

कांग्रेस किचलोः गठन भएका २० विभाग भङ्ग होलान् त ?

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैंंठक विगत एक महिनादेखि बोलाउँदै स्थगित हुँदै आएको छ ।
पार्टीको १४ औं महाधिवेसनको मिति आगामी ७–१० फागुनमा काठमाडौंमा हुने भनिए पनि विगत तीन महिनादेखि केन्द्रीय कार्यसमिति बैठक सम्म बसेको छैन् ।
महाधिवेशनको लागि आधारभूत कार्य भनेकै पार्टीका साधरण सदस्य र क्रियाशिल सदस्यताको नामावलीलाई अन्तिम रुप दिनु हो । तर, पार्टीको सञ्जाल र संयन्त्र यसरी अल्झिएको छ कि अन्य दलबाट कांग्रेसमा समाहित भएकाहरूको रेकर्ड तीन वर्षसम्म पनि पार्टीले राख्न सकेको छैन ।
पार्टीका क्रियाशिल सदस्यको संख्या कति हो भन्ने यकिन नहुँदा र संघीय संरचना बमोजिम पार्टीको केन्द्रीय कार्यसमिति र जिल्ला कार्यसमितिवाहेक अन्य तहमा समायोजन प्रक्रिया नैंं टुंगिएको छैन ।
पार्टीको नयाँ सदस्यता वितरण र पुरानाको सदस्यता अद्यावधिक गर्ने कार्य समाप्त हुने मिति साउन मसान्तमै सकिएको हो । तर, कुनै पनि जिल्लाले सदस्यता वितरण र नविकरणको कार्य सम्पन्न गरेका छैनन् । बरु सभापति देउवाले ६ महिना भित्र गठन गर्नु पर्ने विभाग धमाधम गठन गर्न थाले ।
बहुमतकै आधारमा सभापति देउवाले २८ वटा विभागको संख्या बढाएर ४८ वटा बनाउँदै २० वटा विभागको प्रमुख र सदस्यहरूलाई पूर्णता दिएका छन् । सभापति देउवाको यस्तो कदमको असन्तुष्ट नेता रामचन्द्र पौडेल र उनको समूहले विरोध गरेको छ ।
असन्तुष्ट नेता पौडेल समूहका २७ जना केन्द्रीय कार्यसमिति सदस्यले सभापति देउवालाई ति गठन भएका विभाग भङ्ग गर्नुपर्नेसहित १६ बुँदे माग १२ असोजमा बुझाएका थिए।
अहिले पौडेल समूहले अघि सारेको माग नै कांग्रेसको आन्तरिक जीवनमा सकसपूर्ण भएर आएको छ ।
सभापति देउवाले आफूनिकटका नेता, कार्यकर्ता र आकांक्षीलाई खुसी बनाउन महाधिवेशनको मुखमा विभागीय प्रमुख र सदस्यहरू तोकेको भन्दै पौडेल समूहका नेताले विरोध र आपत्ति जनाएका छन् ।
तर सभापति देउवा र संस्थापन पक्षका नेताहरूले भने विभाग गठन सहमतिबाट होस भनी पहल गर्दा पौडेल समूहले विभागमा बस्ने प्रमुख र सदस्यहरूको नामावली नदिएकाले ढिलै भए पनि विभाग गठन गरेको र त्यो विधानबमोजिम भएको दाबी गर्दै आएको छ ।
देउवाले गत असोज पहिलो साता नैं पार्टी केन्द्रीय कार्यसमिति बैठक १९ असोजमा बस्ने भन्दै विज्ञप्ती जारी गरेका थिए । तर, पौडेल समूहले आफूहरूको माग पुरा नगरी बैठक नबोलाउन भन्दै १२ असोजमा ज्ञापन पत्र दिए । त्यसवेलादेखि लगातार निर्धारण गरिएको बैठक स्थगित हुँदै आएको छ ।
पौडेल समूहको माग सम्वोधन गर्न भन्दै सभापति देउवाले गत १७ असोजमा पदाधिकारी, पूर्वपदाधिकरी र केही चल्ता पूर्जां केन्द्रीय सदस्यलाई बोलाएरै आफ्नो निवास बुढानिलकण्ठमा छलफल गराए ।
तर, आफ्नो मागबाट टसको मस नभएका पौडेल समूहले गठन गरिएका विभाग भङ्ग गर्न अन्तिम अडान लिँदै गर्दां सभापति देउवाले भने त्यति धेरै पार्टी नेता र कार्यकर्ताले पाएको जिम्मेवारी खोस्न नसक्ने भन्दै विधान बमोजिम गठन भएका विभाग भङ्ग नहुने अडान स्पष्ट राखेका छन् ।
पछिल्ला दिनमा कहिले पार्टी केन्द्रीय कार्यालय त कहिले आफ्नै निवास बुढानिलकण्ठमा पदाधिकारी र पूर्वपदाधिकारीको अनौपचारिक छलफल चलाइ रहेका देउवाले सहमतिबाट अघि बढ्ने प्रयास असफल भए प्रक्रियाबाट अघि बढ्ने जनाएका छन्।
पौडेल समूहले भने विभाग भङ्ग नगरी केन्द्रीय कार्यसमिति बैठक बोलाइमा भाग नलिने चेतावनी दिएका छन् । सभापति देउवाले आफूले बोलाएको केन्द्रीय कार्य समिति बैठकमा भाग नलिने नेताहरूले आफ्नै अध्यक्षता र नेतृत्वमा हुने १४ औं महाधिवेशनमा पनि भाग नलिने होला नी ? भनेर व्यङ्ग्य गरेका छन् । विभाग भङ्ग गर्नु पर्ने माग गर्ने पौडेल समूह र कुनैं पनि हालतमा त्यसको विपरित रहेका सभापति देउवाका कारण पार्टीको १४ औं महाधिवेशन भने ७ फागुनमा नहुने निश्चितप्रायः छ ।

