
गौतम बुद्ध क्रिकेट रंगशालाको काम पुनः सुरु
चितवन- रोकिएको गौतम बुद्ध क्रिकेट रंगशालाको काम पुनः सुरु गरिएको छ । वाग्मती प्रदेश सरकारबाट बजेट निकासामा ढिलाइ भएकाले यसअघि भुक्तानी नपाएको भन्दै निर्माण कम्पनीले एक महिना निर्माण कार्य रोकेको थियो ।
वाग्मती प्रदेश सरकारबाट नौ करोड रुपैयाँ निकासा भएपछि निर्माण कार्य पुनः सञ्चालन गरिएको भरतपुर महानगरपालिकाका इन्जिनियर आदर्श पोखरेलले जानकारी दिए ।
महानगरपालिकाका डिभिजन इन्जिनियर सन्तोष आचार्यले निर्माण कम्पनीलाई बिलअनुसारको भुक्तानी भइसकेको बताए । रंगशाला निर्माणको काम हिमालयन कालिञ्चोक बीबीआर जेभीले गर्दै छ ।
ठेक्का सम्झौताको म्याद आउँदो पुस २२ गते सकिन्छ । हाल ५५ प्रतिशत काम पूरा भएको छ ।
०८१ असारमा भरतपुर महानगरपालिका र निर्माण कम्पनीबीच ०८३ पुस २२ गते काम सकाउने गरी कुल ७५ करोड ५० लाख ९१ हजार १८९ रुपैयाँमा सम्झौता भएको थियो । धुर्मस–सुन्तली फाउन्डेसनले काम गर्न नसकेपछि महानगरपालिकाले बोलपत्रमार्फत काम थालेको हो ।



कागजपत्र |
