कोभिड–१९ का बिरामीको उपचारका नाममा यी अस्पतालले लाखौं रकम जबरजस्ती पीडितसँग लिने गरेको, अनधिकृत रकम बिलमा राखेको तथ्यहरू फेला परेका छन्।

कोभिड–१९ उपचारको शयन कक्ष धेरै अस्पतालमा नभएपछि यी अस्पतालले लुट्ने मौका पाएका हुन् । सास रहेसम्म आश हुन्छ भनेझै कोभिडका बिरामी अहिले यी तीन अस्पतालमा दिनको लाखौ रुपैंया तिरेर उपचारमा छन् । तर त्यहि मौकालाई चौंका हानेर ह्याम्स अस्पतालले यसरी रकम असुलेको पाइएको हो।

कोराना भाइरस (कोभिड–१९) पोजिटिभ देखिएपछि पाटन अस्पतालको आसीयूमा १० दिन राख्दा पनि उपचार सम्भव नभएका बिरामी केशव खकुरालको आफन्तलाई जानकारी गराएको थियो ।

‘फोक्सोले ८० प्रतिशत काम गरेको छैन, सम्भावना न्यून छ’, भन्ने अस्पतालको जवाफपछि अझ उपचार गर्न सकिन्छ की भनेर आफन्तले ह्याम्समा पुराए ।

११ कात्तिकमा दिउँसो ह्याम्स अस्पतालमा खकुराल भर्ना गरिए। सो क्रममा ह्याम्स अस्पतालले भन्यो,‘चिन्ता नलिनुस् निको हुन्छ। आत्तिनु पर्दैन।’

ह्याम्सको आश्वासनले परिवार खकुराल बाँच्छन् भन्नेमा ढुक्क थियो। सुरुमा एक लाख डिजोजिट लिएको ह्याम्सले बिरामीको अवस्थामा सुधार छ भन्दै भोलीपल्टैबाट डिपोजिट थप्न लगायो ।

‘पटक–पटक गरेर ७ दिनमा ६ लाख डिपोजिट गरायो। त्यसपछि पनि आश्वासन दिँदै गयो, राम्रो हुँदैछ । फोक्सोले ५० प्रतिशत काम गरिरहेको छ भन्यो’, एक आफन्त भन्छन्,‘८ दिनबाट फेरि डिपोजिटका लागि प्रशासनले फोन गरेको गरै थियो। दशौंं दिनमा पनि बिरामीको स्वास्थमा सुधार भएको दाबी गर्ने ह्याम्सले ११ दिन अर्थात्  आईतवार मुटुले काम गर्न छाड्यो । तपाईको बिरामी लैजान सक्नु हुन्छ भन्दै फोन गर्यो।’

सुधारको कुरा गरी पीडित परिवारसँग रकम असुल गरेको अस्पतालले शव निकाल्नका लागि थप ५ लाख रुपैंया तिरेर लैजान सक्ने जवाफ एक्कासी दियो र पीडित परिवारलाई बिल थमायो।

सो क्रममा उसको भनाई थियो,‘गुड न्यूज छ, कोरना नेगेटिभ छ, आफ्नो हिसाबले दाह संस्कार गर्न सक्नु हुन्छ ।’ परिवार छाँगाबाट खस्यो।

ह्याम्सको अपराध खकुरालको हकमा मात्रै होइन। कयन बिरामीका हकमा जारी रहेको छ। कोरोना संक्रमित एक बिरामीलाई उपचारका लागि आईसीयु र भेन्टिलेटरमा राखिएको भनेर हालै ३६ लाख रुपैंयाको बिल भुक्तानी गर्न दबाब दिएको थियो।

त्यसो त यो अस्पतालको मनोपोलीविरुद्ध आवाज उठेकै थिए। आफ्ना चालक दलका सदस्यहरूको उपचारबापत ह्याम्सले मनलाग्दी शुल्क उठाएको भन्दै नेपाल वायुसेवा निगमले छानबिनका लागि स्वास्थ्य मन्त्रालयसँग माग गरेको थियो।

गत २२ असारमा निगमका चालक दलका सदस्यसहित १४ जनामा कोरोना संक्रमण देखिएको थियो। उनीहरूलाई ह्याम्स अस्पतालको आइसोलेसनमा राखेर पाँच दिनसम्म सामान्य उपचार गरिएको थियो। प्रतिदिन एकजनाको ३० हजार ९ सय रुपैयाँका दरले उनीहरूबाट रकम असुलिएको छ।

जबकि आइसोलेसनमा राखेर उपचार गर्नुपर्ने सामान्य संक्रमितको सरकारले दैनिक शुल्क १४ हजार पाँच सय ६ रुपैयाँ मात्रै तोकेको छ।

यति मात्र होइन बिरामीका लागि प्रयोग गरिएका मास्कदेखि स्वास्थ्य सामग्रीको रकम पनि अत्यधिक महँगो मुल्यमा राख्ने गरेको प्रमाण फेला परेको छ। बजारमा ३० रुपैंयामा पाउन थालेको एन१९ मास्कलाई ह्याम्सले ४५० रुपैंया बिल जोडेको छ। अन्य औषधीमा पनि यस्तै प्रकारको ब्रम्हलुट मच्चाइएको प्रमाणहरू फेला परेका छन्।

कोरोना उपचार खर्च व्यहोर्न नसक्नेहरूका लागि सरकारले सरकारी अस्पतालमा निशुल्क सेवा दिने निर्णय गरेको थियो। सर्वोच्च अदालतले पनि निशुल्क उपचारलाई जारी राख्न आदेश दिएको थियो।

तर यस्तो महामारीका बेला सामान्य हिसाबले स्वास्थ्यलाई सेवा भन्दा पनि कालो व्यापारका रुपमा ह्याम्सलगायतले गरेका विवरण पर्याप्त देखा पर्न थालेका छन्। कतिपय अस्पतालले त बिल नतिरेको भनेर बिरामीलाई बन्दी नै बनाउने गरेका विवरण र खबर पनि सार्वजनिक भएका छन्।

प्रतिक्रिया