

डियर प्रचण्ड, यस्तै त हो नि!

यो स्थितिमा प्रचण्डलाई धेरै भन्नुपर्ने केही छैन। आलोचना र सुझावलाई लिन सक्ने क्षमता र दक्षता बढाए पुग्छ।
पहिलो त म प्रचण्डकृत माओवादी र त्यसका कार्यकर्ताका विषयमा छोटो ब्याख्या केही प्रश्नसहित गर्नेछु। त्यसपश्चात घटनाक्रमका विषयमा प्रवेश गर्नेछु।
माओत्सेतुङ भन्छन्– संस्कृति, लयबिनाको सेना भनेको आलश्य झुन्ड हो, यस्तो संगठनले दुश्मन या बिरोधीलाई पराजित गर्न सक्तैन।
माओको यो भनाईलाई प्रचण्ड सुप्रिमो रहेको पार्टीका कार्यकर्तासँग बिम्बात्मक रुपमा तुलना गर्न मिल्दछ। माओवादीका कार्यकर्ता आजको राजनीतिक सतहमा यस्ता आलश्य र अल्छि छन् कि न यीनिहरूले राजनीतिक लय समाते, न सांस्कृतिक चिन्तन छ। न बिरोधीलाई विचारले पराजित गर्न सक्ने क्षमता बनाए।
यो १५ बर्षको शान्तिपूर्ण राजनीतिमा माओवादीको संगठन ओरालो लागेको ग्राफको कारण यीनै कार्यकर्ता र स्वयम् केन्द्रीय सत्ता र स्वादमा अलमलिएका प्रचण्ड हुन्। किनभने यीनिसँग युग बदल्न सक्ने एउटा ताकत थियो, सहर छिरेपछि युगले यीनलाई दलदलभित्र लतपत्याइदियो। यो सत्यबाट पर भाग्न सक्तैनन्, प्रचण्ड।
जब नेकपाको आन्तरिक विवादले सतहमा निक्कै घोचक र रोचक परिदृश्य स्थापित गर्दै थियो, यसका प्रभाविक संकेतका विषयमा विश्लेषणसहित भनेको थिएँ– अब प्रचण्ड उत्तानो पर्नेछन्।
यसले प्रचण्डलाई पूजा मात्र गर्ने र आफ्नो दालरोटी जोहो गर्नेको आर्टिफिसियल चित्त फाट्यो। यसलाई आलोचना र अब आउने परिस्थितिको अध्ययन हुनुपर्छ भन्ने विषयमा गहन लिइएन। फलतः परिणाममा एउटा सरकार दाबी गर्न नसक्ने निर्णयमा पुग्यो। माओवादीको स्थायी समितिको बैठकमा निरिह भएर प्रचण्डले भन्नुपर्ने भयो– माधव नेपाल र जनता समाजवादीले धोका दिए!
माओत्सेतुङले अर्को पनि भनेका छन्– राजनीतिक कर्म भनेको अर्थतन्त्रको जीवन रगत हो।
माओको दर्शनलाई पच्छ्याएको माओवादी सतहमा आएको १५ बर्षमा अर्थतन्त्रको जीवन रगतको मूल्य कति भएछ? मुल्यांकन गर्ने केही उदाहरण छन् र? कि अजय पराजुली सुमार्गी भए या शारदा अधिकारीले मात्र ठेक्का पाए। कि नेताका जीवनचक्रमा उथुलपुथुल हुने परिवर्तन भयो? आफन्त र नजिकका मानिसको अर्थतन्त्र कति पुग्यो? देशको अर्थतन्त्रमा कायाकल्प कहाँनेर भयो? प्रचण्डलाई यी प्रश्नले घोचपेच गर्नेछन्। दुखमनाऊ नहोस्।
आम पाठकलाई एउटा स्वशोधकै लागि पनि प्रश्न छ। तपाईको गाउँ ठाउँमा माओवादीले कति परिवर्तन गरेको छ? र, माओवादी भएकै कारण कतिले परिवर्तनपूर्ण जीवन बाँचिरहेका छन्। वा, माओवादी नेता भएका कारण नीजि अर्थतन्त्रमा कायाकल्प गरेका छन्? यसमा अध्ययन होस्।
अब सामयीक राजनीतिका विषय उधिनौं?
एमाले अध्यक्ष केपी शर्मा ओली र उनका पार्टीका नेता कार्यकर्ताले प्रचण्डको राजनीति रणनीतिलाई असफल बनाएको सत्य नजीर हो। उनलाई कति नेताले छाडे भन्ने मूल प्रश्न होइन, उनले कतिलाई सम्हाल्न सके भन्ने मूल प्रश्न हो। कारण, नेपथ्यमा जे होस् सतहले भित्री कारणबारे त्यति रुची राख्दैन। जे देख्छ त्यसलाई पत्याउँछ।
एउटा अफ्रिकन उखान छ– बञ्चरोले बिर्सन्छ तर रुखले सम्झिरहन्छ। ५ पुसयता नेपाली राजनीति र खासगरी कम्युनिस्टका दुई लिडरबीच यो उखानले काम गर्दछ। प्रधानमन्त्री ओली र प्रचण्डको हकमा यो लागू हुन्छ।
समयको हेक्का राखे या राखेनन्? तर नेपालको आन्तरिक राजनीतिमा बलियोगरी प्रहार गरिरहेका बेला ओली नेतृत्वमा एउटा भयानक जनमत बनेको थियो। त्यो जनमतको लालचले नेकपा बनाउने प्रस्ताव प्रचण्डकै थियो।
उनले सदनमा ओलीलाई बेजोड प्रश्न गरेका थिए– प्रधानमन्त्री प्रस्ताव गर्ने, कम्युनिस्ट एकताको प्रस्ताव गर्ने मचाहिँ राष्ट्रिय समस्या कि तपाई? जम्मा १८ महिना पनि पुग अपुग भएको थिएन ओलीविरुद्ध अविश्वासको प्रस्ताव राखेर प्रधानमन्त्री बनेको। कुन चिजले आकर्षित गरेको थियो र ओलीसँग कार्यगत एकता, चुनावी तालमेल गर्नुभयो?
चुनावी तालमेलमा जीत त निस्कियो तर किन फेरि पार्टी एकीकरणको चुम्बकीय प्रस्ताव गर्नुभयो? ३२ बर्ष राजनीतिक नेतृत्व गर्दा यसका अनुकुलता र प्रतिकूलताको हेक्का थिएन? त्यसपछि आन्तरिक संघर्षलाई यति खकुलो र छारस्ट किन बनाउनुभयो?
ओलीले सार्वजनिक मञ्चबाट ‘भारतले मलाई प्रधानमन्त्री पदबाट हटाउनका लागि चलखेल साथीहरुमार्फत गरिरहेको छ’ भनी अभिव्यक्ति दिँदा तत्कालिन नेकपा स्थायी कमिटीमा प्रचण्ड चुकेका थिए। उनले भारतले नभई आफूले राजीनामा माग गरेको सार्वजनिक घोषणा गरेका थिए। किन त्यसो गर्नुभयो? त्यतिमात्र होइन, प्रतिनिधि सभा विघटनपछि अन्तरवार्ता र आम सभामा नेपालको राजनीतिमा सिधासिधै किन भारतलाई हस्तक्षेपको आमन्त्रण गर्नुभयो?
र, अहिले किन भनिरहनु भएको छ– देशीविदेशी प्रतिक्रियावादीको प्रयोगमा नेपालमा आएको उपलब्धी सिध्याउन खोजियो, ओली त्यसका नाइके हुन्। यो किन निक्कै दुखदायीपूर्ण प्रश्नवाचक हो, डियर प्रचण्ड।
युरोपियन र पश्चिमाको एजेन्डालाई जुन हिसाबले राजनीतिका नाममा बजारीकरण गर्नुभयो डियर प्रचण्ड, यो निश्चित थियो कि विश्वबजारमा प्रभाव राख्ने, खासगरी भारतमा प्रभाव राखिरहेको हिन्दूवादी एजेन्डाले विस्थापित गर्नेछ
अर्को, समस्या छ प्रचण्डको एउटा घेराभित्र। वरिपरी सबै कस्तुरी नै दौडिरहेका भन्ने ठानिन्छ तर शक्ति र ताकतका वरिपरी कस्तुरी मात्र हुन्छन्?
प्रचण्डको सचिवालय र आम माओवादी पंक्तिमा पनि एउटा असहिष्णु व्यवाहारको विकास हुन थालेको छ। स्वस्थ्य आलोचना र राजनीतिक दिशा कता जान्छ भन्ने विश्लेषणलाई आफू अनुकुल नभए विरोध ठान्ने। चाकरी गर्नेले विच्छ्याएका रातो कार्पेट र लाखौंका फूलहरुको मालालाई आफ्नो ठान्ने, सीमित व्यक्तिलाई चेपेर राजनीतिलाई कुरुप बनाउने अभ्यासले नै प्रचण्डलाई सार्वभौम नेता बन्न रोक्यो। अर्कोचाहिँ पटक–पटक अस्थिरताका लागि नेतृत्व गरेका उदाहरण त छँदै छन्।
जब राजनीतिक क्रान्तिका नाममा मौलिक भावनालाई तिलाञ्जली दिँदै आयातित र प्रायोजित एजेन्डालाई स्थापित गर्न चहानुहुन्छ, त्यसबेला बुझ्नुपर्छ राजनीतिमा यो गल्ती हुन्छ। यो अरुका मार्केटिङ भन्दा केही होइन। र, तपाईको मालको डेट त्यसबेलासम्म हुन्छ जबसम्म अर्को मालले बजोड र आकर्षक विज्ञापन गर्दैन। युरोपियन र पश्चिमाको एजेन्डालाई जुन हिसाबले राजनीतिका नाममा बजारीकरण गर्नुभयो डियर प्रचण्ड, यो निश्चित थियो कि विश्वबजारमा प्रभाव राख्ने, खासगरी भारतमा प्रभाव राखिरहेको हिन्दूवादी एजेन्डाले विस्थापित गर्नेछ। राजनीति यो लयमा हिँडिसक्यो।
यो त स्पष्ट नै छ नि– युनिलिभर जस्तो कम्पनीको ठूलो हिस्सेदारी मात्र होइन, विस्थापित हुनेगरी विश्वबजारमा पतञ्जलीको प्रचार छन्। ठिक, तपाई जसको बर्को ओडेर कम्युनिस्ट भन्नुहुन्छ, भन्नुभयो। अर्कोले ठिक त्यसको विपरित बर्को ओडेर भनिदियो। आखिर यो राजनीतिक बजार न हो।
प्रचण्डकै भाषामा जनतामा भन्दा पनि काठमाडौंमा बढी केन्द्रित हुँदा चीज बिग्रियो। स्वभाविक तर कटु सत्य पनि त हो। माओवादीले संगठनात्मक संरचनामा ध्यान दिनुको साटो सत्तामा बढी केन्द्रिकृत गरेको सत्य छुप्न सक्तैन। नेकपा बन्दा केन्द्रमा समानान्तर अझ बहुमतमा आफूलाई उभ्याउने कोशीश गरे पनि तल्लो इकाईसम्म माओवादीलाई बलियो बनाउनेतिर ध्यान नदिनु गल्ती भयो।
धेरै त होइन स्थानीय चुनावदेखि प्रदेश र केन्द्रको चुनावसम्म आएको मत विश्लेषणका आधारमा संगठन सुदृढिकरण गर्नुको साटो सरकारलाई केन्द्रविन्दुमा राख्नु गल्ती होइन? यो विरोध होइन, आलोचनाका रुपमा बुझ्नुपर्छ।
चेग्वोभारा भन्छन्– प्रेमको महत्वपूर्ण महशुसबाट मात्रै एउटा क्रान्तिले सफलता पाउँछ। तर, प्रचण्डको त्यो क्रान्ति प्रेमपूर्ण थियो? प्रेमलाई दण्डित गर्ने र हत्यालाई प्रश्रय दिने थियो। यस्तो हेयले गरिएको क्रान्ति केबल एक बाढी मात्र थियो जसको पतन निश्चितप्रायः थियो र केही शेष बाँकी भए सक्किने पनि छन्। पछिल्ला चरणमा आएका आर्थिक बिचलन माओवादी नेता कार्यकर्ताका कमजोरी होइनन्? माओवादीमाथि यी प्रश्न बज्रिनु स्वभाविक छन् किनभने राजसंस्थालाई स्वीकार गरेका कांग्रेस र एमालेको विकल्पका रुपमा प्रचण्डकै नेतृत्वमा उदय भएको पार्टी सतहमा आएपछि कस्तो आचरणमा हिँड्यो? प्रश्नहरू छन्, यस्तै नै हुन्छन्, डियर प्रचण्ड।
अझै राजनीतिको मेलोलाई सही ठाउँमा ल्याउने हो भने प्रचण्डले पहिलो त सचिवालयलाई चुस्त बनाउनुपर्छ। दोस्रोचाहिँ संगठनको सुदृढिकरण छाडेर आर्थिक मामिलामा भ्रष्ट आचरण बनाएका तल्ला तहदेखि उपल्ला तहसम्मका नेतामाथि कारबाही हुनुपर्छ। यदि प्रचण्ड आफैंमा पनि यस्तो विचलन आएको छ भने राज्यका नाममा दान गरेर माफी माग्दै नयाँ क्रान्तिका लागि तयार हुनुपर्छ। नेपाली जनता दयालु छन्, यत्तिचाहिँ मानिदिनेछन्।

