महोत्सवमा साउण्ड सिस्टमको तार झिकेर प्रशंसा कमाएकी डीएसपी हेडक्वार्टर तानिइन्


काठमाडौं-  सिमरा इलाका प्रहरी कार्यालयको नेतृत्व सम्हाल्दै स्थानीयस्तरमा शान्ति सुरक्षामा सक्रिय देखिएकी डीएसपी शुभद्रा वाइबालाई प्रहरी प्रधान कार्यालयले विभागीय कारबाहीस्वरूप नक्साल तानेको छ । उनले महोत्सवमा माइक खोस्दै साउण्ड सिस्टमको तार झिकेर नियम कार्यान्वयन गराउँदै सर्वसाधारणको प्रशंसा पाएकी थिइन् । तर, हाल उपमहानगरसँग इन्धन कुपन विवादमा मुछिएपछि उनी हेडक्वार्टर तानिएकी हुन् ।

उनको ठाउँमा मोरङमा कार्यरत डीएसपी वेद जोशीलाई पठाइएको छ । प्रहरी प्रवक्ता एसएसपी रमेश थापाका अनुसार वाइबाको कार्यसम्पादन सन्तोषजनक नदेखिएपछि र केही विषयमा छानबिन आवश्यक देखिएपछि उनलाई तानेको हो ।

जितपुर सिमरा उपमहानगरपालिकाका प्रशासकीय अधिकृत शान्तिराज प्रसाईंसँग इन्धन कुपनको विषयमा विवाद भएपछि उपमहानगरले जिल्ला प्रशासन हुँदै प्रहरी प्रधान कार्यालयमा उजुरी दिएको थियो । डीएसपी वाइबाले तोकिएको भन्दा बढी इन्धन माग गर्दै कुपन च्यातेको भनिएको छ ।

गत पुसमा सिमरा प्रहरी प्रमुखका रूपमा सरुवा भएकी वाइबाले पाँच महिनामै जिम्मेवारी गुमाएकी हुन् ।

प्रतिक्रिया