


पत्रकारको आवरणमा रकम असुल्ने सरकारी कर्मचारीमाथि भ्रष्टाचार मुद्दा दायर

काठमाडौं- पत्रकारको आवरणमा विभिन्न निकायबाट गैरकानूनी लाभ लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछापमा कार्यरत एक सरकारी कर्मचारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
मन्थली नगर विकास समितिमा नायब सुब्बा (अस्थायी नासु) पदमा कार्यरत टिका प्रसाद भट्टमाथि आयोगले कारबाही अघि बढाएको हो। उनी सन् २०४९ सालदेखि सरकारी सेवामा अस्थायी रुपमा नियुक्त भएका थिए। तर, उनले सोही समयदेखि कर्मचारीको हैसियत लुकाउँदै पत्रकार, सहकारी सञ्चालक तथा विज्ञापन एजेन्सीका व्यवस्थापकको रुपमा समेत कार्य गर्दै आएको अख्तियारको दाबी छ।
भट्टले कान्तिपुर पब्लिकेशनमा पूर्णकालीन पत्रकारको रुपमा नियुक्ति लिएर नियमित तलब भत्ता लिइरहेका थिए भने नगर विकास समिति लगायत विभिन्न सरकारी निकायबाट पनि सेवा सुविधा लिएको पाइएको छ। यसैबीच उनले मन्थली बचत तथा ऋण सहकारी, मिडाड नेपाल विज्ञापन एजेन्सी तथा सिटिजन्स लाइफ इन्स्योरेन्सको एजेन्टका रुपमा समेत कार्य गर्दै आएका थिए।
अख्तियारका अनुसार उनले आफ्नो वास्तविक परिचय लुकाई पत्रकारको रुपमा भ्रमण भत्ता, बैठक भत्ता, विज्ञापन वापतको कमिशन लिई सार्वजनिक संस्थामा दाखिला नगरी व्यक्तिगत लाभ उठाएको पाइएको छ।
उक्त कार्यमा संलग्न रहेको भन्दै अख्तियारले सघन सहरी तथा भवन निर्माण आयोजनाका तत्कालीन प्रमुख अमरबहादुर थापा, नारायणप्रसाद भण्डारी, सुरेशकुमार वाग्ले, लेखा प्रमुख यमलाल बेल्वासे र सुरेशप्रसाद दाहालविरुद्ध समेत भ्रष्टाचार मुद्दा दायर गरेको हो।
आयोगका अनुसार आर्थिक वर्ष २०४९/५० देखि २०८०/८१ सम्मको अवधिमा भट्टले १ करोड १५ लाख ४ हजार १११ रुपैयाँ बराबरको गैरकानूनी लाभ लिएको पुष्टि भएको छ। सोही रकम बराबरको बिगो माग गर्दै भ्रष्टाचार निवारण ऐन अनुसार विशेष अदालतमा मुद्दा दायर गरिएको हो।

